एम अधिकारीको फन्डा-राष्ट्रघाती कुत्सित कर्तुत लुकाउने धन्दा !

समय समयमा नेपाली समाज आश्चर्यजनक ढङ्गले तरङ्गित हुने गर्दछ । यस्ता तरङ्ग सकारात्मक कम र नकारात्मक सनसनीखेज बढी हुने गर्दछ । यसले समाजलाई कुनै प्रकारको हानी नोक्सानी नगर्ने सामान्य प्रकृतिको कमजोरीलाई धुवाँधार बनाएर देशको लागि गम्भीर हानि पुर्‍याउने राष्ट्रघाती विषयलाई सतही बनाइदिन्छ । 

विज्ञ पाठक वर्गले ख्याल गर्नुभएकै होला, तत्कालीन नेकपाको सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय खुफिया प्रमुख सामन्त गोयलले भेटेको विषयलाई नेपाल माथिको आकाशै खस्छ कि भनेझैँ गरी उछाले । तलबी रोजगार विश्लेषकदेखि लिएर बेरोजगार फेसबुकलगायत (अ)सामाजिक सञ्जालका हावादारीहरूले निःशुल्क रोजगारी पाए, हल्लामा रमाउनुको मजा लिए । उनीहरूले भेटघाटका अन्तर्वस्तुबारे बुझ्ने, के गलत भयो, के सही भयो भन्नेतिर सोच्ने कुरा पनि थिएन । 

त्यस्तै अर्को घटना थियो जी टिभीका सम्पादक सुधीर चौधरीलाई अन्तर्वार्ताको विषय । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई अन्तर्वार्ता दिनु नै नेपाली धर्ती भासिनु थियो जसरी प्रचार गरे । केपी शर्मा ओलीद्वारा व्यक्त गरिएका विचार स्पष्ट स्वाभिमानी दृष्टिकोणतिर उनीहरूको ध्यान पुगेन वा पुगेजस्तो गर्न चाहेनन् । अह्राइएका—खटाइएका हल्लाबोलवालाहरूलाई हल्ला गर्न पाए पुग्यो । 

तर, उनीहरूको यस्तो हल्लाको अभीष्ट के रहेछ ? स्पष्ट छ, केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्नु, नेकपालाई तीन टुक्रा पार्नु, सर्वोच्चमा सेटिङ समेत मिलाएर परमादेशको कम्फर्टेबल सरकार बनाउनु । अब पनि हल्लाको पछि लाग्नु राष्ट्रघाती कर्तुतहरूलाई हल्लाबाट सही स्थापित गर्ने प्रयत्नलाई सघाउने दुष्प्रयत्न हो भनेर बुझ्न गाह्रो छ र ? 

अहिले हल्लाको फन्डाको विषय एम अधिकारीलाई बनाइएको छ । एम अधिकारी को हुन्, को होइनन् त्यो आफ्नो ठाउँमा छ । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले एमालेले अर्थ तथा योजना विभागमा राखेको एम अधिकारी आफू नभएको स्पष्ट पारेको अवस्था छ । नेकपा एमालेको सम्बन्धित विभाग प्रमुख घनश्याम भुसालले विज्ञप्ति नै निकालेर आफ्नो विभागमा नाम भएको एम अधिकारी महाप्रसाद अधिकारी नभएको स्पष्ट पारिसकिएको अवस्था छ । एमाले प्रचार विभागका जिम्मेवारहरू र अन्यले एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नभएको कुरा बारम्बार स्पष्ट पारेका छन् । अब कसले भनिदिनुपर्ने हो ? 

निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा कुनै निश्चित उद्योगी व्यापारी घरानालाई खसी पार्न, त्यसबाट नाजायज आर्थिक लाभ लिन, मुलुकको कर प्रणालीलाई उनीहरूको स्वार्थमा समर्पण गरेर राष्ट्रप्रति घात गरेको विषयलाई ओझेल पार्न एम अधिकारीको फन्डा चलाएको कुरा स्पष्ट छँदै छ । नत्र बजेट र बजेटमा करको दर निर्धारण गर्ने जस्तो अति गोप्य विषयमा बाहिरी मानिसको, त्यो पनि कुनै उद्योगीको खातापाता हेर्ने व्यक्तिको संलग्नताको कारण के हो ? देशको अर्थतन्त्रमा यसले पार्ने असरका बारेमा खोजनिति गर्नुको साटो उल्टै अनेकौँ बहाना खोज्ने र स्यालहुइँया अर्थ के हो ? सारा संसारलाई थाहा छ, गभर्नर महाप्रसाद अधिकारी जनार्दन शर्मा र यीजस्ता कसैको प्रभाव र सेटिङमा आएर व्यक्तिगत लाभ लिने व्यक्ति होइनन् । उनी आफ्नो कामप्रति प्रतिबद्ध, विषयमा सक्षम र राष्ट्रको अर्थतन्त्र सुधार्नका लागि आफ्नो सम्पूर्ण क्षमताको उपयोग गर्ने व्यक्ति हुन् । यसै कारण जनार्दन शर्माका मानिसहरूले अनधिकृत रूपमा ल्याएको विदेशी धन चोख्याउन दिएका थिएनन् । यो रिस पोख्न तत्कालीन मन्त्री जनार्दनले उनलाई निलम्बन समेत गरेका थिए । अदालतको आदेशबाट अधिकारी गभर्नरमा स्थापित भएका हुन् । अहिले जनार्दन शर्मा र उनका प्रचारकहरू गभर्नर महाप्रसाद अधिकारीलाई एम अधिकारी साबित गर्न हदैसम्मको दुष्प्रयत्नमा लागेका छन् । 

कुनै पनि क्षेत्रका पूर्वका पूर्व प्रशासकहरूको राजनीतिक संलग्नताका अनेकौँ प्रसङ्ग नेपाली राजनीतिमा देख्न सकिन्छ । अन्यत्रको कुरा बिर्सेर गभर्नरकै मात्र कुरा गर्ने हो भने यसको एउटा गतिलो उदाहरणका रूपमा डा.तिलक रावललाई लिन सकिन्छ । उनी गभर्नरबाट सेवा निवृत्त हुनासाथ कुनै राजनीतिक दलबाट सांसद भएको बिर्सन सकिन्छ ? बिर्सन मिल्छ ? दीपेन्द्रबहादुर क्षेत्रीको राजनीतिक संलग्नता पनि कसैबाट लुकेको छैन । 

अन्य क्षेत्रको प्रसङ्ग हेर्ने हो भने न्यायाधीश, राजदूतलगायत अन्य संवैधानिक नियुक्तिमा राजनीतिक वैचारिक संलग्नता र भागबण्डाको सहमतिबाट नै भएका अनेकौँ उदाहरण धेरै छन् । यही गएको वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा प्रचण्ड, जनार्दनसँगै नेपाल विद्युत् प्राधिकरणका बहालवाल कार्यकारी अधिकृत कुलमान घिसिङको फोटा छापिएको पोस्टर व्यापक थियो । कानुनी हिसाबले के यस्तो हुनु जायज हो र ? 

अहिले तलबी रोजगार विश्लेषकहरू र बेरोजगार फेसबुके हल्लामा रहेको एम अधिकारीको प्रसङ्ग पनि त्यस्तै अनावश्यक फन्डा मात्र हो । यो आफ्ना अवैध, राष्ट्रघाती कालो कर्तुत लुकाउने कुत्सित कसरत मात्र हो । 

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ११ : ४९ बजे