मनुष्य जीवन प्रकृति परमेश्वरको अथवा सत्वको अमूल्य उपहार हो । हामीले परमेश्वरका नामले पुकारिने महामानव र महामनिषीहरु सबै शौर्य पराक्रम र कष्टसाध्य सङ्घर्षका परिणामले परमेश्वर भएका हुन् । समाज वर्ण र कर्मका आधारमा विभाजनपश्चात् कर्म श्रेष्ठताले भन्दा पनि वर्ण श्रेष्ठताले शासन गर्न थालेपछि मानिस भित्रको जुन मनुष्यत्व आध्यात्मिक थियो; त्यस तत्त्वलाई शासकहरूले अध्यात्मवादको जामा लगाएर बलात् शोषणको मूल साधन बनाए । तर मनुष्यको मनुष्यत्व आध्यात्मिक गुणमाथि थिचो–मिचो भए पनि त्यही नै सत्य भएकाले त्यसैको जगमा भौतिकवादको उदय भयो । अब अध्यात्मवाद र भौतिकवाद अलग–अलग तत्त्व हुन् भनेर अध्यात्मवाद, भौतिकवाद परिभाषित भए पनि आध्यात्मिक र भौतिक एकै हुन्, भौतिकको गुण आध्यात्मिक हो । सूक्ष्म ब्रह्माण्ड (परमाणु) देखि अनन्त ब्रह्माण्ड र समग्र जीवन जगत भौतिक हो; अथवा पाञ्चमभौतिक वा शाश्वत पदार्थहरूको समुच्चय हो । यिनै सृष्टिका मूल पदार्थ र सृष्टि संरचनामा तिनीहरूको भूमिकाको विषयमा यहाँ छोटो चर्चा गरिएको छ ।
सत्त्वम् रजस् तम इति प्रकृतेर्गुणांस्तैर्युक्तः पर: पुरुष एक इहास्य धत्ते । (श्रीमद्भागवत १ । २ । २३ ।)
पृथ्वी, जल, अग्नि, वायु, आकाश र काल यी सात मूलप्रकृतिका सत्त्व रजस् र तमस् तीन गुणहरू छन् । यी तीन गुणलाई जगत् सृष्टिका लागि सर्जकले धारण गर्दछ ।
सृष्टि हुनु भनेको कुनै वस्तु वा पदार्थ अस्तित्वमा आउनु, देखिनु हो र व्यक्त हुनु हो । हाम्रो आँखाले देख्न नसकिने सूक्ष्मतम वस्तुहरू पनि इन्द्रियानुभूतिमा आइरहेका हुन्छन्, जुन आँखाले लेख्न सकिँदैन ।
सृष्टिका आधारभूत मूल तत्त्वहरू— पृथ्वी, जल, तेज, वायु, आकाश, दिक् र काल गरी सात वटा छन् । यिनै सात वटा पदार्थहरूको संघटन हुँदाको अवस्थालाई सृष्टि भनिन्छ र विघटनको अवस्थालाई प्रलय भनिन्छ । सूक्ष्म र स्थूल गरी ब्रह्माण्ड २ वटा छन् । पदार्थको सूक्ष्म ब्रह्माण्ड परमाणु रूप वा त्यसभन्दा हजारौँ गुणा सूक्ष्म हुन्छ र त्यसैको गर्भमा सृष्टिको मूलाधार र अनन्त ब्रह्माण्ड हुन्छ । सूक्ष्म ब्रह्माण्डको अभावमा स्थूल ब्रह्माण्डको सृष्टि हुन सक्दैन र सृष्टिको अस्तित्व पनि रहँदैन ।
प्रकृष्टेन वा प्रशस्तेन नित्यं सत्त्व करोति, कार्यते : प्रकृति अर्थात् सार्वभौम नियमद्वारा सृष्टि, स्थिति र लय गर्ने परम सूक्ष्मतम तत्त्व प्रकृति हो । मूल परम प्रकृतिको सङ्ख्या पाँच रहेको छ । पृथ्वी, जल, तेज, वायु, आकाश यी पाँच प्रकृति हुन् । यी पाँच प्रकृतिका ज्ञानेन्द्रीयद्वारा अनुभूति हुने गुणलाई पञ्चतन्मात्रा भनिन्छ । रूप, रस, गन्ध, स्पर्श र शब्द यी पञ्चतन्मात्रा हुन् । यी पञ्चप्रकृतिका तीन गुण छन् । सŒव्, रजस्, र तमस् ।
सम्पूर्ण पदार्थमा गति हुन्छ अथवा परमाणु गतिमान हुन्छ । गति परमाणुको अस्तित्वरूप हो र गति नै विकासको कडी पनि । इलेक्ट्रोन, प्रोटोन र न्यूट्रोन यी पदार्थका अथवा परमाणुका गति हुन् । तमस्— ईनेर्शिया ईलेक्ट्रोन अवरोधक तत्त्व वा अवरोधक गति । अवरोधक गतिविना कुनै पनि वस्तुको स्थिरता सहँदैन । वस्तुको स्थिरता र कालिक स्थायित्व अवरोधक गति ईलेक्ट्रान् हो र यसले अवरोध गर्दछ । रजस्—प्रोटोन वा पोजीट्रान, सर्जकतत्व, सर्जक गति । यसले उत्पत्ति, उत्थानको भूमिका खेल्दछ । न्युट्रोन् अथवा सन्तुलन गति । यो गतिले उपरोक्त दुवै गतिलाई सन्तुलित गर्दछ ।
स्थित्यादये हरिविरंचिहरेति संज्ञा: श्रेयांसि तत्र खलु सत्त्वतनको र्नृणां स्यु ।। (–श्रीमद्भागवत १ । २ । २३ )
सृष्टि, स्थिति र प्रलय यी तीन वटै कार्य सत्त्वम् , रजस्, तमस् यी तीन गुणबाट नै हुने गर्दछन् । यी तीन गुणहरूलाई काव्यात्मक रूपले व्याख्या गरेर, अभिव्यक्त गर्दा सुष्टिकर्ता ब्रह्मा, स्थितिकर्ता विष्णु र प्रलयकर्ता हर अथवा शङ्कर भनेर बुझाइएको हो ।
वदन्तितत्त्वत्त्ववविदः तत्त्वम् यज्ज्ञानमव्ययम् । ब्रह्मेति परमात्मेति भगवानिति शब्द्यते ।। (श्रीमद्भागवत १ । २ । ११)
जीवन र जगको सृष्टि, स्थिति र लयको विषय जान्ने तत्त्ववविद्हरू मूल तत्त्वको विषयको ज्ञान प्राप्त गर्दछन् । यही तत्वज्ञानलाई अनुभूति गरेर योग साधना मार्गमा सिद्घिप्राप्त गरेका महायोगीहरूले प्रकृतिका यी तीन गुणहरूलाई कसैले ब्रह्म, कसैले परमात्मा र कसैले भगवान् भनेर पुकार्दछन् ।
यसरी काव्यात्मक वर्णन गरेर यी तीन तत्त्वलाई बुझाउन र सत्त्व , रजस् र तमस् प्रकृतिका तीन गुणहरूलाई स्थुल ब्रह्माण्डसँग अभिव्यक्त गर्दा ब्रह्मा, विष्णु र महेशलाई सृष्टि, स्थिति र लयका आदि कारण भनियो । सूक्ष्मतम ब्रह्माण्डका यी तीन तत्त्वका गुणमा आधारित प्रमाणमा पुग्दा तत्त्वदर्शीहरू ब्रह्म, परमात्मा, भगवान् यी तीन शब्दद्वारा उल्लेख गरेर सूक्ष्मकारणात्मक तत्त्वको निष्कर्षमा पुग्न सफल भए । यो सूक्ष्मकारणात्मक, काव्यात्मक परिणाम र प्रमाण हो ।
यी तीन गुणसँग अपरिहार्य सम्बन्ध गाँसिएका अरू दुई तत्त्व दिक् र काल हुन् । प्रकृति सत्त्वरूप प्रथम र कार्यरूप गरी दुई वटा क्रियात्मक सम्बन्धसँग गाँसिएको हुन्छ । सत्त्वरूप प्रकृति परमाणु वा त्योभन्दा सूक्ष्मतम रूप हो, जो केवल ज्ञानद्वारा देख्न र बुझ्न सकिन्छ । कार्यरूप प्रकृति चाहिँ अन्य प्रकृति सँगको सम्बन्धसँग सम्बन्धित हुन्छ र गतिमान् हुन्छ । सत्यरूप प्रकृति स्थिर रूपमा अवस्थित हुनाले कार्यरूप प्रकृति क्रियाशील हुँदा न ऊ घट्छ न बढ्छ नै । न कसैले घटाउन बढाउन सक्दछ । त्यही क्रियात्मक प्रकृतिलाई पदार्थ भनिन्छ । पदार्थ द्रव्य र गुणमा अभिव्यक्त हुन्छ । पदार्थ समष्टि हुन्छ गुण व्यष्टि हुन्छ । गुणले गुणीलाई बुझाउन महामनिषी दार्शनिकहरूले प्रत्येक प्रकृतिका प्रत्येक गुणलाई छुट्याई दिएका छन् ।
१ पृथ्वी: तत्र गन्धवती पृथिवी /पृथ्वी – प्रकृतिको गुण गन्ध हो । ध्वंशभिन्नत्व् सति गन्ध समवायीकरणत्वं पृथ्वीत्वं । पदार्थ –द्रव्यको परमाणु अभिवाज्य भएकोले ध्वंश भिन्न छ , किनकि त्यो अभिवाज्य छ । जलादि अन्य प्रकृतिको गुणभन्दा भिन्न भएकोले आफूलाई चिनाउने अरूभन्दा भिन्न गुण भएर आफ्नै समवायीकारणले अविनाशी भएकोले पृथ्वी प्रकृतिहरू मध्ये अलग छुट्टिएको हो । अन्य पदार्थको जस्तो गुण नभएको र गन्ध नै यसको गुण भएको हुनाले यो अलग छ । परमाणु रूप सूक्ष्मतम हो , अथवा पृथ्वीहो । यो तत्वको कार्यरूप घडा माटो, ढुङ्गा , पहाड आदि हुन् ।
२ जल (पानी) : शीत समवायीकरणत्वं जलत्वम् ।ध्वंशभिन्नत्वे सति शीत समवायीकरणत्वं जलत्वंम्। जलको पनि परमाणु अविभाज्य छ । वायुको गुणप्रवाह यसमा छ र शीतलतापनि छ । शीतलता पानीको अन्य प्रकृतिको भन्दा भिन्न गुण भएको हुनाले पृथिवी आदि प्रकृतिभन्दा शीतगणले यसलाई अलग छृुट्याई दिएको छ । कार्यरूप जल चाहिँ कुवा, तलाउ, नदी, समुद्र आदि हुन् ।
३ वायु : रूपरहित स्पर्शवान् वायु –ध्वंशभिन्नत्वे सति स्पर्श समवायीकरणत्वं गुण भएको वायु हो । तर यो रूपरहित छ । देख्न सकिँदैन, केवल स्पर्शतामा मात्र यसलाई जान्न बुझ्न सकिन्छ । स्पर्श जलको पनि छ, तर रूप छैन, पानीको कुनै एक रूप हुँदैन । रूपले पानी छुट्टिँदैन केवल शीतलताले मात्र पानी हो भन्ने छुट्टिन्छ । त्यसैले वायु, पृथ्वी, जलभन्दा भिन्न छ । यसको गुण भिन्न भएकोले वायु अलग्गै प्रकृति हो । वायुको कार्य रूपमा अक्सिजन, बतास, आँधी, तुफान आदिमा अभिव्यक्त हुन्छ ।
४ अग्नि (तेजस्) : ध्वंशभिन्नत्वे सति तेज समावीकरणत्वं तेजत्त्वम् । यसमा पनि परमाणु रूप छँदै छ । परमाणु अध्वंशित वा अभिवाज्य छ । तर तातोपना र प्रकाश यस तत्त्वमा भएकोले तेजस् तत्त्व अलग हो । यसमा जलको जस्तो रूप पनि विद्यमान छ, स्पर्शता पनि छ तर तातोपन यसमा मात्र भएकोले तेज अलग वा पृथक् भएको हो ।
५ आकाश: शब्दगुणकम् आकाशम् । ध्वंशभिन्नत्वे सति समवायीकरणत्वं आकाशत्वम्। यसको पनि परमाणु रूप ध्वंश भिन्न अथवा अविभाज्य र सूक्ष्म छ । यो पनि तेज जस्तै देख्न सकिन्छ बुझ्न सकिन्छ , तर आकाश व्यापक छ । यसको गुण भनेको व्यापकता हो । त्यसैले आकाश तत्त्व जलतत्व आदि भन्दा भिन्न हो ।
६. दिक् काल (समय) : सामान्यतया दिक् भन्नाले आकाश वा दिशालाई बुझाउँछ र काल भन्नाले समयलाई बुझाउँछ । अङ्ग्रेजीमा आइस्टाइन आदि वैज्ञानिक तथा भौतिक शास्त्रीहरूले दिक् र काललाई स्पेस–टाइमको संज्ञा दिएका छन् । वैशेषिक दर्शनशास्त्रमा वर्णित दिक् र कालको व्याख्या गर्दै सर्वपल्ली राधाकृष्णन् भन्दछन्— जब वैशेषिक दर्शन देश र कालको व्यापकता तथा यथार्थ स्वरूपको प्रतिपादन गर्दछ त्यसको अभिप्राय यही हो कि, विश्व जुन रूपमा हामीलाई प्रतीत हुन्छ, एक अनन्त विस्तार को, त्यहाँ एउटा यस्तो अवधि छ, जसको सीमा छैन । कुनै तल (श्रेणी) र अन्त्य पनि छैन । प्रत्येक घटित घटनाभित्र देश र काल सम्बन्धी गुणहरू रहन्छन् । यदि कुनै वस्तुको दैशिक स्थिति उही हुन्छ जो कालीक स्थितिमा परिवर्तन हुन्छ, तब हामी भन्छौँ कि, शरीर निचेष्ट छ । परन्तु त्यो निरन्तर जुन प्रकारले काल परिवर्तित हुन्छ, त्यसलाई हामी गति भन्दछौँ । हाम्रो अनुभव एक देशकालीक स्वरूप हो । त्यसैले वैशेषिक अनुमान गर्दछ कि देशकाल हामी भन्छौँ बाहिर छ, त्यो खालि भाँडो जस्तो छ, त्यसलाई भर्न त वस्तु र घटना घटित हुनुपर्यो, त्यसैले यो सत्य प्रतीत हुन्छ । देश र काल प्रत्यक्षानुभवहरूद्वारा बनेको हो । यदि हाम्रा अनुभवका देश तथा काल सम्बन्धी स्वरूपहरूको माग यो हो कि हामी देश र काललाई व्यापक शून्य स्वीकार गरौँ त्यसमा केही कारण छैन, हामी यो विराट अन्तरिक्ष ममा एक विराट बुद्घि, एक विराट अन्धकार अरू राम्रा नराम्रा तथा तटस्थ सबै गुणहरूको विश्वीय भण्डारलाई पनि स्वीकार नगरौँ, जो हाम्रो वास्तविक अनुभवहरूको स्वरूप प्रदान गर्दछन् । त्यसैले देश र काल हाम्रा अनुभवबाट उत्पन्न मान्न सकिँदैन । हामीले पूर्व विद्यमानतालाई स्वीकार गर्नुपर्दछ । अतः देशकाल व्यापक सर्वगत द्रव्य(पदार्थ) हुन् । देशभित्र जे हुन्छ त्यही कालभित्र पनि घट्ने गर्दछ । ….
सांख्य, न्याय र वैशेषिक शास्त्रका प्रणेताहरू– महर्षि कपिल, महर्षि गौतम र महर्षि कणादले पाँच प्रकृति बाहेक दिक् र काल जोडेर सात प्रकृतिको सङ्ख्या गणना गरेका छन् । प्रकृति इति सप्तधा, अथवा प्रकृति सात प्रकारका छन् । दिक् र काललाई हजारौँ वर्षदेखि प्रकृतिमा गणना गरिँदै आइएको छ । मूलतः उपरोक्त दर्शनशास्त्रीहरूले आध्यात्मिक र भौतिक दुवै तत्वको विश्लेषण संश्लेषण गरेका छन् । सूक्ष्मतम परमाणु तत्त्व होस् वा स्थूल तत्त्व होस् कुनै पनि प्रकृतिको आकृति वा आकार अनिवार्य र अपरिहार्य हुन्छ । स्थूल प्रकृतिको आकार भनेको पिण्ड हो । जस्तै पृथ्वी एउटा पिण्ड हो । सूक्ष्मतम प्रकृति स्थिर भए पनि आत्मिक रूपले गतिमान् हुन्छ । चाहे त्यो इलेक्ट्रोन, प्रोटोन गतिमा किन नहोस् । कार्यरूप प्रकृति त झन् गतिमान भएकोले र एक अर्को समेत गतिमा गतिमान् हुने भएकोले ती सबै गतिशील र परिवर्तनशील छन् । एक स्थानमा, एक समयमा रहेको पिण्ड अर्को समयमा अर्को स्थानमा पुग्न र अडिनका लागि स्थान र समय चाहिन्छ । गतिमान पिण्ड एक ठाउँबाट अर्को ठाउँमा पुग्न एक कालिक स्थिर रहने अडिन दिने प्रकृति दिक् हो भने त्यो पिण्ड सरेर जाने, पुग्ने अवधि कालहो ।
(लेखक पूर्वीय दर्शनका अध्येता हुनुहुन्छ ।)
प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार ९ : १० बजे
प्रतिक्रिया