प्रचण्डको दिल्ली भ्रमण र आशंकाहरु

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको आकस्मिक भ्रमणमा निक्लिएका छन् । 

चिनिया कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओको चार दिने नेपाल भ्रमण सकिन पाउँदा नपाउँदै सत्ता गठबन्धनका नेता प्रचण्डको हठात् दिल्ली भ्रमणको हतारोले अनेकौँ आशङ्का उब्जाएको छ । 

विशेष गरी प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा एक सातादेखि भारतमै हुनु र त्यही सेरोफेरोमा माके अध्यक्ष दाहालको पनि भारत भ्रमण हुनुले दिल्लीमा कुनै नयाँ खिचडी पाक्दै गरेको स्पष्ट हुन्छ । यद्यपि दिल्ली जाने यो उनको हठात् हतारो रहस्य मै छ ।  

आकस्मिक तय भएको प्रचण्डको दिल्ली दौड र त्यहाँ तीन दिनसम्म उनले भारतमा रहँदा भेट्ने भनिएका भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, भारतका विदेश मन्त्री एस जयशंकर र विदेश सचिव विनय मोहन क्वात्रा भएकोबाट के आंकलन गर्न सकिन्छ भने प्रचण्ड मोटामोटी रूपमा चिँनियाहरुले गरेको  नेपाल भ्रमणको ब्रिफिङ  भारतलाई गर्न हतारिएका हुन्  । 

प्रचण्डले एक वर्ष अघि नै  बताएका थिए की वर्तमान गठबन्धनको सरकार भारतको लागि सबैभन्दा कम्फर्टेबल सरकार हो । हो प्रचण्ड चिनियाँहरूको भेटघाटको कुरा तुरुन्त दिल्ली लगेर आफू भारतका लागि कम्फर्टेबल मात्र हैन ‘भारतको वफादार सेवक’ भएको प्रमाणित गराउँदै त हैनन ?  

स्पष्ट छ कि  लिम्पियाधुरा समेटिएको नक्सा छापिदा हाेस् या भारतले लगाएकाे नाकाबन्दी पछि नेपालमा नेपाली जनता सर्वशक्तिमान् ठान्ने चेत र हरहर प्रभु गर्ने परावलम्वी खराब चिन्तनबीच द्वन्द्व सुरू भएको थियो । 

हाे इतिहास साक्षी छ भारतले नाकाबन्दी लगाएको बेलामा दृढता पूर्वक उभिरहेको  सरकारलाई ढाल्न होस् या मुलुकको संविधानमा नक्शा समेटेर भारतलाई सिँधा सिधा कुरा गर्ने केपी ओली नेतृत्वको सरकार दुवै ढाल्न प्रचण्ड नै प्रयोग भए  । राष्ट्रवादी कम्युनिष्ट सरकार ढालेर काँग्रेसको सरकार बनाउनु अघि भारतका लागि कम्फर्टेबल सत्ता गठबन्धनको निर्माण, कम्फर्टेबल सिद्धान्तको प्रतिपादन गर्नमा पनि यिनै प्रचण्डले  अग्रसरता र रुचि लिएकै हुन् । हो प्रचण्डले भारतको भक्त हुन र महत्त्वाकाङ्क्षा पूर्ति गर्न  र वामपन्थीको विरुद्धमा प्रतिशोध साँध्न कांग्रेसको पूजामा उत्रन सङ्कोच मानेनन् । 

त्यति बेला केपी ओलीको राष्ट्रियता र उनले चीनसँग गरिएका व्यापार तथा पारवहन सम्झौता, उत्तरतिरका विभिन्न नाकाहरू खोल्ने सहमति आदिलाई असफल पार्ने भारतीय डिजाइन अन्तर्गत नै ओली सरकार ढालिएको यो यथार्थता कहीँ कतै छुपेको छैन ।  

प्रचण्ड देउवा गिरोहको वर्तमान गठबन्धनको निर्माण पनि यसै उद्देश्यले बनाइएको हो । ओली सरकारले चीनसँग गरेका सम्झौताहरूलाई एक पछि अर्को गर्दै रद्दीको टोकरीमा फ्याँक्दै जानुले पनि त्यसको सोझै  पुष्टि हुन्छ ।

मोदीसँग ‘केमेस्ट्री’ मिलेको घोषणा गर्दै हिडने प्रचण्ड र भारतीयहरू सामु ‘म तपाईँहरूकै हुँ’ भन्दै बरबराउने देउवालाई एउटै जुवामा नारेर भारतीले यत्तिखेर  तीव्र गतिमा नेपालमा सिक्किमीकरण र फिजिकरणको बयल गाडा हाँकिरहेको छ । 

दश बर्से जनयुद्धमा सुरक्षितसँग भारतमै बिताएका प्रचण्ड राजनेता नभई राजनीतिक बिचौलिया हुन् । आफ्नो छोरीलाई मेयर बनाउनकै लागि शेर बहादुरको फेरो समात्न पुगेका प्रचण्ड स्थानीय निर्वाचन सकिए लगत्तै ‘बाम गठबन्धन’, ‘बाम एकता’को स्याल हुइयामा व्यस्त भए । 

उनको यो प्रस्तावबाट नेकपा एमालेले अलिकति पनि नजिक नभएसँगै प्रचण्ड यत्तिखेर दिल्ली बाहेक सत्ताको अर्को टेको नभएको बुझाइमा पुगेका छन् । 

आफ्नो उदरस्थ स्वार्थ, खस्कँदै गएको साँख र शक्तिको जोहो गर्न पुनः एक पटक प्रचण्डलाई भारतीय रणनीतिक उद्देश्यको वफादार कारिन्दा पुष्टि गर्नै पर्ने भएको छ । हो प्रचण्डको यो सम्मको झुकाव र फोहोरी खेलको गन्ध ह्वास्सै गन्हाइसकेको छ । 

प्रचण्डको यो किसिमको हर्कत ‘घले दौड’ले कतै मुलुक सुरक्षा र स्वतन्त्र परराष्ट्र नीति भारतको पोल्टामा हालिदिने खतरा त झन् बढ्ने त हैन ? यो चिन्ताको विषय हो ।  

छविलाल दाहाल स्वभावैले अस्थिर चिन्तन  र खुल्लापन भन्दा अन्तर विरोधमा खेल्ने पात्र हुन् । यत्तिखेरको उनको दिल्ली यात्रा पनि बेइजिङलाई देखाएर आफ्नो कुनसित मगसद् पुरा गर्ने चालमात्र हो । 

नेपालमा एउटा दलविरुद्ध अर्को दललाई प्रयोग गरेर अन्तर विरोधमा खेल्न माहिर प्रचण्ड बेलाबेलामा दुई छिमेकी राष्ट्रहरूसँग पनि एकका विरुद्ध अर्कोको प्रयोग गर्न हिच्कचाउदैनन् । हो यत्तिखेर प्रचण्ड चीन कार्ड देखाएर भारतको वफादार सेवक बनिरहेका छन् । 

बढ्दै गइरहेको जनआक्रोश, मूल्यवृद्धि र चरम आर्थिक सङ्कटले टाँट पल्टँदै गइरहेको गठबन्धन सरकार यत्तिखेर आफ्नो दिन गन्तीको अन्तिम अवस्थामा छ । अर्थमन्त्री प्रकरणदेखि सीसीएमसी प्रकरणमा उँदाँगिएको सरकार आउँदै गरेको सङ्घीय निर्वाचनमा बढारिने खतरा छ । जसपा विभाजन होस् या गठबन्धन भित्र बढ्दै गइरहेको दुरीले यो गठबन्धन कुनै पनि दिन तासको महलजस्तै ढल्न सक्छ । 

सत्ता बाँडेर रमाइलो गरौँला भन्ने सोचमा रहेका प्रचण्डलाई वर्तमान गठबन्धन भत्केला कि भन्ने पिरलो हुनु स्वाभाविक छ । हो त्यही कारण प्रचण्ड यत्तिखेर बेजिङ कार्ड देखाएर भारतको सेवा गर्दै छन् । 

स्पष्ट छ इतिहासमा  प्रचण्ड प्रधानमन्त्री भएका बेला कोसीमा आएको बाढीलाई बहाना बनाएर विराटनगरमा जासुसी कार्यालय  राखिएको थियो । उक्त कार्यालय ओली नेतृत्वको सरकारले उखेलेर फ्याँकेको थियो । प्रचण्ड आफैँ अघि सरेर अपर कर्णाली भारतलाई सुम्पिएका घटना होस् या  प्रचण्ड प्रधानमन्त्री भएकै बेला बाबुराममार्फत एयरपोर्टहरूमा भारतीय मार्सल राख्ने अन्तिम तयारी गरिएको घटना  । प्रचण्ड आफ्नो स्वार्थका लागि जे पनि गर्न सक्छन् । 

 जनयुद्धको उत्तरार्धमा प्रचण्ड बाबुरामले भारतीय प्रधानमन्त्री मनमोहन सिंह र सोनिया गान्धीको पाउमा चढाएको बिन्ती पत्र होस् या जनयुद्धमा खडा गरिएका जनसत्ता, जनअदालत, जनमुक्ति सेना विघटन गरेर प्रचण्डले कुर्सी स्वार्थको  सौदावाजी गरिसकेका छन् । यत्तिखेर आफ्नो सत्ता स्वार्थका लागि प्रचण्डले सन्तुलित परराष्ट्र नीतिकै धज्जी उडाए भने पनि त्यो नौलो नमाने हुन्छ । 

बिहान एउटा कुरा र बेलुका अर्कै कुरा गर्ने अडान नभएका प्रचण्डको दिल्ली दौड र कूटनीतिक केटौलेपनको कलाहीन नाटक, जालझेल,तिकडम र षड्यन्त्र समयक्रममा चकनाचुर हुँदै गर्ला तर यो चाहिँ स्पष्टै छ कि चिनीया नेतासँगको भेटघाट लगत्तै मालिक रिझाउन प्रचण्डको याे हदकाे हताराे नेपालको राष्ट्रियता, राष्ट्रिय स्वतन्त्रता र सार्वभौमिकताका लागि गम्भीर खतराको विषय हो ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ६ : ०५ बजे