बैतडी प्रशासन कार्यालयमा पहिलोपटक विद्युतीय टोकन प्रणाली सुरु

बैतडी । जिल्ला प्रशासन कार्यालयमा पहिलोपटक विद्युतीय टोकन प्रणाली सुरु गरिएको छ । सेवाग्राहीलाई सेवा लिन सहज होस् भनेर आइतबारदेखि विद्युतीय टोकन प्रणाली सुरु गरिएको हो ।  

 जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीका अनुसार प्रशासन कार्यालयमार्फत प्रदान हुने सेवालाई सहजरुपले प्रदान गर्नका लागि विद्युतीय टोकनको व्यवस्था गरिएको र टोकनका आधारमा सेवा दिने कार्य सुरु भएको हो । 

टोकन प्रणालीका आधारमा जसले नाम दर्ता अगाडि गराएको छ उसले अगाडि सेवा पाउने प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताउनुभयो । प्रशासन कार्यालयका सेवालाई प्रभावकारी र व्यवस्थित बनाउन विद्युतीय टोकन प्रणाली सुरु गरिएको छ । उहाँले भन्नुभयो, “सबैलाई समान किसिमले सेवा दिने वातावरण मिलाउन र सेवालाई व्यवस्थित तथा प्रभावकारी बनाउन यो कार्य सुरु गरेका हौँ ।”  

जिल्ला प्रशासन कार्यालयमा नेपाली नागरिकताको प्रमाणपत्र लिन, नागरिकताको प्रतिलिपि लिन, राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्न, राहदानी बनाउन, नाबालिक परिचयपत्र बनाउनलगायत अन्य सेवा लिन आउने सबैलाई टोकन प्रणालीका आधारमा सेवा दिने कार्य सुरु भएको हो । टोकन प्रणालीले लाइनमा उभिनुपर्ने झन्झट हटेर सेवाग्राहीलाई सजिलो भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालयमा हाल दैनिक १५० जनाले सेवा लिने गरेका सूचना अधिकारी भारतीको भनाइ छ । 
 

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  १ : ३३ बजे