‘एउटै नाउरको सिकार गर्न २३ लाख’

अनिश्चित बुईमा अडिएको स्वाभिमान !

मैले सुनेको हूँ
​​​​​​​स्वाभिमान दृढता हो 
स्वाभिमान नझुक्नु हो 
स्वाभिमान नचुक्नु हो
स्वाभिमान नटुट्नु हो
तर, यहाँ
झुकेर , चुकेर ,  टुटेर पनि
स्वाभिमान सर्लक्क छ
अखण्डित र अविच्छिन्न छ । 

 

मैले सुनेको हूँ
स्वाभिमान स्वातन्त्र्य हो 
स्वाभिमान स्वत्व हो 
स्वाभिमान स्वविचार हो
स्वाभिमान न आयात, न निर्यात हो
स्वाभिमान स्वच्छ हो 
स्वाभिमान स्वस्थ हो
आज, म देखिरहेछु
अर्कैको इसारा, बुद्धि र भरोसा 
अनिश्चित बुईमा अड्याइएको छ 
प्यारो स्वाभिमान  ।

स्वाभिमानको पाठ पढ्दापढ्दै
आफ्नै अवस्था यस्तो भो
सिङ्गै स्वाभिमान 
स्वाभिमानकै डोकोले छोपियो
देख्न त पाइएकै छ
तर, टाउको कच्रकिएको छ
​​​​​​टुलुटुलु हेर्दै टाउको निहुराउन
विवश भएको छ  
मेरो प्यारो स्वाभिमान ।

स्वाभिमानको नेलले 
फन्को मारेर जेलिएका गोडा
स्वाभिमानकै हत्कडीले 
बेह्रिएका दुवै हातमा
स्वाभिमानकै सिधा थाप्दै 
अलख् अलाप्दै
स्वाभिमानकै निस्तो – अलिनो फाँकहाल्दै
बाँच्न पाइएकै छ ! 
स्वाभिमानको जाप गर्दै
यसलाई सुरक्षित जोगाइएकै छ ।   

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  ९ : ४४ बजे