‘एउटै नाउरको सिकार गर्न २३ लाख’

हरिभक्त कटुवालका कविता

१९९२ साल असार १८ गते असाममा जन्मिनुका हरिभक्त कटुवाल तीसको दशकका चर्चित कवि तथा गीतकार हुनुहुन्छ  । कटुवाल २०२४ सालममा नेपाल आउनुभएकाे थियाे  बिभिन्न समस्याहरुसँग जुधेर उहाँले नेपालमा लगभग १३ बर्ष बिताउनुभयाे । २०३७ साल जेठमा नेपाल छोड्नुभएका कटुवालको सोही बर्ष भदौ २५ गते निधन भयो ।  नेपाली गीत कविताको क्षेत्रमा उल्लेख्य योगदान पुर्याउनुभएका उनै कटुवालका केही कविताहरू :

पर्ख

पर्ख !
एउटा अनागत दिनसम्म
पर्ख !
एउटा उज्यालो दिनसम्म ।

हाम्रा खप्परबाट पनि उदाउनेछ एउटा तेजिलो सूर्य
एउटा उज्यालो सूर्य
युगौँयुगदेखि काई जमेका
कैयौँकैयौँ शङ्कालु छाती
धोएकै छैन अहिले प्रकाशले
पुछेकै छैन अझै संस्कारले ।

त्यसैले–
पर्ख !
एउटा अनागत दिनसम्म
पर्ख !
एउटा उज्यालो दिनसम्म ।
००

 

रहर

बा !
पाठशाला जान्नँ म
इतिहास पढाइन्छ त्यहाँ मरेका दिनहरूको ।

खिया लागेका कलका पुर्जाहरूजस्तै
गणितका सूत्रहरू पनि साह्रै पुराना भइसके
रहर छैन मलाई बाँचिदिने–
केवल इतिहासका पानाहरूमा
मैले त बाँच्नुपर्छ आउने दिनहरूमा
इतिहासको गतिलाई उछिनेर
इतिहासभन्दा बढी अरू केही भएर
त्यसैले बा !
पाठशाला जान्नँ म
इतिहास पढाइन्छ त्यहाँ मरेका दिनहरूको ।

फ्रेम हालेर राख्ने आदर्शभन्दा
भोग्न सकिने आदर्श मलाई राम्रो लाग्छ
बनिसकेको बाटामा हिँड्नभन्दा
बाटो बनाउँदै हिँड्न रहर लाग्छ ।

इतिहासका ठेली होइन
एउटा कोदालो चाहिन्छ मेरा पाखुरालाई
योजनाले होइन
पैँतालाले नाप्नु छ मैले प्रत्येक अग्ला टाकुरालाई
र, गर्नु छ भुक्तान जम्मैऽऽ
धरतीले बोकाएका ऋणहरूको ।

बा !
पाठशाला जान्नँ म
इतिहास पढाइन्छ त्यहाँ मरेका दिनहरूको ।
००

 

सिउन सकिन्न फाटेको मन, झन् फाट्छ

यसपल्टको जाडो कसकसले कसरी छेल्ने हुन् कुन्नि !
आफ्नो त दुखेको एउटा मन छ– बिहानैपिच्छे भत्किने
खै अचेल एक बैँस पनि मज्जाले हाँसेको कोही देखिँदैन
कहाँकहाँ उठाऊँ जताततै पोखिएको यो आकाशलाई ?
सपनाको बिस्कुन हालेर आँखाहरूको आँगनमा
कति पर्खन सक्छ कोही कसैलाई ?
सिउन सकिन्न फाटेको मन झन् फाट्छ ।

यहाँ हतार छ
कसैलाई कसैको गमलामा फुल्ने हतार
हतार छ जुरेलीलाई– यसै हिउँदमा कम्लाउने हतार
रङरोगन फेरेर सकिने भए फर्काउन बैँस
त्यसो पनि त गर्न हुन्थ्यो ।

कोसित सापट लिएर उत्कण्ठा अब कुन चौतारी कुरूँ ?
एक भाका हाल्नै नपाई पिरतीको
खै बैँस कसरी काटिएछ ?
थाहै नपाई कुत्कुती
यो मन कहाँ, कोसित साटिएछ ?

यसपल्ट जाडोको पहिलो सिरेटोले छुँदा
मैले छामिहेरेँ ओछ्यानमा तिमीलाई यताउता
चिसो अनुपस्थिति एक अँगालो यो वर्षलाई पनि तिमी पुग्यौ
खै कहिले आउने तिमी–
पोल्टाभरि एक घान न्यानो घाम बोकेर ?
००

मन त फलामकै भए असल हुन्छ

मन त फलामकै भए असल हुन्छ

न घात–प्रतिघातमा रुन्छ
न सयपत्री र बाबरीले बाटो थुन्छ
मन त फलामकै भए असल हुन्छ

कसैले चिमोट्यो–
एक कप्टेरा त्यतै टाँसियो
कसैले एउटा मुस्कान फ्याँक्यो–
उसैको पछ्यौरीमा गाँसियो
जहिले पनि जलेकै छ
जता पनि ढलेकै छ
मनको बह कसैसित नकह
कसले बुझ्छ ? कसले सुन्छ ?
मन त फलामकै भए असल हुन्छ ।

वसन्तमा वन फुल्यो, मन उतै भुल्यो
बैँसले जाऊँ है भन्न लाग्यो– पीर झनै ठूलो
आकाश देख्यो– आकाशजस्तै
बतास देख्यो– बतासजस्तै
नौनीजस्तो मेरो मनलाई
जसले पायो, उसले छुन्छ
त्यसैले पनि
मन त फलामकै भए असल हुन्छ ।
००

 

मर्न सकूँ तिम्रा लागि

बल्ल आइपुगेको छु आमा !
तिम्रो न्यानो काख खोज्दै
माया देऊ –
मलाई मायाको भोग लागेको छ ।

हात चोबलेर पवित्र पानीमा बाग्मतीको
तिमीलाई फेरि कहिल्यै नछोड्ने किरिया खाइसकेको छु
मुट्ठीभित्र माटो लिएर पावन मातृभूमिको
मेरा अपराधहरूको प्रायश्चित गर्न लागिरहेको छु
यतिका दिनसम्म त्यसै भौँतारिँदै हिँडेँ वारिसविना
केवल दाँत ङिच्याउँदै अरूको भुकाइमा–थुकाइमा
तर आमा !
जहाँ थिएँ – म तिम्रै छोरो थिएँ ।
तिम्रै सौम्य अनुहार बसेको हुन्थ्यो मेरा यी आँखाभरि
तिम्रै रगत प्रवाहित थियो मुटुभरि, कलेजोभरि
तिम्रै गौरवगाथा व्याप्त थियो
मेरो उत्साहभरि, उमङ्गभरि !

बल्ल आमा !
तिमीलाई ‘आमा’ भन्न पाएको छु
करोडौँ तिम्रा ओजस्वी सन्तानहरूको लाममा
आफूलाई उभ्याएर
आकाशतिर दुई हात उचालिदिएको छु
रहर कुदिरहेको छ यी पाखुराहरूमा
केही गर्न सकूँ तिम्रा लागि
तिम्रो गौरव नै हाम्रो अस्तित्व आमा !
मर्न सकूँ तिम्रा लागि ।
००

 

यो जिन्दगी खै के जिन्दगी

यो जिन्दगी खै के जिन्दगी !

भित्रभित्रै खोक्रिएर बाहिर–बाहिर बाँचेको
एटमको त्रासले चुसेको
समस्याको भूतले सताएको
यो जिन्दगी खै के जिन्दगी !

बन्दुकको नालमा टाउको राखेर निदाउनुपर्छ यहाँ
खुकुरीको धारमा पाइला टेकेर जिउनुपर्छ यहाँ
आँखा चिम्लन पनि जग्जगी !
आँखा उघार्न पनि जग्जगी !
यो जिन्दगी खै के जिन्दगी !

पसलमा सोकेशभित्र सजाइराखेको
काँचको चुरोजस्तो यो जिन्दगी
कुनै युवतीको हातमा चढ्दाचढ्दै
प्याट्ट फुट्न सक्छ यो जिन्दगी
रबरका सस्ता चप्पलजस्तै यो जिन्दगी
बाटामा हिँड्दाहिँड्दै
च्याट्ट टुट्न सक्छ यो जिन्दगी
यो जिन्दगी खै के जिन्दगी !
००

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  ३ : ४५ बजे