सिन्धुपाल्चोकमा प्राकृतिक विपत्तिबाट विस्थापितको स्थायी आवास पुनः निर्माण आरम्भ

सिन्धुपाल्चोक । मनसुनजन्य प्राकृतिक विपत्तिबाट घरबार विहीन भएका सिन्धुपाल्चोकका विस्थापित नागरिकको  स्थायी आवास पुनः निर्माण प्रक्रिया सुरु भएको छ । 

हालसम्म जिल्लाका १२ स्थानीय तहका विभिन्न स्थानमा बाढी, पहिरोजस्ता प्राकृतिक विपत्तिले घर गुमाएका एक हजार ४१ परिवार लाभग्राही कायम भएका छन् ।

जिल्ला विपद् व्यवस्थापन समितिको तथ्याङ्कअनुसार सबैभन्दा बढी लाभग्राही हेलम्बु गाउँपालिकामा कायम भएका छन् । गत वर्षको मेलम्ची बाढीबाट हेलम्बुमा मात्रै ३९२ परिवार विस्थापित भएका थिए । 

लाभग्राही कायम भएकामध्ये हेलम्बुमा १८२, मेलम्ची नगरपालिका १५, बाहबिसे नगरपालिका ४०, भोटेकोशी गाउँपालिका १५, पाँच पोखरी थाङपाल गाउँपालिकाका दुई र बलेफी गाउँपालिकाका दुई परिवारको आवास पुनः निर्माणका लागि सम्झौता भएको छ । 

पहिलो किस्ताबापतको रकम निकासा गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालले जानकारी दिनुभयो । 

प्राकृतिक विपत्तिबाट विस्थापित नागरिकको स्थायी आवास पुनः निर्माणको काम सुरु भए पनि जोखिमयुक्त बस्ती स्थानान्तरणको कामले भने अझै गति लिन सकेको छैन । 

पाँच पोखरी थाङ्पाल गाउँपालिकामा गत वर्ष याङ्ग्री र लार्केखोलामा आएको बाढीबाट प्रभावितको स्थानान्तरण प्रक्रिया सुरु भए पनि सुरक्षित स्थानमा जग्गाको व्यवस्थापन हुन नसक्दा कामले गति लिन नसकेको हो ।

गाउँपालिकाले याङ्ग्री, सुनचौर, माईखर्क, भाङच्युङ्ग र तिपेनीमा स्थायी बसोबास गर्ने बस्तीका बाढी प्रभावितलाई त्यस ठाउँबाट अन्यत्र स्थानान्तरण गर्न जिल्ला विपद् व्यवस्थापन समिति, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र पुनः निर्माण प्राधिकरणमा पहल गरेको थियो । रासस

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  १० : ५६ बजे