नेकपा–माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको एकाएक भारत भ्रमणले हिजोआज नेपाली राजनीतिको बजार तातेको छ । एकीकृत भइसकेको कम्युनिष्ट आन्दोलनलाई विभाजन गरेर नेपाली काङ्ग्रेसको छातामा ओत लाग्न पुगेदेखि उनी विगतभन्दा धेरै गुणा भारतका प्रिय पात्र बन्न पुगेका छन् ।
नेपाली स्वाभिमानी जनताको अभिमत पाउन नसकेपछि सत्तामा पुग्न नसकेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी निर्वाचनपछि सत्तामा पुग्न छिमेकी भारतको आशीर्वाद पाउने लालसामा त्यता दौडिएका हुन् भन्ने बुझ्न नेपाली जनतालाई अब कुनै आइतबार कुर्नु पर्दैन । किनभने एकाइसौँ शताब्दीका लोकतन्त्रवादी जनता नेताले जे भन्यो त्यही पत्याउदैन् । लोकतन्त्रमा जनता नेताभन्दा शक्तिशाली हुन्छन् । जनता के सही हो क गलत हो भन्ने छुट्याउन सक्षम छन् ।
आफूलाई मात्र अब्बल क्रान्तिकारी देख्ने नेत्रविक्रम चन्दले समेत आफ्नो पार्टीको नाममा रहेको “माओवादी” पुच्छर हटाइसक्दा पनि प्रचण्ड नाममा निख्खर माओवादी नै छन् ।
उनले माओवादी पुच्छर कायमै राखेर गैह्र कम्युनिष्ट शक्ति र शक्ति केन्द्रसँग सत्ता बार्गेनिङमा लिप्त देखिन्छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सार्थक प्रयासमा माओवादको विकल्प जनताको बहुदलीय जनवाद हुनसक्छ भन्ने निष्कर्षमा पुगेका प्रचण्ड सत्ता स्वार्थका कारण पुनः माओवादी ट्यागमा फर्किए पनि उनी विचारविहीन, गन्तव्यहीन यात्रीको रूपमा रहेका छन् । जनताको बहुदलीय जनवादको प्रभाव दिन प्रतिदिन बढ्नु र सबै माओवादी घटकको वैचारिक दिवालीयपन देखिनु यसको ताजा उदाहरण हो ।
भन्न परोइन, माओवादले दीर्घकालीन जनयुद्धको माध्यमद्वारा सत्ता कब्जा गर्ने मुख्य उद्देश्य राखेको थियो । सत्ता कब्जा गर्ने उद्देश्य राखेर प्रचण्डले !) वर्षे युद्ध सञ्चालन गरेकै हुन् । ‘जनयुद्ध’को उत्कर्षमा ‘भारतीय विस्तारवादसँग सुरुङ युद्ध गर्ने’ हुङ्कार गरेका प्रचण्डले सत्ता कब्जा गर्न नसकेपछि, नेकपा–एमाले) र नेपाली काङ्ग्रेस मिलेर शान्तिपूर्ण निर्णायक जनआन्दोलनमा सरिक भएका हुन् । शान्तिपूर्ण जनआन्दोलन, दुई दुई वटा संविधानसभाको चुनाव, संसदीय प्रक्रियाबाट संविधान जारी, यही बिचको अवधिमा लोकतान्त्रिक प्रक्रियाबाट आफू पटक पटक प्रधानमन्त्री भएको बिर्सेर प्रचण्ड अझै माओवादको सारथि बनिरहनु र स्वदेशी र विदेशी प्रतिक्रियावादीसँग मिलेर नेपालको गौरवशाली कम्युनिष्ट आन्दोलनमा कैँची चलाउने निरर्थक प्रयास गर्नु आश्चर्यजनक छ ।
एमालेसँग एकता भएपछि करिब तीन वर्ष माओवादबारे चूँसम्म नबोलेका प्रचण्ड नेकपा विभाजन भएपछि पुनः माओवाद बोकेर हिँडेको सबैले देखेकै छन् । माओवाद प्रचण्डको हात्तीको देखाउने दाँत मात्र हो ।
लोकतन्त्रको उपयोग गर्ने, चुनाव लड्ने प्रधानमन्त्री, मन्त्री र सांसद बन्ने अनि कहिल्यै संसदीय चुनाव नभोगेका युद्धकै बलले चिनियाँ सत्ता कब्जा गरेका माओको नामको पछाडि वाद जोडेर भजन गरिरहने बडो गजबको राजनीति छ प्रचण्डको ।
माओकालीन चिनियाँ राजनीति र वर्तमान नेपाली राजनीतिमा कुनै साइनो र समानता छैन । हुनेवाला पनि छैन । माओका विचार अबको राजनीतिका लागि सन्दर्भ सामग्री मात्र हुन्। ती माओवादीले भनेजस्तो कुनै विज्ञान होइनन् । नेपालमा माओवाद प्रचण्ड —बाबुरामलाई प्रधानमन्त्री बनाउने भर्याङ त बन्यो, तर आमूल रूपान्तरणको साधन बनेन । त्यस कारण माओवादी सिद्धान्त शिरमा राखेर संसदीय चुनाव लड्नु दौरा सुरुवालमाथि टाई लाउनु जस्तै हो । यो जग हँसाउने मेलो मात्र हो । त्यही भएर आज माओवादी जनताको तृणमुल तहमा बिलाउँदै गएको छ । माओवादी नामको खहरे सुक्दै गएको छ ।
वैचारिक हिसाबले प्रचण्डलाई अबको गन्तव्य त्यति सहज देखिँदैन । नेपाली काँग्रेससँग सत्ता सहवास गर्ने, देशको प्रमुख कम्युनिष्ट शक्ति नेकपा–एमाले)सँग दुस्मनी गर्ने र माओवाद र युद्धको कुरा पनि बेलाबखत गरिरहने प्रचण्डको शैली जनस्तरमा समेत खिसी–टिउरीको विषय बन्दै गएको छ ।
जीवन र जगतलाई हेर्ने मार्क्सको द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोण, लेनिनको सङ्गठनात्मक सिद्धान्त र जननेता मदन भण्डारीको जनताको बहुदलीय जनवादी सिद्धान्तसहित आर्थिक समृद्धिको मूल नारा बोकेको के पी शर्मा ओलीको नेतृत्वमा रहेको नेकपा–एमाले)लाई उछिनेर कुनै अर्को कम्युनिष्ट शक्ति नेपालमा स्थापित हुने अवस्था छैन । नेपालको कम्युनिष्ट राजनीतिमा ओलीको छायामा परेका प्रचण्ड कहिले देउवाको पोल्टामा लुटुपुटु गर्छन्, कहिले भारतीय संस्थापन पक्षसँग सत्ताको बार्गेनिङ गर्छन् ।
उनलाई कम्युनिष्ट निष्ठा, सिद्धान्तको भन्दा कैयौँ गुणा आफ्नो र आफ्नो परिवारको राजनीतिक भविष्यको चिन्ता देखिन्छ ।
यसको लागि उनको रोडम्याप हो– नेपाली काङ्ग्रेससँग गठबन्धन कायम राख्ने, भारतलाई देउवाभन्दा बढी रिझाएर आगामी संसदीय निर्वाचन लगत्तै आलोपालो भन्दै काङ्ग्रेसकै सहयोगमा प्रधानमन्त्री बन्ने । भारतलाई चीनको प्रयासमा नेपालमा पुनः वाम एकताको प्रयास भइरहेको हाउगुजी देखाएर आफू वाम –लोकतान्त्रिक गठबन्धनकै पक्षमा रहेको बताउने उद्देश्य नै प्रचण्डको हठात् भारत भ्रमणको प्रमुख उद्देश्य हो भनेर बुझ्न कठिन छैन ।
अझै कतिलाई भ्रम छ, प्रचण्ड क्रान्ति नायक हुन् । तर सँगसँगै विडम्बना यो छ कि उनीसँग कुनै सिद्धान्त, भिजन र देश बनाउने योजना छैनन् । उनी त केवल समाजमा भ्रान्ति फैलाएर सत्तामा पुग्ने योजनामा छन् । उनी क्रान्ति नायक त रहेनन्, भ्रान्ति नायक चाहिँ बाँकी छन् ।
प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार ९ : २२ बजे
प्रतिक्रिया