दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

राजुले जिते एसियन शारीरिक सुगठनमा कास्य पदक

काठमाडौं । नेपाली शारीरिक सुगठन खेलाडी राजु राईले माल्दिभ्समा आयोजना भइरहेको ५४ औं एसियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस्अन्तर्गत फिटनेस फिजिकमा कास्य पदक प्राप्त गर्नुभएको छ । 

सोमबार टिम ब्यवस्थापक तथा संघका उपाध्यक्ष दिनेश राजभण्डारीले राजुले कास्य पदक प्राप्त गरेको जानकारी गराउनुभयो । राजुले १७० सेमिसम्मको समूहमा तेस्रो स्थान प्राप्त गर्दै कास्य पदक हात पार्नुभएको हो । 

२४ राष्ट्र सहभागी सो विधामा राजुले स्पाइडर म्यान प्रदर्शन तथा फिजिकतर्फ पदक जित्न सफल हुनुभएको हो । यसअघि पनि नेपाली खेलाडीहरूले एसियन शारीरिक सुगठनमा पदक प्राप्त गरिसक्नुभएको छ । 

यस्तै, सोही प्रतियोगिताका दौरान शारीरिक सुगठन खेलको विकासमा ठोस योगदान पुर्‍याएबापत विश्व शारीरिक सुगठन तथा फिजिकल फिटनेस महासंघले नेपाल शारिरीक सुगठन तथा फिजिकल फिटनेसका अध्यक्ष राजेशबाबु श्रेष्ठलाई सम्मान गरेको छ । 

प्रतियोगतामा राजुसहित सुजिता मानन्धर र उमेश राईको पनि सहभागिता थियो । सुजिताले सोमबार आफ्नो फिजिकअन्तर्गतको विधामा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ। यस्तै उमेश राईले बुधबार प्रतिस्पर्धा गर्दैहुनुहुन्छ । 

प्रतियोगितामा नेपालका तर्फबाट निर्णायकको भूमिका निर्वाह गर्न अन्तर्राष्ट्रिय निर्णायक एवं संघका वरिष्ठ उपाध्यक्ष विजयलाल कायस्थ, नानीकाजी डंगोल र लक्ष्मण महत पनि माल्दिभ्समा हुनुहुन्छ । नेपालले २०२३ मा ५५औं एसियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् आयोजना गर्ने भएको छ ।
 

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  १ : ४४ बजे