दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विश्वकप क्रिकेट लिग–२ : नेपाल नामिबियासँग पराजित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप लिग दुई त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपाल फेरि पनि नामिबियासँग पराजित भएको छ । 

स्कटल्याण्डको कम्बसदुन न्यु ग्राउन्ड, एयरमा गए राति सम्पन्न खेलमा नेपाल नामिबियासँग ६३ रनले पराजित भएको हो । 

जारी सिरिजमा यसअघि भएको पहिलो खेलमा पनि नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो । नामिबियाले जितका लागि नेपाललाई २०० रनको लक्ष्य दिएको थियो । जवाफमा नेपाल ३७ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै १३६ रनमा समेटियो । 

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३८ रन बनाए । त्यस्तै आसिफ शेखले ३४ रन जोड्दा आदील आलमले २० रन बनाए । रोहित पौडेलले १७ तथा पवन सर्राफ १० रनमा अविजित रहे । आरिफ शेखले चार रन तथा देव खनाल र सोमपाल कामीले एक–एक रन जोडे भने कुशल भुर्तेल, कप्तान सन्दीप लामिछाने र बसिर अहमेदले खाता खोल्न सकेनन् ।

नामिबियाका बेर्नार्ड स्कोल्ट्जले पाँच विकेट लिए भने जान फ्राइलिङ्कले तीन विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ४९ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै १९९ रन बनाएको थियो । 

नामिबियाका लागि कप्तान जेहार्ड एरास्मसले सर्वाधिक ५३ रनको योगदान दिए । यस्तै डेभिड विएसले ३४ रन जोड्दा जेजे स्मिथ र डिभान ला ककले समान २७ रन जोडे । जान निकोल र रुबेन ट्रम्पेलम्यानले समान १९ रन बनाए ।

नेपालका कप्तान सन्दीप लामिछानेले चार विकेट लिए भने सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान दुई–दुई विकेट लिए । बसिर अहमेदले एक विकेट लिए । सिरिजअन्तर्गतको अन्तिम खेल नेपालले आज स्कटल्याण्डसँग खेल्नेछ । यसअघि भएको खेलमा नेपालले स्कटल्याण्डलाई पाँच विकेटले हराएको थियो ।

यसैगरी यस हारसँगै नेपाल लिग दुईको अङ्क तालिकाको छैटौँ स्थानमा झरेको छ ।  नेपालले १९ खेलमा १७ अङ्क जोडेको छ । नामिबिया भने १८ खेलमा १८ अङ्क जोडेर पाँचौँ स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ९ : ४७ बजे