‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

कष्टम हायरिङ : परिचय, अनुभव र सम्भावना

मैले यो कष्टम हायरिङ भन्ने शब्द सुनेको धेरै भएको छैन । सन् २०१९÷०२० तिर सुनेको हुँ । मैले थाहा पाए अनुसार कष्टम हायरिङको अर्थ कृषि कर्ममा आवश्यक पर्ने र किसानलाई चाहिने यन्त्र उपकरण भाडामा लिने दिने कार्यको नाम हो । 

हाम्रो जस्तो निर्वाहमुखी कृषि प्रणाली भएको देशमा व्यवसायीक कृषिमा रूपान्तरण गर्न कृषिलाई पेसाबाट व्यवसायमा बदल्न आवश्यक छ । व्यवसाय भनेको लगानी, उत्पादन र बजारसँग जोडिन्छ । लगानी अनुसारको उत्पादन भएर मूल्यमा परिणत हुँदा लगानी भएको भन्दा बढी हुनुपर्छ । व्यवसायमा लगानी भएपछि नाफा घाटाको हिसाब हुन्छ । नाफा भए व्यवसायले निरन्तरता पाउँछ र लगातार घाटा भए व्यवसाय बन्द हुन्छ । तर निर्वाहमुखी कृषिमा नाफा घाटाको कुरा हुँदैन, लगानीको हिसाब हुँदैन । आफूले श्रम गर्ने हो आफैलाई चाहिने र उपभोग गर्ने गरी उत्पादन गर्ने हो । 

बारीमा भएका तरकारी र फलफूल, खेतबाट आउने अन्न, गोठमा भएका गाई भैँसी र तिनबाट आउने दूध मल बाछा बाछी पाडा पाडी, टाट्नामा भएका खसी बाख्रा, खोरमा भएका सुँगुर बङ्गुर सबै आफ्नै उपभोगका लागि हो । आफैmले उत्पादन गर्न नसक्ने थोरै बस्तुका लागि मात्रै बजार र पैसा चाहिने हो । 

समाज रूपान्तरण हुँदै जाँदा बजारको महत्त्व बढेको छ । उत्पादित बस्तु बजारसँग जोडिन पुगेको छ । यस्ता बस्तुमा उत्पादन लागतको हिसाब हुने र त्यसले बजारमा पाउने मूल्यसँग सम्बन्ध गाँस्न पुगेको छ । मानिसलाई बाच्नका लागि चाहिने खाद्यान्न तरकारी, फलफूल, माछा मासु, दूध आदि आदि आफैले उत्पादन गर्नुपर्छ भन्ने रहेन । बजारमा यो सबै रोजिरोजी पाइन्छ ।

विकसित समाजमा कृषि व्यवसाय त भयो नै सँगसँगै यो व्यवसायमा धेरै मानिस छैनन् । थोरैले काम गरेर पनि धेरैलाई खान पुग्ने गरी उत्पादन गर्छन् तर हाम्रो पछौटे समाजमा धेरैले कृषिमा काम गरेर पनि देशलाई चाहिने खाद्यान्न, तरकारी, फलफूल, माछा मासु उत्पादन गरिरहेका छैनौँ । यसको कारण भनेको कृषिमा उत्पादन लागत बढी हुनु हो । कृषि व्यवसायभन्दा धेरै पेसा भएर हो । 

कृषिमा उत्पादन लागत कम गर्न विकसित देशले अनेक उपाय अपनाएका छन् । हामीले पनि त्यसको सिको गर्नुपर्छ । उत्पादन लागत बढी हुनुको कारण कृषिमा काम गर्ने जनशक्तिको अभाव र श्रमको मूल्य बढी हुनु पनि हो । श्रमको मूल्य कम गरेर, बढीभन्दा बढी उत्पादन गरेर र उत्पादित बस्तुलाई बजारसँग जोडेर कृषिलाई व्यवसायीक बनाउन सकिन्छ । 

श्रमको मूल्य कम गर्न कृषि औजार र यन्त्र उपकरणको प्रयोग गर्नुपर्‍यो । सामान्य किसानले यस्ता यन्त्र उपकरण किन्न र चलाउन सक्तैनन् । किनकि यसको लागत बढी हुन्छ । चलाउने सिप चाहिन्छ । बिग्रेमा मर्मत गर्नुपर्छ । यो काम सामान्य र साना साना किसानको बसमा छैन । नेपालमा साना किसानको सङ्ख्या धेरै छ । ठुला किसान हुनलाई नेपालको भूमि ऐन बाधक छ । तराईमा ११ विघा र पहाडमा ७० रोपनीभन्दा बढी जग्गा एउटा परिवारले राख्न पाइँदैन । 

अनुभव:
​​​​​​​ नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले चौथो व्यवसायको रूपमा एकीकृत नमुना कृषि फार्म सञ्चालन गर्न थालेपछि कृषिमा उत्पादन लागत कम गर्न सिक्ने र सदस्यलाई सिकाउने काम जारी छ । यही क्रममा संस्थाले केही कृषि यन्त्रको खरिद र प्रयोग सुरु गर्‍यौँ । यो नमुना कृषि फार्मको उद्देश्य नै आफैmले प्रयोग गरेर सिक्ने र सिकेको कुरा कृषि कर्ममा लागेका र लाग्न चाहने किसान सदस्यलाई सहयोग गर्नु थियो र छ ।  

२०७५ साल मङ्सिरमा दुई थान साधारण हाते स्प्रे ट्याङ्की (हजार रुपियाँ गोटाका) किनेर भाडामा लाउने कामको सुरुआत गर्‍यौँ । यही वर्ष आफ्नो प्रयोजनका लागि एउटा ट्याक्टर किन्यौँ । २०७५ सालको हिउँदमा चितवनमा हुने कृषि यन्त्र उपकरणको मेला हेर्न गयौँ । यही हेरेका भरमा एक थान सिड ड्रिल मेशिन एक लाख साठी हजारमा किनेर पहिला आफैले प्रयोग गर्‍यौँ र सिकाइमा सफल भएपछि अरूलाई भाडामा दिन थाल्यौँ । यो मेशिनले ट्याक्टरको सहायताले मकै रोप्ने काम गर्‍यो । २०७६ असोज अन्तिम तिर धान काट्ने हाते रिपर १ लाख ६० हजारमा किनेर भाडामा लाउन सुरु गर्‍यौँ । प्रतिघण्टा आठ सयका दरले भाडामा लगाउँदा किसानलाई निकै फाइदा भएको पायौँ । किसानबाट धेरै माग भएकाले तुरुन्तै अर्को किनेर दुई थान रिपरले सेवा दिन थाल्यौँ । यो काम करिब ४० दिन जति मात्रै चल्छ । त्यसपछि धान काट्ने कामै सकिन्छ । यो रिपर सानो र एक ठाउँबाट अर्को ठाउँमा लान ल्याउन गाडी नै चाहिन्छ । गाडीमा हालेर खेतसम्म पुर्‍याएपछि बोकेर ओराल्ने र दुई जनाले पालो गरेर धान काट्ने गरेका थिए । 

पहिलो पटक भएकाले चलाउन जान्ने मानिस आफैmले विकास गर्नु थियो, गयौँ । सानोतिनो खराब हुँदा पनि मेकानिक बोलाउनुपर्ने, भनेको बेला नआइदिने । यस्ता अनेक समस्या झेल्यौँ । यो कामबाट नाफा त थिएन । किनकि मेशिनमा भएको लगानी, इन्धन खर्च, दुई जनाको पारिश्रमिक, मेसिन खेतसम्म लान ल्याउन अर्को गाडीको प्रयोग गर्नुपर्ने, सानोतिनो खराबीमा पनि पटक पटक मेकानिक बोलाउनुपर्ने र वर्षभरिमा जम्मा ४० दिन जति मात्रै काम हुने । तर, यो सेवाले किसान खुसी भए र उनीहरूको लागत कम भयो । यो देखेर हामी उत्साहित र खुसी भयौँ । २०७६ सालमा पनि चितवनमा लागेको कृषि यान्त्रीकरण मेला हेर्न गयौँ । 

२०७७ असोजमा धान काट्नका लागि ट्याक्टरमा जोडने रिपर किन्यौँ । यसको सफल प्रयोग यो क्षेत्रमा खासै भएको थिएन । रिपर ट्याक्टरमा जोडेर धान काट्न जाँदा केही समस्या आएर किनेको पसलमा रिपर जोडिएको ट्याक्टर लिएर पुग्दा त्यहाँ अरूले लगेको रिपर चलाउन नसक्ने भएर फिर्ता गर्न ल्याएका रहेछन् । बिक्रेताले खासै समाधान गर्न सकेनछन् । बरु तिनले रिपर फिर्ता लिइदिएछन् । त्यो देखेर हाम्रा साथीहरू अलि निराश हुनुभएछ । फोन गर्नुभयो । के भएर चलाउन सक्नुभएन छ, सोध्नुहोस्, सिक्नुहोस् र त्यो समस्याको समाधान गरौँ भने । किनकि हामीले नै गर्न नसके अरूले झन् गर्दैनन् । त्यसैले हामी पछि हट्नु हुँदैन थियो । उहाँहरूले त्यसै गर्नुभयो । समस्याका बारेमा बुझेपछि नजिकैको ग्यारेजमा गएर थोरै सेटिङ बदलेर आउनुभयो । त्यसपछि राम्ररी चलेको छ । यो ठुलो रिपरले किसानलाई निकै राहत भएको महसुस गर्‍यौँ । किसान खुसी थिए । उनीहरूको लागत कम हुँदै थियो ।  यो अवधिमा हामीले कष्टम हायरिङको बारेमा जानकारी लिन थाल्यौँ । सिमिट (अस्ट्रेलियन सहयोगमा सञ्चालित आइएनजिओ)को सहयोग र प्रदेश–१ सरकारको सहजिकरणमा पश्चिम बङ्गालको कुचविहारमा त्यहाँको स्थानीय सतिस क्लबबाट सञ्चालित कष्टम हायरिङ सेवा हेर्न पुग्यौँ । चितवनमा भएका कृषि यन्त्रिकरण मेला हेर्न छुटाएनौँ । यसमा प्रदेश सरकारका तत्कालीन अधिकृत कृषि विज्ञ डा.राजेन्द्र उप्रेतीको प्रेरणा निकै प्रशंसनीय छ । 

कष्टम हायरिङ सेवा सञ्चालन गर्न प्रदेश सरकारले रु.१ करोड अनुदान दिने भयो । यसका लागि संस्थाले पनि त्यति नै पैसा लगाउनुपर्ने भयो । हामीले यसमा जोखिम लिएरै भए पनि लगानी गर्ने निर्णय गर्‍यौँ । कोरोनाको कारण समयमा काम गर्न र सक्न निकै सकस भयो । तर पनि २०७८ असारसम्म आइपुग्दा दुई करोडभन्दा बढी मूल्यका विभिन्न यन्त्र उपकरण किन्यौँ । सुरक्षित राख्ने गरी सेडको निर्माण गर्‍यौँ । सञ्चालन गर्न चाहिने जनशक्तिको अभाव हुने नै भयो । सिक्ने र सिकाउने काम निरन्तर जारी छ । 

२०७८ सालको हिउँद लागेपछि थपिएका मेसिनको उपयोग बढ्न थाल्यो । सिक्ने र सिकाउने काम निरन्तर चलिरहेको छ । मेसिनको प्रयोगले कृषिमा उत्पादन लागत कम हुने र कृषि श्रमिकको अभाव पनि झेल्नु नपर्ने भएकाले किसान खुसी भएको पाएका छौँ । चैते धान रोप्नका लागि बिउ राख्ने र राइसट्रान्स प्लाण्टरबाट ट्रायल गर्ने काम गर्‍यौँ । यो हेर्न धेरै मानिसलाई बोलाएका थियौँ, आए पनि । हिउँदमा कम्बाइन हार्वेस्टरबाट धान काट्ने काम सफलता पूर्वक गर्‍यौँ । खेत जोत्न, मकै रोप्न, धान र गहुँ काट्न : धान, मकै, गहुँ, तोरी थ्रेसिङ गर्न हाम्रा मेसिनहरू निकै व्यस्त भए । यही बिचमा भाडामा खेत जोत्न प्रयोग हुने निजी ट्याक्टर मालिकहरूले एनएमसीले सस्तोमा खेत जोतिदिएको र आफ्नो पेसा धरापमा परेको भनेर वडामा उजुरी दिएछन् । वडाले बोलायो, गयौँ । छलफल भयो । हामीले किसानको अवस्थाको कुरा गर्‍यौँ । किसानको हित कसरी गर्न सकिन्छ भनेर छलफल चलायौँ । उत्पादनको लागत मूल्य कम गर्ने अभियानमा छौँ भनेपछि वडाले मूल्य बढाउनु भन्न सकेन । छलफल विना निष्कर्ष टुङ्गियो । 

२०७९ जेठ महिनामा किसान आएर यसपालिको धान मेसिनबाट रोप्ने भने । हामी उत्साहित भयौँ । लागत कम गर्न कोसिस गरेका छौँ । किसानको डिमाण्ड धेरै नै आएकाले यो पटक धेरै गर्न सकिँदैन अर्को सालबाट गरौँला भन्नुपरेको अवस्था छ । बुकिङ लिन बन्द गर्‍यौँ । 

मोरङको कानेपोखरी गाउँपालिकामा ५ बिगाहा जमिन भाडामा लिएर कृषि फार्म सुरु गर्‍यौँ। यहाँ पनि कष्टम हायरिङ सेवा दिने भनेर चेनवाला कम्वाइन हार्वेस्टर धान काट्नका लागि पठायौँ । हाम्रो सेवा र सेवाको मूल्य थाहा पाएर किसान एकदमै उत्साहित भएका छन् । एउटा मात्रै मेसिनले सेवा दिन हम्मे हम्मे परेको छ । बढी समय काम गरेर भए पनि अधिक सेवा दिने प्रयास गरिएको छ । यसले किसानको कामलाई निकै सजिलो बनाएको अनुभूति हामीलाई पनि भएको छ । हामी एकदमै खुसी छौँ । यद्यपि लगानीका हिसाबले मेसिनको भाडाबाट आउने रकमले सन्तुष्टि हुन सकिँदैन । त्यसैले निजी क्षेत्रले यस्ता मेशिन किनेर भाडामा लाउने काम हत्तपत्त गर्दैनन् । साना किसानले आफै  किनेर प्रयोग गर्न सक्तैनन् । 

निष्कर्ष:
नेपालमा कृषिको व्यवसायिकिकरण आवश्यक छ, यो सम्भव पनि छ । यसका लागि अरू धेरै काम गर्नुपर्छ । त्यसका अतिरिक्त तराईका पालिका पालिकामा कष्टम हायरिङ सेवा सञ्चालन गर्नुपर्छ । यस्ता कष्टम हायरिङ सेण्टर सञ्चालन गर्न सहकारी नै सबैभन्दा राम्रो विकल्प हुन् । यसका अतिरिक्त किसानको हितमा काम गर्न चाहने सामाजिक सङ्घ संस्थाले पनि गर्न सक्छन् । आँट गर्ने र राम्रो व्यवस्थापन गर्न सक्ने पालिकाहरूले पनि यो काम गर्न र किसानलाई सहयोग गर्न सक्छन् । यति हो यसमा तिनै तहका सरकारको यथेष्ट सहयोग र अनुदानको आवश्यकता पर्छ । अन्यथा उत्पादन बढाउने कुरा मन्त्रीहरूका बजेट भाषणमा सीमित हुनेछन् । 

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ११ : ०१ बजे