मनसुन क्रमशः क्षीण हुँदै

नागरिकता र संवैधानिक परिषद् विधेयकमा सहमति जुटाउन गृहमन्त्रीको दौडधुप 

काठमाडौँ । सरकारले ल्याउन खोजेको नागरिकता र संसद्मा दर्ता भएको संवैधानिक परिषद् विधेयकमा सहमति जुटाउन गृहमन्त्री वालकृष्ण खाणले सक्रियता बढाउनुभएको छ  ।

आइतबार साँझ नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई भेट्नुभएका गृहमन्त्री खाणले आज बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्नुभएको छ । 

जन्मसिद्धको आधारमा नागरिकता लिएकालाई वंशजको नागरिकता दिने विधेयक र बहुमत सदस्यको उपस्थितिमा संवैधानिक निकायमा नियुक्ति गर्न सक्ने प्रावधानसहित दर्ता भएको विधेयकमा काँग्रेस र प्रमुख प्रतिपक्ष दल भित्रबाट नै विरोध भइरहेको छ ।

कानुन मन्त्री गोविन्द शर्मा कोइरालासहित आफूलाई भेट्न आउनुभएका गृहमन्त्री खाणलाई नेता नेम्वाङले संसद्मा टेबुल भएपछि मात्रै प्रतिक्रिया दिने जनाउनुभएको छ ।

“नागरिकता विधेयकमा के के आउँदै छ, त्यो हेरेपछि मात्रै नेकपा एमालेको पोजिसन रहन्छ” नेता नेम्वाङले  गृहमन्त्री खाणलाई जवाफ दिनुभएको छ । विगतमा दलहरुबीच सहमति भएको बुँदा नै समेटेर नयाँ विधेयक ल्याउन खोजेको गृहमन्त्री खाणले जनाएपछि नेता नेम्वाङले भने अध्ययनपछि मात्रै प्रतिक्रिया दिने जवाफ दिनुभएको हो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बहुमत सदस्यको उपस्थितिमा संवैधानिक निकायमा नियुक्ति गर्ने सम्बन्धी अध्यादेश ल्याउँदा विरोध गरेको काँग्रेसले कुन हिसाबले सोही प्रावधान राखेर संवैधानिक परिषद्को विधेयक ल्याएको हो ? त्यसको जवाफ दिनुपर्ने नेता नेम्वाङको भनाई छ ।

पार्टी भित्रका डा. शेखर कोइराला समूहका नेता अर्थात् गगन थापा लगायतले सरकारले ल्याउन खोजेको संवैधानिक परिषद् विधेयक प्रति आपत्ति जनाउँदै आउनुभएको छ ।

“ओली सरकारले ल्याउँदा बेठिक आफूले ल्याउँदा ठिक” भन्ने दोहोरो नीति चलाउन नहुने भन्दै सो विधेयक फिर्ता लिनुपर्ने माग गरिरहेको बेला गृहमन्त्री खाण भने माओवादी अध्यक्ष प्रचण्डलाई भेट्न उहाँको निवास खुमलटार पुग्नुभएको छ  ।

नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७५ साल साउन २२ गते प्रतिनिधिसभामा दर्ता भएको थियो, संसद्को राज्य व्यवस्था समितिले २०७७ असार ९ गते प्रतिवेदनसहित प्रतिनिधिसभामा पेस गरेको अवस्था भए पनि यही असार २४ गते फिर्ता लिने निर्णय गरेर नयाँ पेस गर्ने जनाएको थियो ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  १२ : ०९ बजे