आज वर्षाको सम्भावना

दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

अहँ ! भो अब म थली जाँदै जान्न 

काठमाडौँ । ‘ए भाइ थली आउन, दाजु भाइ बसेर चिया खाऊ ।’ ‘बाबु कता हो एसो हाम्रो तिर पनि आउन,कहिल्यै आउँदैनौ । कैले काहीँ त आए हुने नि !’ थलीमा मेरा थुप्रै आफन्त छन् । त्यहीँ भएर यस्ता निम्ता सधैँ जसो आइरहन्छ । सधैँ जसो आइरहने यस्तो निम्ताहरू प्रायः म अस्वीकार गरिरहेको हुन्छु । कारण हो मेरो थलीसँगको शत्रुता । थली मेरो शत्रु हो । केही समय अघि मात्र दीपक दाइलाई थलीमा भेट्न जाँदा म हिलाम्मे बनेको छु । थलीमा गुडिरहेको गाडीले मलाई हिलाम्मे बनाएको छ । फेरी हिलाम्मे बन्न म थली किन जाऊ ? बारम्बार थली आउन आइरहेको यस्ता निमन्त्रणाले म वाक्क भएको छु । तर पनि निवेदन आउन र अस्वीकार गर्न म छोड्दिन । यसैबिच फेरी पनि मलाई थलीमा ‘बर्थ डे’मनाउन निश्चल दाइको निवेदन आयो । फोनमा रिङ बच्छ । म उठाउँछु । 

म : हेलो 

दाइ : कता हो ? बेलुका छोरीको बर्थ डे छ थली आउन पर्‍यो । 

म : के आई भो र दाइ बाटो त्यस्तो बिजोक छ । फेरी बर्थ डे मनाउन मनै आउनु पर्ने के छ र तपाईँहरू जति हुनुहुन्छ मनाउनुस् न !  

दाइ : त्यसो भनेर कहाँ हुन्छ भाइ । मैले झन् सबैलाई बोलाएको छु । सबै जना आउनुहुन्छ जमघट हुन्छ । रमाइलो गरौँ भनेको, तिमी नआए त म रिसाउँछु । दाइले फोन काट्दिनु भयो । 

जति नै थली जान्न भनेर आनाकानी गरे पनि दाइको आग्रहलाई मैले नकार्न सकिन । दाइको आग्रह र जन्मोत्सवको उल्लास सम्झिएर होला म फेरी थली जाने निर्णयमा पुगे । 

मैले दाइलाई आफूलाई लिन आउन आग्रह गरे । उहाँले मेरो आग्रहलाई स्विकार्नुभयो र साँझको साढे पाँच बजे मलाई गौशालामा लिन आउनुभयो । 

हामी दुई भाइ थली तर्फ हाँकियौँ । बाटोमा मैले थलीका सडकका दुर्दशाका विषयमा कुरा कोट्याइरहेको थिए । हामी दुई भाइ थलीको बाटोकै विषयमा आफ्ना आफ्ना तर्कका कुराकानी गरिरहेका थियौँ । ठेकेदारको लापरबाहीदेखि जनप्रतिनिधिको अरुचिसम्मका कुराकानी हामीबिच भए । हामी बौद्धको धुलो खाँदै बाइकमा हुइँकिरहेका थियौँ । दक्षिणढोका पुग्यौँ, त्यहाँको थोरै बाटो हिलो रहेछ । दक्षिण ढोकाबाटै हाम्रो यात्राको ‘रियाक्सन’ सुरु भयो । हुइँकिरहेको बुलेरोले हामीलाई हिलो छ्याप्यो । धन्न हिलो खुट्टामा मात्र लाग्यो,अझ मेरो खुट्टामा कम हिलो लाग्यो । गाडी झन् बेतोडले हुइँकियो । दाइले गाडी अलिक पर पुगेपछि मुख खोल्नुभयो । ‘साले …….बाटोमा हेरेर हिँड्न सक्दैनस् । आँखा कहाँ राखिथिस् ? बाइकवालालाई हेप्छस् ।’ एस्तै एस्तै गाली बुलेरो वाला ड्राइभरले खायो । सही थाप्नलाई पछाडि म थिए । ‘कस्तो अन्धा हुने ड्राइभरहरू आँखै नहेरी कुदाउँछन् हे।’,मैले पनि झोक पोखे । 

हाम्रो यात्रा फेरी थली तिरै कुद्दै थियो । थलीकै विषयमा हामीबिच कुराकानी हुँदै थिए । थलीको उकालो सकिएर अलिक पर मात्र के पुगेका थियाैँ । बाबा गोकर्णेश्वर गाडी हर्न बजाउँदै हुइँकिँदै आयो । अगाडी हिलो थियो । दाइलाई एक छिन् रोक्न र गाडी गएपछि जान आग्रह गरे । दाइले रोक्नुभयो । हुइँकिरहेको गाडीको वेग भने रोकिएन गाडी हर्न बजाउँदै कुद्यो । साइड लागेर बसेका हामी निथ्रुक्कै भिज्यौ । छातीदेखि खुट्टासम्म हामी दुवै निथ्रुक्कै सडकको गन्हाउने पानीले भिज्यौ । म चिच्याएँ । ‘ओइ पख’ आफ्से आफ् यी शब्द मेरो मुखबाट निस्कियो । मैले सिँधै भिजेकै हुलियामा प्रहरी चौकी जाऊँ भने । दाइले प्रहरी चौकीमा रोक्नुभयो । हामीले प्रहरीलाई सबै बेलिबिस्तार लगायौँ । तर,प्रहरीले त्यसको पहलमा कुनै तदारुकता देखाएन ।

हाम्रा कुरालाई प्रहरीले खासै वास्ता गरेनन् । खाना खान जाने बहानामा उनीहरू पन्छिएँ । म दिक्क भए । म यसरी थलीमा हिलाम्मे बनेको दुई तिन पटक भइसक्यो । जसोतसो भिजेको मुसो भएर हामी दाइको घरमा गयौँ । त्यो दिन गनाउने कपडामै मैले पार्टी मनाए । घर फर्कँदा पनि मलाई बाटोको खाइएको हिलोको दृश्यले गिज्याइरहेको थियो । त्यसपछि मैले अब कहिल्यै थली नजाने निर्णय गरे । जबसम्म थलीको सडक बन्दैन तबसम्म अहँ ! भो म थली जाँदै जान्न । 

 

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ५ : ०७ बजे