निवर्तमान अर्थमन्त्री शर्मामाथि छानबिन : मोटामोटी छलफल सकियो, निचोड निकाल्न बाँकी 

काठमाडौँ । करको दर हेरफेरका सन्दर्भमा निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले मोटामोटी छलफल सकाएको छ । अब निचोड निकाल्नेतिर केन्द्रित हुने समिति सदस्यहरूले बताएका छन् । 

अनधिकृत व्यक्तिमार्फत करको दर हेरफेर गराएको भनी प्रश्न उठेपछि २२ असारमा प्रतिनिधिसभाले विशेष समिति गठन गरेको थियो ।  

समितिलाई कार्य प्रारम्भ गरेको १० दिनभित्र प्रतिवेदन दिने कार्यादेश सभामुखले दिनुभएको थियो । समितिले गत मङ्गलवारबाट मात्रै कार्य प्रारम्भ गरेको थियो । ६ दिनसम्म समितिले अर्थ मन्त्रालयका विभिन्न तहका कर्मचारीहरूसँग छलफल गरेको थियो।

छानबिन समितिमा समितिमा सांसदहरू खगराज अधिकारी, देव गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला बिक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरला यादव, सीताराम महतो, मान बहादुर विश्वकर्मा र सुरेन्द्र यादव सदस्य रहनुभएको छ । समितिमा मानबहादुर विश्वकर्मा पछि थपिनुभएको हो। सांसद पुष्पा भुसाल उपसभामुख निर्वाचित भएपछि उहाँको ठाउँमा विश्वकर्मालाई थपिएको हो । 

छानबिन समितिका सचिव सुरेन्द्र अर्यालका अनुसार आइतबार अर्थ मन्त्रालयका उच्च तह तथा अन्य विभिन्न तहका पदाधिकारीहरूसँग पनि सोधपुछ भयो । आइतबार नै सिसिटिभीसँग सम्बन्धित काम गर्ने आइटी इन्जिनियर र बजेट महाशाखा प्रमुखसँग पनि सोधपुछ भयो ।

उहाँका अनुसार भन्सार विभाग र आन्तरिक राजश्व विभागका महानिर्देशहरू र अर्थ मन्त्रालयमा राजश्व व्यवस्थापन महाशाखाका प्रमुख र उपसचिवहरूसँग सोधपुछ भएको थियो । 

आइतबार त्यसैको निरन्तरताको रूपमा अर्थ मन्त्रालयका प्रशासन महाशाखा प्रमुख र अर्थ मन्त्रालयको सिसिटिभीसँग सम्बन्धित काम गर्ने आइटिको इन्जिनियरसँग छलफल गरिएको हो। त्यसपछि बजेट महाशाखा प्रमुखसँग पनि छलफल भयो । राजश्व सचिवसँगको सोधपुछपछि अर्थ मन्त्रालयका सचिवसँग छलफल गरेर अर्थ मन्त्रालयका पदाधिकारीहरूसँग छलफल सकाएको हो । 

अब समितिले आन्तरिक छलफल गर्ने तयारी गरेको छ । यसका लागि आज बिहान साढे १० बजेका लागि बैठक बोलाइएको छ । समिति सदस्यहरूका अनुसार निवर्तमान अर्थमन्त्री शर्मालाई नै बोलाएर छलफल गर्ने कार्यसूची पनि छ ।

 

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ८ : ५१ बजे