मोरङ कारागारमा फैलियो कोरोना : तीनसयको क्षमता, हजार बढी छन् कैदीबन्दी

मोरङ ।  मोरङ कारागारका ५४ जना कैदी बन्दीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। कोरोना परीक्षण गरिएकामध्ये शनिबार साँझ थप ३५ जनाको रिपोर्ट पोजिटिभ आएको हो। 

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार पीसीआर परीक्षण ४८ जनामध्ये १३ जनाको रिपोर्ट नेगेटिभ र ३५ जनाको पोजिटिभ आएको हो । । उहाँले  रिपोर्ट नेगेभिट आएकालाई पनि कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको बताउनुभयो । 

यसअघि शुक्रबार १९ जना कैदी बन्दीमा कोरोना पुष्टि भएको थियो। थप ३५ जनाको रिपोर्ट पोजिटिभ आएपछि संक्रमित कैदी बन्दीको संख्या ५४ पुगेको छ । पछिल्लो रिपोर्टले कारागारभित्र तीव्र रूपमा संक्रमण फैलिएको पुष्टि हुन्छ। 

संक्रमण पुष्टि भएका कैदी बन्दीलाई थप उपचारका लागि कोसी कोभिड अस्पताल भर्ना गर्ने तयारी छ । 
कारागारका अन्य कैदी बन्दीको पनि कोरोना परीक्षण गरिने उहाँले बताउनुभयो ।  कोरोना सर्ने जोखिमका कारण रिपोर्ट पोजेटिभ आएकालाई कारागारभित्र नराखिने उहाँले बताउनुभयो ।  शंकास्पदलाई समेत छुट्टै राख्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । 

महिला र पुरुष गरेर मोरङ कारागार ३ सय जना क्षमताको छ। तर ३ गुणाभन्दा बढी कैदी बन्दी राखिएको छ। कोचाकोच गरेर कैदी बन्दी राख्नु परिरहेका बेला कोरोना फैलिएपछि कारागारभित्रको अवस्था अस्तव्यस्त बनेको छ। असहज बसाईले समस्या भोगिरहेका कैदी बन्दीमा कोरोना फैलिएपछि उनीहरुको व्यवस्थापन र उपचारमा समस्या हुन थालेको छ। कारागारभित्र हाल १ हजार १२ जना कैदी बन्दी रहेका छन् । 

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  १ : ५३ बजे