‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

हाँसो : समृद्धिको सूचक

समृद्धिलाई केवल आर्थिक रूपमा मात्र नहेरी व्यक्तिको समग्र विकासका सन्दर्भमा हेरिनुपर्दछ । अझ कतिपयले त ‘विश्व खुसी सूचकाङ्क’ मा राम्रो मानिने देशनै समृद्ध देश हुन्’ भन्ने गरेको पाइन्छ । ‘वर्ल्ड हयाप्पिनेस रिपोर्ट– २०१८ अनुसार नेपाल १०१ औँ स्थानमा छ । १५६ देशमा गरिएको यस अध्ययन अनुसार भारत हामीभन्दा निकैपछि १३३ औँ स्थानमा छ  (वर्ल्ड हयाप्पिनेस रिपोर्ट, २०१८) । खुसीका निम्ति सबैले नमुनाका रूपमा लिने भुटान पनि नेपालभन्दा चार स्थान माथि अर्थात् ९७ मा छ ।

बैङ्कको खातामा भएको पैसाले मात्र जीवनमा खुसी नआउन सक्छ । किन कि, पैसाले घर किन्न सकिएला, परिवार किन्न सकिँदैन, राम्रो ओछ्यान किन्न सकिएला तर निन्द्रा किन्न सकिँदैन । सामान्य विकासभन्दा माथिको अवस्था हो समृद्धि, जहाँ मानिसहरू आफ्ना आधारभूत आवश्यकता सहजै परिपूर्ति गरी जीवनको मूल्य र आदर्श बुझी समाजको विकासमा अग्रसर हुन्छन् । समृद्ध समाजमा मानिसहरू खुसीयालीपूर्ण जीवन निर्वाह गर्छन् । 

कुनै पनि देश विकसित हुँदैमा समग्र जनता समृद्ध हुन्छन् नै भन्ने छैन । अमेरिका, बेलायत जस्ता धनी देशहरूमा पनि माग्नेहरूको सङ्ख्या अत्यधिक हुने गर्छ । ती देशहरूका जनताहरूमा पनि नैराश्यता व्याप्त हुने गर्छ । पेरु, ग्वाटेमाला जस्ता गरिब देशहरूका १ लाख जनतामा सरदर एक जनाले मात्र बर्सेनि आत्महत्या गर्छन् भने फ्रान्स, जापान जस्ता धनी देशहरूका १ लाख जनतामा सरदर २५ जनाले बर्सेनि आत्महत्या गर्ने गर्छन् । 

सन् १९८५ मा विपन्न अवस्थामा रहेको दक्षिण कोरियामा त्यस बेला १ लाखमा करिब ९ जनाले आत्महत्या गर्थे भने हाल यो सङ्ख्या बढेर ३० पुगेको छ (हरारी, २०१७) । विकास समतामूलक हुनुपर्छ, हरेक जनताले गौरव गर्न लायकको हुनुपर्छ । विकासलाई आम नागरिकको समृद्धि– तर्फ परिलक्षित गर्नुपर्दछ, अन्यथा विकासले भ्रम र गरिबी सिर्जना गर्न सक्छ । यसबाट नागरिकहरू झन् असुरक्षित महसुस गर्न सक्छन् ।

पैसाले घर किन्न सकिएला, परिवार किन्न सकिँदैन, राम्रो ओछ्यान किन्न सकिएला तर निन्द्रा किन्न सकिँदैन । सामान्य विकासभन्दा माथिको अवस्था हो समृद्धि, जहाँ मानिसहरू आफ्ना आधारभूत आवश्यकता सहजै परिपूर्ति गरी जीवनको मूल्य र आदर्श बुझी समाजको विकासमा अग्रसर हुन्छन् । समृद्ध समाजमा मानिसहरू खुसीयालीपूर्ण जीवन निर्वाह गर्छन् । 

कसरी हाँस्ने ?
​​​​​​​सयौँ वर्षको इतिहास र सात दशक लामो प्रजातान्त्रिक अभ्यासपछि पनि नेपालको समग्र अवस्था अझै कमजोर नै छ । हाम्रै अवस्था रहेका वा हामीसँगै विकास अभियान थालेका धेरै राष्ट्रहरू हामीभन्दा धेरै अघि पुगिसकेका छन् । विभिन्न सूचकहरूले हाम्रो अवस्था निकै कमजोर बताएका छन् । यस्तो अवस्थामा नारायण गोपालको गीत “आँखा छोपी नरोऊ भनी भन्नु पर्‍या छ, मुटुमाथि ढुङ्गा राखी हाँस्नु पर्‍या छ” सान्दर्भिक छ । संयुक्त राष्ट्रसङ्घले विकासका सन्दर्भमा ‘तिम्रो अवस्था केही सुधार भयो है’ भन्दा ‘हामी अझै कमजोर नै छौँ, त्यसो नभन्देऊ’ भन्ने अवस्था हाम्रो छ । 

वर्ल्ड इकोनोमिक फोरमको सहयोगमा तयार पारिएको एक प्रतिवेदन अनुसार इन्भारोन्मेन्ट पर्फमेन्स इन्डेक्स  – सन् २०१८ (वातावरणीय कार्यसम्पादन सूचक) ले अध्ययनमा संलग्न १८० देशमध्ये नेपालको अवस्था १७६ रहेको बताइयो, जुन अत्यन्तै लज्जास्पद हो । वर्ल्ड बैङ्कले निकाल्ने प्रतिवेदन लजिस्टिक पर्फमेन्स इन्डेक्स अनुसार सन् २०१८ मा १६० देशमध्ये नेपाल ११४ मा परेको छ । 

यस्तै, ट्रान्सपेरेन्सी इन्टरनेशनलले निकालेको करप्सन पर्सेप्सन इन्डेक्स २०१८ अनुसार नेपाल १७५ देशमध्ये १२२ मा पर्न गयो । वर्ल्ड इकोनोमिक फोरमले निकालेको ग्लोबल ह्यूमन क्यापिटल इन्डेक्स –२०१७ अनुसार १३० देशमध्ये नेपालको अवस्था ९८ मा रह्यो । वर्ल्ड इकोनोमिक फोरमले नै निकालेको ‘ग्लोबल कम्पिटिटिभ रिपोर्ट २०१८ अनुसार १३७ देशमध्ये नेपाल ८८ मा दर्जा भयो । 

यसैगरी १२६ देशलाई आधार मानी निकालिएको ग्लोबल इन्नोभेसन इन्डेक्स २०१८ मा नेपाल १०८ स्थानमा रह्यो । ‘वर्ल्ड प्रेस फ्रिड्म इन्डेक्स २०१८ मा १८० देशमध्ये नेपालको अवस्था १६० मा रह्यो । ‘इन्डेक्स अफ इकोनोमिक फोरम २०१६ अनुसार १७८ देशमध्ये १५२, इज अफ डुइङ्ग बिजनेस – २०१९ अनुसार १९० मा ११० र अत्यन्त कम प्रतिव्यक्ति गार्हस्थ्य उत्पादनको २०१६ को प्रतिवेदन अनुसार १८७ राष्ट्रमा नेपाल १६९ मा पर्न गयो । 

विभिन्न इन्डेक्सहरूमध्ये बढी प्रचलित ‘ह्युमन डेभ्लपमेन्ट इन्डेक्स – २०१७ अनुसार १८९ राष्ट्रहरूमध्ये नेपाल १४९ मा परेको छ । यस्तो अवस्थामा सचेत व्यक्तिहरूलाई हाँसो नआउन सक्छ, ऊ खुसी नहुन सक्छ । यस्तो अवस्थामा आउने हाँसो काल्पनिक वा व्यङ्ग्यात्मक हुन सक्छ । हाँसोको सम्बन्ध पनि हाम्रो मस्तिष्कमा हुन्छ, हाम्रो मन खुसी भए मस्तिष्कले हामीलाई हाँस्ने अनुमति दिन्छ । अन्यथा हामी निराश हुन सक्छौँ ।

हाँसो वा खुसीबारे गरिएका अनुसन्धानहरूले मानिस खुसी हुन धेरै कुराहरू मिल्नुपर्ने बताउँछन् । आफू आफ्नो जीवनप्रति कति सन्तुष्ट भइएको छ, त्यसैका आधारमा खुसीपनको निर्धारण हुन्छ । खुसीपनले समग्र शरीरलाई नै असर पर्छ । मनोविद्हरू भन्छन्, ‘हामी आफ्नो खुसीपनलाई आफैँ नियन्त्रण गर्न सक्छौँ ।’ ध्यान, सकारात्मक सोच, योग आदिका माध्यमबाट जीवनलाई खुसी बनाउन सकिन्छ भन्ने राय उनीहरूको छ । 

सन् १७२२ मा बेलायतका जोशेफ प्रिस्ट्लेले पत्ता लगाएको नाइट्रस अक्साइडले मान्छेलाई  कृत्रिम रूपमा हँसाउँछ । त्यसैले यसलाई ‘लाफिङ्ग ग्यास’ पनि भनिन्छ । सुरुमा एनेस्थेसियाको रूपमा प्रयोग गरिएको यो ग्यासको मात्रा शरीरमा बढी भए मानिसको मृत्यु सम्म हुनसक्छ । यसको नियन्त्रित प्रयोग गर्दा मानिसको मन हलका हुने, हँसाउने र दुःख कम हुने गर्छ र शरीरमा बढी हुँदा अक्सिजनको मात्रा कम गराउँछ । नाइट्रस अक्साइडले मस्तिष्कमा डोपामाइनको उत्सर्जनलाई बढाउँछ, जसको मुख्य काम मानिसलाई खुसी पार्नु हो । 

सबै कुरा भुलेर हाँस्दा माथि उद्धृत नारायण गोपालको गीत जस्तो हुन्छ । यहाँ शोकलाई शक्तिमा बदलौँ भन्ने भनाई बढी नै सान्दर्भिक होला । विश्वव्यापी सन्दर्भमा हाम्रो अवस्था निकै कमजोर भए तापनि सचेत व्यक्तिको निम्ति यो एउटा अवसर पनि हो । यस्तै अवस्था भएकोले केही राम्रा काम गरे त्यसको प्रतिफल तुरुन्तै देखिन थाल्नेछ र यी विश्व स्तरीय सूचकाङ्कमा हाम्रो स्तर पनि माथि उक्लन थाल्नेछ । यो क्रम बढ्दै गएपछि पीँधमा रहेको अहिलेको अवस्था माथि उक्लिन थाल्नेछ । क्रमिक रूपमा हामी पनि एउटा समृद्ध मुलुकका नागरिकका रूपमा आफ्नो पहिचान दिन थाल्नेछौँ । हराएको हाम्रो हाँसो बिस्तारै फर्किन सक्छ । 

संविधान सभाको तर्जुमापछि सन् २०१७ को अन्त्यमा भएको सङ्घीय संसद्को निर्वाचनमा ‘हाँस्न पाइने वा नपाइने’ भन्ने चुनावी मुद्दा नै बन्यो । यो छलफल अहिलेसम्म पनि जारी नै छ । समग्रमा राजनीति गर्नेहरू सबै जना हाँस्नू भन्ने नै चाहन्छन्, तर जनतालाई हाँस्न नदिने बाधाहरूलाई परास्त गर्नेतर्फ भने उनीहरूको ध्यान कमै जाने गर्छ । देशलाई समृद्ध बनाउन सक्ने हो भने पक्कै पनि सबै जनताको मुहारमा हाँसो आउनेछ । यसले हाम्रो खुसीको स्तरलाई पनि माथि उठाउँछ । 

निष्कर्ष
हाम्रो देशले त्यति महत्त्व नदिए पनि विश्वव्यापी रूपमा समृद्धि र विज्ञान तथा प्रविधि एक अर्काका परिपूरक रहँदै आएका छन् । सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा मार्फत देशलाई अघि बढाउने अठोट लिएको छ । जनताको चाहना समृद्धि हो, तर विज्ञान–प्रविधि तथा नवीन आविष्कारको प्राथमिकताविना यो सम्भव छैन । 

हामीलाई समृद्ध बन्न नदिने कारकहरू हामीभित्र नै छन् । गर्न चाहनेलाई रोक्ने कार्यमा हाम्रो नोकरशाही खप्पिस छ । निर्णय प्रक्रिया र बजेट निर्धारण गर्ने समूहको सोच अन्यत्रै छ । अधिकांश यस्तो समूह आफ्नै भलाई  र समृद्धिको निम्ति नै बढी चिन्तित रहन्छ । यो क्रम विगत कैयन दशकदेखि चलिआएको छ । यसलाई नतोडेसम्म समग्र जनताको समृद्धिको सपना समेत पूरा हुन सक्दैन । 

विश्वव्यापीकरणको उच्चतम अवस्थामा पुगिरहेको अहिलेको सन्दर्भमा अन्य देशहरू तथा त्यहाँ भएका काम तथा उपलब्धिहरूबाट सिक्दै हाम्रो आफ्नो अवस्थामा परिवर्तन ल्याउन सकिन्छ । समृद्धिको मुख्य उद्देश्य नागरिकको अनुहारमा हाँसो ल्याउनु हो, हाँसो छाउनु हो । कुनै पनि देश कति समृद्ध छ भन्ने कुरा त्यस देशका जनता कति खुसी छन् भन्नेबाट पुष्टि हुन्छ । 

प्रकाशित मिति : २३ असार २०७९, बिहिबार  ९ : ३४ बजे