‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

भाषा संस्कृति र सभ्यता विकासको माध्यम 

संस्कृतको ‘भाष्’ धातुमा अङ् र टाप् प्रत्यय लागेर ‘भाषा’ शब्द बन्दछ, जसको अर्थ बोली वा वाणी भन्ने हुन्छ । नेपाली बृहत् शब्दकोशले मनका भाव वा विचार अरुछेउ प्रकट गर्ने सार्थक शब्द वा वाक्यहरूको समूह, आशय वा भाव व्यक्त गर्ने सार्थक ध्वनि समूह भन्ने उल्लेख गरेको छ । भाषा भनेको मानिसको मुखबाट निस्केको त्यो सार्थक ध्वनि हो, जसले अरू समक्ष आफ्ना भावहरूलाई पुर्‍याउने काम गर्दछ अथवा स्पष्ट रूपबाट भाव बताउँछ । भाषा विचार विनिमयको माध्यम हो, विचार आदान—प्रदानको माध्यम हो । 

यसको माध्यमबाट मानिसले आफ्ना विचारहरू अरूसमक्ष  पुर्‍याउँछ र आफूले अरूका विचारहरू ग्रहण गर्दछ । संस्कृति र सभ्यताको विकासमा भाषाको अहम् भूमिका रहेको हुन्छ । उदाहरणका लागि भन्नुपर्दा यसले ‘वसुधैवकुटुम्बकम्’ को उदात्त भावनालाई विश्वभर फैलाएर मानव समुदायलाई नजिक्याउने काम गर्दछ । नेपाली साहित्यमा नाट्यसम्राटको उपाधि पाएका कवि बालकृष्ढा समले लेख्नुभएको छ,  ‘भाषा हो सभ्यता हाम्रो  सारा उदय उन्नति, जीव वैभव भाषामै बाँच्दछन् पछिसम्म ती ।’

मातृभाषा केलाई भनिन्छ ?
​​​​​​​मातृभाषाको शाब्दिक अर्थ आमाबाट सिकेको भाषा हो । मानिसले धर्ती स्पर्श गरेपछि  उसको सबभन्दा पहिलो सम्पर्क आमासँग हुन्छ । त्यसपछि क्रमशः बाबु र घरका अन्य सदस्यहरूसँग हुँदै जान्छ । बालबालिकाले धेरै कुरा आमाबाट सिक्दछन् । त्यसैले मानिसको पहिलो गुरु आमालाई भनिएको हो । बालबालिकाले आमाबाट धेरै कुरा सिक्ने क्रममा सबैभन्दा पहिले भाषा सिक्दछन् । आमाको काखबाट सिकेको भाषा नै मातृभाषा हो । मनका भाव र विचारहरू सम्प्रेषण गर्नका लागि मातृभाषाबाट जति सजिलो अन्य भाषाबाट हुँदैन । मनका वेदना, पीडा र हर्ष प्रकट गर्नका लागि मातृभाषामा जस्तो स्वाभाविकता अन्यमा किमार्थ हुँदैन ।

मातृभाषा र पुर्ख्यौली भाषा:
मातृभाषा र पुर्ख्यौली भाषा एउटै हुन्छ भन्ने छैन । बाबुबाजेले बोल्ने भाषा मातृभाषा नभएका मानिसहरूको सङ्ख्या ठुलो छ । नेपालको हिमाली वा मध्य पहाडी भूभागमा बसोबास गर्ने विभिन्न समुदायको आ–आफ्नै मातृभाषा छ । 

जस्तै: नेवार, मगर, गुरुङ, तामाङ, भोटे, सेर्पा, राई (राईभित्र पनि धेरै भाषाहरू छन्) लिम्बू आदि । जब ती समुदायका मानिसहरू बसाइसराइ गरेर अन्य भूगोलमा जान्छन्, क्रमशः तिनीहरूको मातृभाषा परिवर्तन हुँदै जान्छ । नेवारी समुदाय पुर्ख्यौली थातथलो छोडेर सहरबाट गाउँ वा तराईतिर झर्‍यो भने उसको मातृभाषा पनि परिवर्तन हुन्छ । पहाडी भूभागका अन्य  जनजाति भनिनेहरू तराई झरेपछि उनीहरूका सन्तानको मातृभाषा पनि फेरिन्छ । यो धरातलीय यथार्थ हो ।

नेपालको राष्ट्रिय जनगणना २०७८, केन्द्रीय तथ्याङ्क विभागले गत २०७८ कात्तिक २५ देखि मङ्सिर ८ सम्म आयोजना गर्‍यो । त्यस बीचमा नागरिकको विवरण सङ्कलन गर्न गणकहरू घरघरमा गए । उनीहरूले नागरिकले भने अनुसारको विवरण लिएर गए । मेरो छिमेकमा दुई घर मगर र तीन घर नेवारी समुदायबाट हुनुहुन्छ । उहाँहरू कसैलाई पनि पुर्ख्यौली भाषा मगर र नेपाल भाषा (नेवारी) आउँदैन । उहाँहरूका घरपरिवारका कुनै पनि सदस्यले पुर्ख्यौली भाषा जान्नुहुन्न । बोल्न नजान्ने मात्र होइन, एउटा—दुई वटा शब्द पनि जान्नुहुन्न । दुवै समुदायका सदस्यहरूले आमाको काखबाट सिकेको भाषा राष्ट्रभाषा नेपाली हो । गणक समक्ष उहाँहरूले व्यक्तिगत र पारिवारिक विवरण बताइरहँदा म संयोगले त्यहाँ पुगेछु । जब भाषाको कुरो आयो, दुवैले आ–आफ्नो पुर्ख्यौली भाषा मगर र नेवारीलाई मातृभाषाको रूपमा  लेखाउनुभयो । जुन भाषा न आमालाई थाहा छ, न बाबुलाई र न परिवारका अन्य सदस्यलाई । यो देखेर म अचम्मित भएँ । तराईमा झरेका नब्बे प्रतिशत जनजातिका नेपालीहरूको पुर्ख्यौली भाषा जे भए पनि मातृभाषा चलनचल्तीको ‘नेपाली’ नै रहेको देखिन्छ ।

त्यसैले पुर्ख्यौली भाषा जे लेखे पनि आफूले जान्दै नजानेको भाषालाई मातृभाषाभन्दा आफैलाई ढाँटेको हुन्छ । हाम्रो समाजमा भाषासम्बन्धी यस्ता अलमल छन् । तर, मातृभाषा वा पुर्ख्यौली भाषाको विकासमा सकारात्मक ढङ्गले लाग्ने काम भने हुन सकेको छैन । बहुभाषिक र बहुसांस्कृतिक भनिएको देश र समाजमा भाषाहरू जोगिएर विकसित भए भने हाम्रो सभ्यता र संस्कृति विकासका लागि ठुलो र सकारात्मक उपलब्धि हुनेछ । भाषा संस्कृति लडाइँ झगडाको विषय नभई यी सभ्यता र संस्कृति विकास तथा मेलमिलापको माध्यम बन्नुपर्दछ । 

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  ८ : २६ बजे