साफ यू–१७ च्याम्पियनसिप आजदेखि

समय कता हरायो ?

​​​​​​​समय ! 
प्रश्न छ मेरो तिमीसित 
भन्ने गरेका थियौँ, 
पराधीनताभन्दा तातो गोली मिठो हुने कुरा
कता हरायो ??
समय !
प्रश्न छ मेरो तिमीसित 
तिम्रा ती, आदर्शका कुरा कता हरायो ?? 
सम्पूर्ण नेपालीहरूलाई
काम, दाम अनि माम दिने कुरा 
समय ! 
न्याय, समानता र समृद्धिबाट 
भेदभाव र शोषण अन्त गर्ने कुरा 
कता हराए
तिम्रा ती वाचाहरू ??
समय ! 
तिम्रा ती जोशिला कस्सिएका मुठ्ठीहरू
भन्दै थियौ दर्दनाक विभेद अन्त्य गर्ने कुरा
योग्यता अनुसार कामको कुरा
काम अनुसार दामको कुरा 
कता हरायो ??  
समय ! 
प्रश्न छ मेरो तिमीसित
तिम्रो त्यो ओजस्वी अभिव्यक्ति
शोषणकारीको अन्त्य गरी 
भ्रष्टाचारीहरूको छाला काढ्ने कुरा 
कता हरायो ?? 
समय !
प्रश्न छ मेरो तिमीसित
तिम्रा ती भावुक, मर्मस्पर्शी सम्बन्धहरू 
भन्ने गरेका थियौ रोजगारीको अभावमा विदेशिन पर्नेछैन  
कता हरायो ?? 
समय ! 
प्रश्न छ मेरो तिमीसित 
तिम्रो त्यो सादा जीवन उच्च विचार र मनोबल 
कता हरायो ??
समय !
सुन्दैछु रमाउँदै छौ रे 
आडम्बरको आलिशान भवनभित्र 
सोमरस अनि भरौटेहरूका बीचमा
थाहा पाएको छु, 
देशमा आएको परिवर्तनसँगै
सत्तासुख तिम्रो भागमा परेको 
थाहा पाउँदैछु, 
अतीतका वाचाकबोल
कता हरायो ?? 
समय ! 
सुन्दैछु, आफ्नालाई पछार्दै  
बलिदानको मूल्यमा घात गरेको
विभाजन तिक्तताको बीउ छर्दैछौ 
तिमीले भन्ने गरेको वर्गीय मित्रता 
कता हरायो ?? 
समय !
तिमिलाई एउटा कामना परदेशीको
भोलि सुन्न नपरोस्, भोलि हुने तिम्रो दुर्गतिको परिणाम
जो हिजोका शासकहरूले भोगे
होइन, तिम्रो चेत कता हरायो ??
समय !
मेरो शुभकामना हरपल तिमिलाई
तिम्रो विगतलाई सम्झँदा गर्वबोध होस्
वर्तमान र भविष्य संझिरहँदा, हिनताबोधमा छटपटिन नपरोस् 
यो कामना कतै नहराओस्  

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  ७ : ५४ बजे