‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

इही र बाह्रा : नेवार समुदायको मौलिक प्रचलन

नेवार समुदायका कन्याहरूलाई जन्मेको तीन वर्षदेखि सात वर्षभित्र बेल विवाह (इही) गरिदिने प्रचलन रहिआएको छ । यस कार्यमा दुई दिनसम्म पूजा, होम आदि यसको पहिलो दिन सूर्य देवताको र दोस्रो दिन तारादेवी माँको पूजा गरिन्छ । कन्यालाई दिनभरि उपवास गराइन्छ । बेल, वज्र, कलश आदिको पूजा गराइन्छ । 

प्रचलन अनुसार बेल विवाहका क्रममा ती कन्यालाई उभ्याइन्छ र एउटा डोरो शिरदेखि पाउसम्म बाह्र फन्का पारिन्छ र त्यसको मोटो डोरो बनाइन्छ । कन्यालाई आफ्ना बाबुको काखमा बसाली उनको हातमा बेल राखेर त्यही डोरोले बाँधिन्छ र पूजा गरी कन्यादान गरिन्छ । सो डोरो निकाली कन्यालाई लगाइदिइन्छ बेलसँग विवाह भएको मानिन्छ ।

यस कार्यमा नङ्छुवाउने, खुट्टामा अलः (रातो रङ) लगाइदिने, कन्याको खुट्टाले मास पिँध्ने आदि गरिन्छ । यसपछि अञ्जुलीभरि धान कन्याको हातमा पात दिइन्छ । यो तीन पटक दिइन्छ । यसलाई ढोगेर भाँडा वा कपडामा खन्याइन्छ । तेस्रो पटक दिँदा त्यसमा नयाँ लुगा राखिदिइन्छ । अनि घर लगिन्छ । घर लैजाँदा आँगन वा घरको ढोका अगाडि पाथीभरि धान राखी कन्यालाई दिएर मात्र घर भित्र्याइन्छ । 

नेवारी भाषा (नेपाल भाषा) मा ‘इ’ भनेको समय हो भने ‘ही’ भनेको रगत हो । यसलाई बुझ्दा रगतको समय अर्थात् रजस्वला हुनुअघिको समय हो भनेर बुझ्न सकिन्छ । रजस्वला हुनु पूर्व कन्याको पूजा गर्ने र बेलसँग विवाह गरिदिने प्रचलन नेवार समुदायमा प्रचलनमा छ । 

बाह्रा (गुफा) बस्ने 
​​​​​​​नेवार समुदायको अर्को मौलिक प्रचलन छ बाह्रा अर्थात् गुफा बस्ने । यस प्रचलनअनुसार सातदेखि १३ वर्षभित्र बिजोर उमेरमा कन्याहरूलाई (नेवारी भाषामा यस्तो कन्यालाई बाह्रमचा भनिन्छ) बाह्रा राखिन्छ । यसका लागि कन्याको चिना देखाई साइत जुराइन्छ । जुरेको साइतमा चोखोनितो गराई दही चिउरा खुवाएर कन्यालाई १२ दिनसम्म घाम नदेखिने कोठामा राखिन्छ । 

यसरी गुफा बसेका कन्याले पुरुषको मुख हेर्न हुँदैन । चार दिनसम्म नुन भएको खानेकुरा खान हुँदैन । १२ दिन सम्म ऐना हेर्न हुँदैन । चौथो दिन बिहानै (काग नकराउँदै) नुहाएर चोख्याइन्छ । यसपछि मात्र नुन भएको खानेकुरा खुवाइन्छ । त्यस दिन बाह्रा ख्या कपासको ख्याकको आकृति बनाई भित्तामा राखिन्छ । यसरी बाह्रा बसेका कन्याले अरुबेला लगाएको लुगा फेर्नुपर्छ र चोखो धोती लगाएर खाना खानुपर्छ । खाना खाँदा पनि खानुअघि आफूले जे खाइन्छ त्यसबाट बाह्रा ख्यालाई चढाउनु पर्दछ । खाना खाँदा लगाइएको धोती र अन्य कपडा छुट्टै चोखो राख्नुपर्छ । चौथो दिनलाई ‘क्वँ चीँक साएकिगु’ भनिन्छ । 

‘क्वँं’ भनेको गहुँ, चामल, मकै आदि राखेर बनाइने मिश्रण हो । यो मिश्रण हात, मुखमा दलिन्छ । यसो गर्नाले छाला नरम र गोरो हुन्छ । यस चौथो दिनदेखि बाह्रा बसेको कन्यालाई हेर्न, भेट्न आफन्तहरू आउने गर्दछन् । यसरी भेट्न आउनेहरूले मकै, चना, केराउ, बदाम, मटर कोसा, उखु, चिउरा, मिठाइ, फलफूल र बच्चाले खाने खानेकुरा ल्याउने गर्दछन् । यसरी ल्याउने गेडागुडीमा भटमास र फलमा केरा ल्याइँदैन । यसरी गरिने भेटघाटमा महिलाहरूको सहभागिता हुने गर्दछ ।

बाह्रा बस्ने कोठामा गट्टी, क्यारम, कान खाने पिच्चा आदि खेलहरू खेलेर रमाइलो गरिन्छ । यसरी हेर्ने, भेट्ने क्रम ११ दिनसम्म चल्दछ । यसरी हेर्न, भेट्न आउने पाहुनाहरूलाई दही र अमिलो (पाउँ) समेत खाना खुवाउनु पर्दछ । कोठाभित्र राखेका सामानहरू बाहिर ल्याउनुहुँदैन । केही गरी यस्ता नियमहरू पालना गर्नमा तलमाथि पर्न गयो भने बाह्रा बसेको कन्या बिरामी हुन्छन् भन्ने मान्यता रहिआएको छ । 

बाह्रा (गुफा बसेको) १२ औँ दिनमा एकाबिहानै (काग नकराउँदै) कन्यालाई नुहाइ, चोख्याइ दुलहीजस्तै सिँगारिन्छ । त्यस दिनको राम्रो साइत समय जुराएर टाउकोमा कपडाले छोपेर (घुम्टो ओढाएर) कोठाबाट बाहिर निकालिन्छ । घरको छतमा लगी सर्वप्रथम सूर्यको दर्शन र पूजा गराइन्छ । पूजा गरिसकेपछि कन्याको हातमा रहेको ‘ज्वालान्ह्याकँ सिन्हःमु’ अर्थात् (ज्वालान्ह्याकँ भनेको धातुको ऐना हो भने सिन्हःमु भनेको टीकादानी हो) ऐनामा अनुहार हेरेर टीकादानीमा रहेको अबिर सिउँदोमा लगाइन्छ र सूर्यसँग विवाह भएको मानिन्छ । कन्यालाई गणेश आदि देवताको दर्शन गराई पाहुनाहरूलाई भोज खुवाएपछि यो कार्य सम्पन्न हुन्छ । 

यी हाम्रा मौलिक परम्परा हुन् । यहाँ छोटकरीमा प्रस्तुत गरिएको छ । यस्ता मौलिकताभित्र रहेका वैज्ञानिक पक्षहरू खोज्नु, निरन्तरता दिनु, प्रचार गर्नु र विकास गर्दै लैजानुपर्छ भने हानिकारक पक्ष छन् भने सुधार गर्दै जानुपर्छ । 

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ९ : १७ बजे