मनसुन क्रमशः क्षीण हुँदै

ओलीविरुद्ध ‘भैँसी’ संवाद 

वर्षाले लमजुङका अधिकांश ग्रामीण सडक अवरुद्ध

लमजुङ । करोडौँ रुपैयाँ खर्चेर निर्माण गरिएका लमजुङका अधिकांश ग्रामीण सडक वर्षाले अवरुद्ध भएका छन् । 

केही दिनयताको वर्षा र त्यसपछि आएको खहरेले यहाँका सडक नै बगाएपछि यातायातका साधन चल्न छाडेका हुन् । 

सडक अवरुद्ध भएसँगै सदरमुकाम र गाउँबीचको सम्पर्क टुटेको छ भने यस्ता सडकमा सवारी सधान नचलाउन यातायात व्यवसायीले सूचना जारी गरेका छन् । व्यवसायीहरूले ग्राभेल गरेका सडकमा मात्रै यातायातका साधन सञ्चालन गर्न निर्देशन दिएका छन् ।

सदरमुकाम बेँसीसहरबाट पूर्वी क्षेत्रको तार्कुघाट, पश्चिम लमजुङको दुराडाँडा, कोइरालाफाँट, उत्तरी लमजुङको खुदी, भुलभुलेसम्म यातायात सेवा सञ्चालनमा रहे पनि अन्य सडकमा यातायात सेवा ठप्प जस्तै भएको लमजुङ कालीका यातायातका काउन्टर प्रमुख खुसीराम बरालले बताउनुभयो । उहाँले भन्नुभयो, “केही ग्रामीण क्षेत्रमा सञ्चालन भएका सवारीसाधन पनि सडक भत्किएका कारण गन्तव्य पुग्न कठिन छ ।”

यातायात समितिले कुनै पनि अप्रिय घटना हुन नदिन र सडकको अवस्थालाई ध्यान दिँदै फलेनी, ढोडेनी, पाचोक, नौथर, भलायखर्क, भोर्लेटार, गिलुङ, सालमेभञ्ज्याङ, भोजे, जिता, घेर्मु, स्यांगे, च्याम्चे, गाँउसहर, जगतलगायत  स्थानहरूमा यातायात सेवा बन्द गरेको लमजुङ कालिका यातायातका काउन्टर प्रमुख बरालले बताउनुभयो ।

कुल १ हजार ४ सय किलोमिटर मध्ये  दुई सय किलोमिटर सडकमा मात्रै सवारी साधन सञ्चालनमा
​​​​​​​पूर्वाधार विकास कार्यालयका प्रमुख सुमन गिरीले जिल्लाभर कुल १४ सय किलोमिटर ग्रामीण सडक निर्माण भए पनि मुस्किलले दुई सय किलोमिटर सडकमा मात्र गाडी चल्ने गरेको बताउनुभयो ।

“स्थानीयले सडकको अपनत्व नलिएसम्म ग्रामीण भेगका सडकको हालत उस्तै हुन्छ”,  उहाँले भन्नुभयो, “सबै ठाउँमा सरकारको मुख ताक्ने प्रचलनले बर्सेनि जनताले सडक सास्ती खेप्नुपरेको छ ।” उहाँका अनुसार जिल्लामा ३० किलोमिटर सडक मात्र कालोपत्रे छ बाँकी दुई सय २० किलोमिटर ग्राभेल गरिएको छ । 

करोडौँको लगानी बालुवामा पानी
हरेक वर्ष बेँसीसहर जोड्ने विभिन्न सडकको अवस्था नाजुक हुने गर्छ । 

गाउँपालिका र नगरपालिकाले सडक निर्माण र मर्मतका लागि करोडौँ बजेट विनियोजन गर्दै आए पनि सडक निर्माणपछि समयमा अनुगमन तथा निरीक्षण नहुँदा विकासे बजेट बालुवामा पानी खन्याए जस्तै भएको छ ।

“करोडौँ बजेट खन्याएर सडक बनाइन्छ तर सडक निर्माणसँगै नाला नकाट्दा बगाउने गर्छ ।”, काँग्रेस जिल्ला सभापति डा. टकराज गुरुङले भन्नुभयो, “स्थानीय तहले सडक निर्माण गर्ने ठेकेदारलाई सडक र नाला सँगसँगै निर्माण गर्न लगाउनुपर्छ ।”

 

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  १० : २८ बजे