‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

संगठनात्मक तथा आन्दोलनका क्षेत्रमा देखिने औपचारिकतावाद 

संगठनात्मक क्षेत्रमा देखिने औपचारिकवादलाई यदि समयमै समाप्त गरिएन भने त्यो संगठनकै समाप्तिको पूर्व सूचना पनि हुनसक्छ । त्यसलाई यसरी उल्लेख गर्न सकिन्छ:

(क) संगठनका रूपहरूको सामयिकताबारे कुनै ध्यान नदिने, कुनै एक परिस्थितिमा कनै खास ढंगले कायम गरिएको रूपप्रति सदा टाँसिइरहनु, त्यसको सार्थकता समाप्त भइसक्दा पनि र अझ थप बाधक भइसक्दा पनि ‘बिरालो बाँध्ने’ परम्पराका रूपमा त्यसलाई कायम राख्नु, प्रगतिको नयाँ सम्भावना र विडाहरूप्रति आँखा चिम्लनु वा मिति गुमाइसकका कुराको झमेलामा अल्झिएर नयाँ कुराप्रति समय नदिनु, संगठनात्मक क्षेत्रमा एक प्रकारको औपचारिकवाद हो । संगठनात्मक क्षेत्रमा यस्तो परम्परावादले मान्छेका आँखा छल्ने र औपचारिकता पूरा गर्नेबाहेक अरू केही काम गर्दैन ।

(ख) जनवादी पंक्तिका कुनै पनि संगठनहरू आन्दोलनका निम्ति हुन्, कामका निम्ति हुन् । तिनीहरू कामका निम्ति नैे बन्नु र कायम रहनपर्छ, केवल नामका निम्ति मात्र होइन । कुनै पनि संगठन वा समितिहरू त्यो क्षेत्र, तह वा फाँटका नेतृत्व हुन् । तिनीहरूले आफ्नो सम्बन्धित क्षेत्रको वास्तविक नेतृत्वका रुपमा आफूलाई स्थापित गर्नपर्छ । तर कुनै खास संगठन वा समितिमाथि नै अनुचित ढंगले आश्रित हुने, आफ्ना दायित्वहरूको जवाफदेही नबोक्ने, कामहरूप्रति रचनात्मक पहलकदमी नलिने, खटाएको बाहेक अरू काम नगर्ने, काममा लाभ–हानि वा गुण दोषहरूप्रति आफ्नो काँध नथाप्ने, आफ्नो क्षेत्रको कामलाई साँचो अर्थमा जीवनशील र गतिशील बनाउन प्रयत्न नगर्ने संगठनात्मक क्षेत्रमा देखापर्ने औपचारिकतावादको अर्काे लक्षण हो । कुनै संगठन वा समितिहरू सामयिक छन्, आवश्यक छन् र  तिनीहरूको अस्तित्वको औचित्य बाँकी छ भने तिनीहरूलाई वास्तविक नेतृत्वको तहमा उठाउने प्रयत्न गर्नैपर्छ ।

(ग) संगठन निर्माण गर्ने सवालमा राजनीतिक विचारधारात्मक कामको महत्वलाई प्राथमिकता नदिनु, राजनीतिक र विचारधाराको हिसाबले सुदृढ संगठन निर्माण गर्न जोड नदिन, केवल प्राविधिक हिसाबले मात्र संगठन वा समितिहरू थप्दै जानु, गुणमा नभएर केवल संख्यामा मात्र जोड दिँदै संगठनलाई सुदृढ र  व्यापक बनाएको दाबी गर्न यो पनि एक प्रकारको औपचारिकतावाद नै हो । राजनीति र विचारधारालाई मुख्य महत्व दिएर प्राविधिक पक्षमा पनि ध्यान दिनु, गणमा सुनिश्चितता बढाएर संख्या थप्दै जान प्रयत्न गर्नुपर्ने सही तरिकालाई ख्याल नगरेर संगठनात्मक काममा लाग्ने कुरा औपचारिकतावादी नै हुन्छ ।

(घ) समितिका मिटिङ्ग बैठकहरू नियमित रूपमा नगर्नु, ढिलो गरेर होस् वा छिटो–छिटो नै होस्, समस्या र कामको प्रक्रिया तथा क्रमसँग बैठकको कनै सम्बन्ध नदेखिनु, विगतमा लिइएका निर्णयहरूको कुनै समीक्षा नहुनु र तिनीहरु कार्यान्वित भए÷नभएकोप्रति कसेैको जस–अपजस वा उपलब्धि–कमजोरी नछुट्याउनु, जहिलेसुकै पनि उही वा उस्तै पुराना विषयसूची र पुराना कुराको आधारमा एउटै सियोमा घुमिरहनु, विनाविषय वा विनातयारी बैठक गर्नु वा बैठकमा सामयिक र अत्यावश्यक विषयहरू पनि नउठाउनु, निर्णय लिँदा वा निष्कर्ष निकाल्दा गम्भीरतापूर्वक छलफल नचलाउनु, जेसुकै निर्णय लिए पनि आफ्नो व्यवहारमा कुनै मतलब नराख्नु, स्वयम् समितिले पास गरको विचार, निर्णय वा आलोचनाप्रति समिति नै जवाफदेही नहुनु, केवल बैठकका निम्ति बैठक गर्नु, कामका निम्ति त्यसको आवश्यकताबोध नगर्नु र निर्णयहरूको अनुगमन नगर्नु औपचारिकतावादकै लक्षण हुन् । 

समितिका बैठकहरू नियमित हुनुपर्छ, तयारीका साथ गरिनुपर्छ र जवाफदेहीयुक्त हुनुपर्छ भन्ने कुराप्रति ख्याल नगर्दा कुनै पनि समिति वा बैठकहरू र कामहरू औपचारिक मात्र हुनेछन्, निरर्थक र व्यर्थ साबित हुनेछन् । 

(ङ) कुनै समितिका सदस्यहरू, आफ्नो समितिको बैठकमा उपस्थित हुनैपर्ने  आवश्यकताबोध गर्दैनन्, निजी कामबाट फुर्सद मिले मात्र बैठकमा आउँछन्, आएर पनि समय दिँदैनन्, केवल हाजिरी जनाएर ‘जे निर्णय हुन्छ म त छँदैछु  नि !’ भनेर विदा हुन्छन्, बैठकमा आउँदा पनि आफ्ना काम वा कार्यक्षेत्रको जवाफदेहीयुक्त रिपोर्ट, समस्या र विचारहरू ल्याउँदँैनन्, मातहतका समिति, कार्यकर्ता, सदस्य र आमजनताको स्थिति, विचार र समस्याहरू के छन् ?  संगठनका नीति, निर्देशन र निर्णय तथा कामहरूको व्यवहारिक परिणाम, नीतिगत प्रतिक्रिया र जनप्रतिक्रिया के छ भन्ने बारेमा  समितिलाई यथार्थ थाहा दिनुपर्ने जवाफदेही महसुस गर्दैनन्, जहिलेसुकैे पनि आपूmलाई के लागेको छ केवल आप्mनै विचार र विश्लेषण मात्र बताउँछन् भने त्यस्ता व्यक्तिहरूले समितिमा रहेर केवल औपचारिकतामात्र निभाइरहेका छन् । संगठनभित्र औपचारिकतावादलाई घुसाउँदैछन् र सिंगै संगठनलाई त्यसको दलदलमा फसाउने काम गरिरहेका छन् ।

(च) कुनै पनि काम वा कुराहरूप्रति गहिएर चासो नराख्नु, निष्ठापूर्वक नलाग्नु, अनुशासन र कर्तव्यप्रति फितलो  हुनु, सामाजिक  परिवर्तनका निम्ति भइरहेका आन्दोलनमा आफ्ना सबै किसिमका सम्भव योगदानहरूलाई नियमित  र अनुशासित नबनाउनु तर कुरामा भने हमेशा आफूलाई योग्य र अग्रपंक्तिको देखाउने प्रयत्न गर्नु, आफ्नो कार्यक्षेत्र र कामप्रति व्यक्तिगत रूपमा जावाफदेही महसुस नगर्नु, अरुले गरेको आलोचनालाई सजिलैसित स्वीकार त गर्नु, तर व्यवहारमा नसच्याउनु, आप्mना निजी व्यवहारका काम कुराहरूमा जस्तै मन दिएर, घोटिएर संगठन र आन्दोलनको क्षेत्रमा आफूले पाएको जिम्मा पूरा नगर्नु तर फेरि पनि आन्दोलन र संगठनसँग आफूलाई सम्बद्ध ठानी राख्नुजस्ता व्यक्तिगत रूपमा गैरजिम्मेवार कुराहरू पनि औपचारिकतावादकै कोटीबाट प्रस्तुत  भइरहेका छन् । 

(छ) आफ्ना निजी समस्या, सुविधा, हित र सुरक्षालाई प्राथमिकता दिएर त्यसमा बाधा नगर्ने हिसाबले मात्र कामको जिम्मा लिनु, कठीन र खतरा हुनसक्ने कामबाट पन्छिनु, आफ्नै समस्यालाई अरू कुनै कुराभन्दा पनि बढी ज्वलन्त देख्नु र तिनीहरूको विज्ञापन गरेर सहानुभूति, सहयोग वा सहुलियत प्राप्त गर्न खोज्नु तर आफूभित्रका आत्मरक्षा, सुविधावाद र पछौटे चिन्तनहरूलाई स्वीकार गर्न र सच्याउन प्रयत्न नगर्नु, आफूले गरेका सीमित काम र योगदानको बढी विज्ञापन गरेर त्यसैको छहारीमा कमजोरी लुकाउने र उत्तम क्रान्तिकारी देखाउने प्रयत्न गर्नेजस्ता प्रवृत्तिले औपचारिकतावादलाई नै बढावा दिने काम गर्छन् । मनमा लागेका कुराहरू सफा ढंगले फूलबुट्टा नभरी संगठनमा बताउने र संगठनले र समूहले गरेका फैसलाहरूप्रति निशर्त निष्ठा र लगन देखाउने व्यक्तिगत गुण कार्यकर्ताहरूमा पैदा भएनन् भने औपचारिकतावादलाई समाप्त गर्ने नारा र आह्वान एउटा मिथ्या कल्पना मात्रै हुन जानेछ ।

संघर्षको क्षेत्रमा औपचारिकतावाद
संघर्ष भनेको मान्छेका विचार, आशा र आवश्यकताहरू पूरा गर्ने प्रयत्नको व्यावहारिक अभिव्यक्ति हो । सामाजिक संघर्ष समाजका आशा र आवश्यकता पूरा गर्ने सामूहिक प्रयत्नको अभिव्यक्ति हो । आमजनताको चेतना र सामाजिक शक्ति सन्तुलनको ठोस स्थितिअनुरूप कुन बेलामा कस्ता प्रयत्न र कस्ता संघर्षहरू सञ्चालित गर्नुपर्छ भन्ने कुरा कसैको इच्छाले होइन, परिस्थितिले निक्र्योल गर्ने  कुरा हो । तर जुनसुकै बेलामा पनि आफूलाई मन परेको वा आफूलाई बढ्ता जानकारी भएको कुनै खास एउटा रूप लागू गर्न खोज्ने, त्यसप्रति भक्तिभाव प्रकट गर्ने वा अमूर्तरूपमा आपूmलाई संघर्षशील देखाउने तर चालू परिस्थितिका ठोस संघर्षहरूमा हार्दिक रूपमा संलग्न हुन नचाहने रूपमा यस क्षेत्रमा औपचारिकतावाद आमरूपमा व्यक्त भएको छ भन्न सकिन्छ ।

(क) केही मान्छेहरू जनतालाई बिउँझाउने प्रचार कार्यमा मेहनतपूर्वक लाग्दैनन् । विभिन्नखाले गलत विचारहरूका विरुद्ध वैचारिक संघर्ष चलाउन उत्साह देखाउँदैनन्, संगठनले गलत तत्व हुन् भनी चिन्हित गरिसकेका व्यक्तिहरूसँग पनि व्यक्तिगत सम्बन्ध उत्तिकै हार्दिक रूपमा कायम गर्ने प्रयत्न गर्छन्, संघर्षका तात्कालिक चालु रूपहरूप्रति तनमन दिएर संलग्न हुदैनन् । तर पनि आफूलाई संघर्षशील देखाउने निर्णायक संघर्षका ठूलाठूला गफहरू, बल प्रयोग र हिंसात्मक संघर्षका रूपहरूबारे उत्साहित भएर कुरा गर्छन्, क्रान्ति र हतियारका कुरा गर्छन् । यो एकप्रकारको औपचारिकतावाद हो । जुनबेला परिस्थितिले जस्तो काम गर्ने निम्तो र अनुमति दिएको छ, संगठनले जुन काम गर्ने फैसला गरेको छ र निर्देशन दिएको छ, त्यसमा तुरुन्तै उत्साह र संकल्पका साथ जुट्नेहरू नै साँचो अर्थमा संघर्षशील हुनसक्छन् । तर चालू काम कुरालाई महत्वहीन ठानेर त्यसबाट बच्नकै निम्ति ठूलाठूला गफ गर्नेहरू औपचारिकतावादको आश्रय लिइरहेका व्यक्तिहरू हुन् । यस्तो प्रवृत्तिको निन्दा भत्र्सना गरिनुपर्छ ।

(ख¬) सामाजिक परिवर्तनका निम्ति गरिने संघर्ष आमजनता सामेल भाएर गर्ने संघर्ष हो । एकाध व्यक्तिले मात्र गर्ने कुरा होइन । त्यसकारण एकाध मान्छेहरूको चेतना र चाहना के छ त्यसलाई विषय बनाएर संघर्ष चलाउन सकिन्न । आमजनताको बीचमा प्रष्ट आवश्यकताबोध भएका ठोस सवालहरूलाई विषय बनाएर तिनाहरूलाई हल गर्ने अनिवार्य उपायको रूपमा संघर्ष चलाउनुपर्छ । संगठन वा कार्यकर्ताहरूले जनतालाई समस्या, तिनाहरूको कारण, आवश्यकता र समाधानको निम्ति लिनुपर्ने राजनीतिक दृष्टिकोण एवम् बाटोका बारेमा सचेत बनाउनु मूल दायित्व हो । सचेत  जनताहरू कतिबेला कुन–कुन सवालमा कस्तो–कस्तो ढंगले संघर्षमा उत्रिन तयार हुन्छन्, त्यस्ता सवालहरुलाई विषय बनाएर संघर्षमा उतार्नुपर्छ । तर केवल सैद्धान्तिक, अर्मूत र कोरा विषयहरूको आधारमा त्यो केवल प्रचार संघर्ष हो वा तत्काल निर्णयमा पुग्न सकिने निर्णायक संघर्ष हो भन्ने कुरा प्रष्ट नपारी कृत्रिम संघर्ष पठाउने प्रयत्न गर्नु पनि एक प्रकारको औपचारिकतावाद नै हो ।

(ग) जनतालाई प्रत्यक्ष चासो नभएका वा परोक्षरूपमा जनतासँग सम्बन्धित भए पनि त्यससम्बन्धी चेतना नपाइसकेका जनताको बीचमा त्यस्ता सवालहरूलाई  विषय बनाएर आन्दोलनमा उतार्ने बलात् प्रयत्न गर्नु, एउटा क्षेत्रको विषयलाई लिएर अर्काे क्षेत्रमा, एउटा पेसा वा वर्गको सवाललाई लिएर अर्काे पेसा वा वर्गमा बलात् आन्दोलन उठाउने प्रयत्न गर्नु, औपचारिकतावादी तरिका हो । जबसम्म सबै क्षेत्र, सबै वर्ग र तहका जनताहरूलाई उन्नत वैचारिक चेतनाको आधारमा सचेत र गोलबन्द गर्न सकिन्न, तबसम्म यसरी बलात् थोपरिएका संघर्षहरूबाट हानि सिवाय लाभको आशा गर्न सकिन्न । त्यस्तो ठाउँमा केवल प्रचार र समर्थनको निम्ति विविध गतिविधि चलाउन सकिन्छ । यसरी जनताको प्रत्यक्ष चासो  नजगाइकन र प्रत्यक्ष सम्बन्ध उद्घाटित नगरिकन व्यापक संघर्ष उठाउने नाममा जबर्जस्ती संघर्ष गर्न खोज्नु पनि एक प्रकारको औपचारिकतावाद नै हो ।

(घ) कुनै खास सवालमा हड्ताल, जुलुस, विरोध प्रदर्शन वा सभाको आह्वान  र आयोजना गरिएको छ । तर त्यसलाई उच्चतम हदसम्म सफल बनाउनका निम्ति जनसमुदायबीच त्यसको प्रचार–प्रसार गरिन्न, प्रतिक्रियावादको पक्षबाट हुनसक्ने बाधा–विरोध र दमनको सम्भावनालाई पूर्वाअनुमान गरेर त्यस्तो परिस्थितिमा कार्यक्रम कसरी सफल बनाउने भन्नेबारे कुनै सोचाइ र तयारी हँदैन । आन्दोलन वा कार्यक्रमको आयोजना गर्यो र त्यसका निम्ति औपचारिक सूचना काट्यो, मान्छेहरू आउन् वा नआउन्, कार्यक्रम सफल होस् वा नहोस्, त्यसप्रति पनि उत्तरदायी नहुने तर केवल नामका निम्ति मात्र आयोजन गर्ने, भए वा नभए पनि पत्रपत्रिकाद्वारा प्रचारित गरेर केही गरेको रूपमा सन्तोष लिने यो प्रवृत्ति पनि औपचारिकतावादी प्रवृत्ति नै हो । अझ कतिपय अवसर र ठाउँबाट जनताबीच भन्दा पनि विरोधीहरूबीच बढी सूचना र प्रचार गर्ने अनि तिनीहरूको बाधा विरोधले कार्यक्रम हुन नसक्दा त्यही प्रचारित गरेर आफूलाई संघर्षशील रहेको देखाउन खोज्ने प्रवृत्ति औपचारिकतावादी नै हो । जुनसुकै पनि सार्वजनिक कार्यक्रम वा संघर्षहरू गम्भीरतापूर्वक सोचविचार गरेर आयोजना गरिनुपर्छ र तिनीहरूलाई सफल बनाउनका निम्ति उच्चतम हदसम्म तयारी गरिनुपर्छ, झारा टार्ने हिसाबले गर्नु औपचारिकतावाद हो ।

(ङ) कहिलेकाहींँ सामयिक विषय र ठीक समयमा संघर्ष सुरू हुँदैन, अनि कहिलेकाहीँ तात्कालिक संर्घषका निम्ति सान्दर्भिक र उपयुक्तभन्दा बढी मागहरू राखिन्छ । त्यसो नगर्दा जनताको तुरुन्तै धेरैभन्दा धेरै हित गर्न नचाहेको आउला वा मागहरू जति धेरै राख्यो, त्यति धेरै पाइन्छ भन्ने चिन्तन रहेको हुनसक्छ । अनि राखिएका धेरै वा सबै मागहरूमा अडान लिने प्रवृत्ति तयार हुन्छ । तर शक्ति सन्तुलन जनताको पक्षमा बढी नभएको बेला कुनै पनि सम्झौता त्यही आन्दोलनलाई अन्तिम सफलतासम्म प¥याउन गाह्रो हुन्छ । 

प्रतिक्रियावादीहरू भ्रान्ति फैलाउने, दमन गर्ने र त्यसबाट मात्र सम्भव नभए थोरैे कुरामा सम्झौता पनि गर्न प्रयत्न गर्नेजस्ता अनेकौं चालहरू प्रयोग गर्दछन् । तर यता संघर्षशील पक्षमा भने कहिल्यै, कुनै सम्झौता नगर्ने, मागिएका सबै सवालहरूको पूर्ण प्राप्ति नभएसम्म जस्तोसुकै स्थिति भए पनि संघर्ष जारी राख्ने अडान र प्रवृत्ति देखिन्छ । परिस्थिति र सम्भावनाहरूको उचित विश्लेषण नगरी लिइने निर्णय र अडान अन्तिममा औपचारिकतावादी नै हुन्छ । प्रतिक्रियावादले दमनलाई उचित देखाउने थप तर्क पाउँछ । दमनको प्रतिरोधद्वारा कडा जवाफ दिने शक्ति तयार भएको हुँदैन । 

स्वभावतः जनताहरू पछि हट्न थाल्छन्, संघर्ष विफल हुन्छ, र त्यसको नकारात्मक प्रभाव मात्र हुन्छ । जनवादी आन्दोलनका निम्ति शक्ति सन्तुलन जनताको पक्षमा निर्णायक बन्नुअघि संघर्ष र सम्झौता, आक्रमण र पछि हटाई  अनेकौँपटक सँंगसंँगै आइरहने विषयहरू हुन् । तर तिनीहरूबारे प्रष्ट नहुँदा आफूले बुझेजति सबै सवालमा संघर्ष उठाउन खोज्दा, सामयिकता लोक र ज्वलन्ततालाई अन्य कुराहरूबाट छुट्याउन नसक्दा तथा आमजनतालाई संघर्षमा उतारेर उपलब्धिरहित र अपमानपूर्वक बिसाउनुपर्दा त्यसको प्रभाव दूरगामीरूपमा नकारात्मक हुन्छ । यदि यो कुरा कारा आग्रह र केवल प्रतिष्ठाको कारणबाट भएको छ भने त्यो मात्र औपचारिकतावाद नै हुनजान्छ ।

(च) संघर्ष वा कुनै कार्यक्रमको आयोजना गरेर त्यसको समाप्तिपछि, सम्बन्धित नेतृत्वबाट त्यसको अविलम्ब समीक्षा गरिँदैन । त्यसका उपलब्धि वा क्षतिहरू गुण वा दोषहरू छट्याइदैन र भविष्यका निम्ति त्यसबाट शिक्षा लिइदैन । केवल मानसिक सान्त्वना र बाहिरी दुनियाँबाट हल्का लोकप्रियताकै निम्ति हमेशा एउटै चेतना, तरिका र योजनाको तहबाट आन्दोलनको आह्वान गरिन्छ भने त्यो पनि औपचारिकतावादी प्रवृत्ति नै हो । 

(छ) कतिपय मान्छेहरु सकेसम्म संघर्षमा प्रत्यक्ष सहभागी  नहुने, निहुँ बनाएर अनुपस्थित रहने, उपस्थिति हुँदा पनि व्यक्तिगत सुरक्षाको सुनिश्चितता खोज्ने, आफ्ना निजी सवालहरूमा संगठनबाट पूर्व प्रत्याभूति लिन खोज्नेजस्ता लक्षणहरू देखाउँछन्, तर शान्तिकालमा भने संघर्ष र प्रतिरोधका ठूलाठूला योजना र अभियानका गफ हाँक्छन् । 

यो समर्पित क्रान्तिकारी तरिका होइन, औपचारिकतावादी तरिका हो । सिद्धान्त, संगठन र संघर्षका क्षेत्रमा देखिएका  वा देखिन खोजेका औपचारिकतावादका यी केही लक्षणहरू मात्र हुन् । वास्तवमा औपचारिकतावाद अवसरवाद र विसर्जनवादको नै पूर्वस्वरूप हो, त्यत्तिकै गम्भीर र खतनाक कुरा हो र क्रान्तिकारी विचार र काममा दिलदेखि नै लाग्न नसक्ने र त्यसको प्रत्यक्ष रूपमा विरोध पनि गर्न नचाहने, बरु अरुका आँखा छलेर त्यसबाट केही निजी हित सम्पादन गर्न खोज्नेहरू जानीबुझी औपचारिकतावादलाई अपनाउँछन् । उनीहरू प्रत्यक्ष रूपमा संगठनका नीति निर्णयहरूलाई अस्वीकार गर्न पनि सक्दैनन् र आफ्नो मन खोल्न पनि सक्दैनन्, किनभने तिनिहरूका आफ्ना विचार केवल निजी हितको हिसाब–किताबबाट बनेका हुन्छन् । 

तर अन्जानमा नै औपचारिकतावादको शिकार भएकाहरूमा यो कुरा लागू हँदैन । उनीहरू आफ्ना कमजोरीलाई चिन्नेबित्तिकै दिलदेखिनै घृणा गर्छन् र जनताको समर्थनमा त्यसलाई अविलम्ब सच्याउँछन् । संघर्षले माथिल्लो चरणमा फड्को हान्ने पूर्व बेलामा संगठनले यस्तो ‘औपचारिकतावादलाई ध्वस्त पार्दै क्रान्तिकारी जनवादी शक्तिलाई सुदृढ बनाऔँ !’  भन्ने नाराको आमआह्वान अत्यन्त सामयिकरुपमा अघि सारेको हुन्छ । अब हेर्नुछ औपचारिकतावादलाई समाप्त पार्न क्रान्तिकारी जनवादी संगठन र व्यक्तिहरु कत्तिको तत्परतापूर्वक अघि सर्नेछन् ? सबै कुराको फैसला त्यसैबाट हुनेछ । 

(मदन भण्डारी, सङ्कलित रचनाहरू—२)

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ९ : ३३ बजे