‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

एमाले नेता कार्यकर्ताका नाममा

२०७४ को निर्वाचनमा ऐतिहासिक जित हासिल गरेर झन्डै दुई तिहाइ बहुमतको सरकार बनाएको र ६ प्रदेश र ४ सयभन्दा बढी स्थानीय तहको नेतृत्व लिएको नेकपा एमालेले (पछिल्लो केही समय नेकपा) २०७९ को स्थानीय तहको निर्वाचनमा देखिएको अनपेक्षित परिणाम भोग्न पुग्यो । 

स्थानीय तह निर्वाचनमा देखिएको देशव्यापी उत्साह, पार्टी समर्थन र विशेष गरी अध्यक्ष के पी ओली प्रतिको आकर्षण र गठबन्धनप्रतिको मोहभंगका कारण नेकपा एमालेले करिब २८० भन्दा बढी स्थानीय तहमा निर्वाचित हुने अपेक्षा गरिएको थियो । तर, निर्वाचनका पूर्वानुमान र गठबन्धनमा देखिएको विशेष गरी काँग्रेस माओवादीको कार्यगत तालमेलमा देखिएको एकरूपताले उक्त अपेक्षामाथि आघात पुगेको छ । 

अनपेक्षित परिणामका कारण निर्वाचनको परिणाम, कारण र आगामी निर्वाचनका सन्दर्भमा नेकपा एमालेको केही नेता कार्यकर्ताहरूमा विभिन्न भड्कावहरू देखिएका छन् । यसै भड्कावमा खेल्दै एमाले भित्रका गैर एमाले घनश्याम भुषाल र अस्थिरताका खेलाडी माओवादी अध्यक्ष प्रचण्डले एमालेको अनपेक्षित परिणाममाथि दाउ खेल्ने प्रयत्न गरिरहेका छन् । यदि नेकपा एमालेका नेता कार्यकर्ताहरूले संयम अपनाएर, विवेकशील भएर, राजनीतिक विश्लेषण र सुझबुझसहित सुविचारित निष्कर्ष ननिकाल्ने हो र लहर र मिडियाबाट प्रभावित निष्कर्ष र व्यवहार गर्ने हो भने दुर्घटनाको बाटो पक्रन सक्दछन् । तसर्थ एमाले नेता कार्यकर्ताका नाममा यो लेख लेखिएको छ ।

स्थानीय तह निर्वाचनको सन्देश के हो ?
भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनका सन्दर्भमा मूलधारका मिडिया र बुर्जुवा बजारमा रहेका वैतनिक विश्लेषक र लेखकहरूको सन्देश र निष्कर्ष दिग्भ्रमित गर्ने खालको पाइन्छ, जसबाट एमालेका नेता कार्यकर्ता पनि प्रभावित भइरहेका छन् । स्थानीय तह निर्वाचनको सन्दर्भमा लेखिएका मुख्य निष्कर्षहरू निम्न छन्:

  • एमालेले पहिलो र ठुलो दल हुने मौका चुकाएको छ । काँग्रेस पहिलो दल बनेको छ । माओवादीले अनपेक्षित आकार सुरक्षित गरेको छ । 
  • एमालेको अनपेक्षित परिणामका मूल कारक यसका अध्यक्ष के पी ओलीको कार्यशैली र व्यवहार हो । वाम एकता भङ्ग गर्नुको परिणाम हो । माधव नेपाल र प्रचण्डहरूप्रति असहिष्णु हुनुको परिणाम हो । 
  • एमालेभित्र अन्तर्घातको रोग पसिसकेको छ । अब यो रोग गम्भीर भएको छ र आगामी निर्वाचनमा पनि देख्न सकिन्छ । 
  • स्वतन्त्र उम्मेदवारहरू दलीय व्यवस्थाको विकल्पको रूपमा उभिएका छन् । आगामी निर्वाचनमा झन् बलियो हुनेछन् । 
  • गठबन्धनकै कारण देउवा सफल भए र गठबन्धन जुनसुकै हालतमा पनि निरन्तर रहन्छ र सत्तामा भएकाले निर्वाचनलाई प्रभावित पार्दछन् । 
  • एमालेले वाम एकताको पहल अघि बढाउनै पर्छ, नत्र आगामी निर्वाचनबाट सरकार बनाउन सकिँदैन । 

माथि उल्लेखित निष्कर्षहरूलाई आम रूपमा चर्चा गरिएको छ र सिङ्गो राजनीतिक बहसलाई मार्गविचलित बनाउने प्रयत्न भएको छ । माथिका निष्कर्षहरू देखिएका सतहका स्वरूपहरू हुन सक्छन्, तर यथार्थतामा त्यस्तो होइन र छैन । यसका केही यथार्थतातर्फ तल ध्यानाकर्षण गरिएको छ:

१. स्थानीय तह निर्वाचन २०७९ मूलतः दुई पक्षीय भिडन्तको रूपमा रहेको थियो । जहाँ काँग्रेस लगायत पाँच दलीय गठबन्धन एकतर्फ र एमाले एक्लै अर्कोतर्फ प्रतिस्पर्धामा रहेको थियो । जहाँ गठबन्धनका साझा उम्मेदवार थिएनन्, त्यहाँ उम्मेदवार भएका नेकपा एस र माओवादी केन्द्रका उम्मेदवारी जित्नका लागि नभई एमाले हराउनका लागि थियो, यस अर्थमा एक्ला एक्लै उम्मेदवारी पनि गठबन्धनको अर्को स्वरूप थियो । यस अर्थमा एमालेले विजय हासिल गरेको २०५ प्रमुख अध्यक्षसहित ११ हजार ८९६ स्थानीय तह जनप्रतिनिधिले प्राप्त गरेको पपुलर मत एक्लै एमालेको पक्षमा उभिएको मत हो । तर काँग्रेसले प्राप्त गरेको ३२९ प्रमुख अध्यक्ष सहित १३ हजार ७५८ जनप्रतिनिधि तथा नेकपा माओवादी केन्द्रले विजय गरेको १२१ प्रमुख अध्यक्ष सहित ५ हजार ४५ स्थानीय जनप्रतिनिधि उनीहरूको गठबन्धनको साझा उपलब्धि मात्र हो, यसले काँग्रेस र माओवादीको सङ्गठनको धरातलीय अवस्था प्रतिबिम्बन गर्न सक्दैन । यस अर्थमा काँग्रेस गठबन्धनको तर्फबाट पहिलो दल हो, माओवादी दोस्रो दल हो । तर नेकपा एमाले एक्लै पहिलो राष्ट्रिय शक्ति हो । एमालेका नेता कार्यकर्ताले यस सत्यलाई आम कार्यकर्ता, सदस्य र जनतामाझ स्थापित गर्न जरुरी छ । न कि गठबन्धनको विजयलाई हारको रूपमा स्वीकार गर्दै निराश भएर बस्न । यसै बलका आधारमा स्थानीय तहमा रचनात्मक प्रतिपक्ष, सशक्त पहरेदार र जनजीविकाका प्रवक्ताका रूपमा आफ्नो भूमिका स्थापित गर्न जरुरी छ । आफूलाई मतदान गर्ने मतदाताप्रतिको दायित्व विजयी हुँदा वा नहुँदा दुवै अवस्थामा उत्तिकै जिम्मेवारी र सक्रियताका साथ निर्वाह गर्नु नै सही राजनीतिक नेतृत्व हो । 

२. नेकपा एमाले भित्रैका बौद्धिक भनिने मार्क्सवादी व्याख्याता मान्ने र प्राविधिक पारदर्शिता र नैतिकताका चर्चा गर्ने केही बुज्रुकहरू निर्वाचनको समीक्षा गरिरहँदा परिणामको दोष मूलतः नेतृत्वलाई दिएर सिङ्गो निर्वाचन प्रक्रियामा रहेका कमी—कमजोरीहरूबाट ध्यान हटाउन प्रयत्नशील रहेका छन् । जिल्लामा जिल्ला अध्यक्षको भूमिका, प्रदेशमा प्रदेशका नेतृत्व र अध्यक्षको भूमिका र केन्द्रमा केन्द्रीय अध्यक्षको, समग्रमा के पी ओली र के पी ओली समर्थकहरूलाई यसै अवसरमा तह लगाउन प्राविधिक रूपमा जिम्मेवारी र नैतिकताका प्रश्न उठाउने गरिएको छ । माथिबाट उम्मेदवार पठाएपछि चुनाव हार्ने त निश्चितै थियो नि भन्ने अभिव्यक्ति माथिलाई प्रश्न गर्दै असफल पात्रको रूपमा चिनाउन गरिएको सुनियोजित षड्यन्त्र हो । एमालेले टिकट वितरणमा अपनाएको प्रणालीमा तल्लो तहका कमिटीहरूबाट एक महिलासहित ३ जनाको नाम सिफारिस गर्ने र सोही सिफारिसमा आधारित भएर अख्तियार प्राप्त कमिटीले निर्णय गर्ने व्यवस्था रहेको थियो । फर्केर हेरौँ, के सिफारिस गर्ने कमिटीहरूले एक महिलासहित ३ जनाको मात्र नाम सिफारिस गरे ? सिफारिस हुने नामावलीलाई सीमित गर्न नसक्नु वा हुन नदिनुमा को को जिम्मेवार छन् ? के अख्तियार प्राप्त कमिटीले सिफारिस भएका भन्दा बाहिरबाट उम्मेदवार चयन गरेको छ ? यदि यी प्रश्नका उत्तर नकारात्मक छन् भने सिफारिस सङ्ख्या सीमित हुन नदिने, निर्वाचनमा असहयोग गर्ने र परिचालित नहुने र परिणामको दोष नेतृत्वमा थोपर्ने कार्य शृङ्खलाबद्ध षड्यन्त्र होइन भन्न सकिन्छ र ? यो षड्यन्त्रप्रति समयमै सचेत हुन जरुरी छ र नेतृत्वप्रतिको अविश्वास र शङ्कालाई बढ्न दिनु उपयुक्त छैन । यसले एमालेको ढाडमा (कार्यकर्ता) टेकेर टाउकामा (मूल नेतृत्व के पी ओली) हान्ने प्रचण्ड नीतिको प्रयोग एमालेमाथि भइरहेको प्रमाणित गर्दछ । एमालेजन यसमा सचेत हुन र बहकिनबाट जोगिनु पर्दछ । अख्तियार प्राप्त कमिटीले स्थानीय शक्ति र प्रभाव सन्तुलनको आँकलन गर्न नसक्नु वा त्यस किसिमको शक्ति र प्रभावको दुरुपयोगको सम्भावनालाई नजरअन्दाज गर्नु निर्वाचन रणनीतिमा भएका कमजोरी हुन सक्छ । तर जनवादी केन्द्रीयताको सिद्धान्तलाई वस्तुनिष्ठ ढङ्गले अवलम्बन गर्ने एमालेमा निर्णय विरुद्ध खुलेआम प्रचार प्रसार गर्ने अराजकतावादी बुर्जुआ चरित्रको प्रवेश कहाँबाट भयो ? कतै प्रचण्डले गौरवसाथ भनेका बीउ विजन त थिएन ? यो शङ्का गर्नुपर्दछ । 

३. स्थानीय तह निर्वाचनका कतिपय स्थानमा (झण्डै ५० बढी स्थानमा) मेयर वा उपमेयर, वडा अध्यक्ष जस्ता मुख्य पदमा अन्तर्घात भएको अनुमान गरिएको छ । यद्यपि, अन्तर्घातका केही सार्वजनिक भएका प्रमाण बाहेक अन्यमा ठोकुवा गर्न सकिन्न तर शङ्का गर्ने ठाउँ पर्याप्त रहेको छ । तर अन्तरसंर्घष, द्वन्द्वलाई सर्वमान्य सिद्धान्त मानेको, बहुलतालाई स्वीकार गर्ने जनताको बहुदलीय जनवादको सिद्धान्त अवलम्बन गर्ने दलभित्र अन्तरसंघर्ष कसरी अन्तर्घातमा रूपान्तरण भयो ? यसको खोजी गर्न जरुरी छ । सङ्क्रामक रोगका अध्ययनहरूले भन्ने गरेका छन्, सङ्क्रमण भएको वातावरणमा पनि कोही व्यक्ति रोगमुक्त हुन सक्छ, यसको कारण हो उसमा रहेको प्रतिरोध क्षमता । एमालेमा प्रवेश गरेको यो सङ्क्रमणको भेक्टर को हो ? नेकपा हुँदाका बखत जोडिएको माओवादी केन्द्र, जसले फरक मतका नाममा आफ्नै सहयोद्धाको पनि सफाया गर्ने संस्कृति बोकेको थियो, वा कमिटी प्रणालीलाई निष्क्रिय बनाउने हेडक्वार्टर प्रणाली वा जनयुद्धको ट्याक्टिकल रणनीति अन्तर्गत तत्काल फाइदाका लागि जोसँग पनि हात मिलाऊ भन्ने संस्कार । एमालेभित्रको प्रतिरोधी क्षमता यसको सक्षम, बलियो र सशक्त शृङ्खलाबद्ध सङ्गठन प्रणाली र यसको जग वा ब्लड प्युरिफायर जनताको बहुदलीय जनवाद । पछिल्लो तीन वर्ष एकताका नाममा भएको विचारहीन र सङ्गठन सफायाबाट एमालेको प्रतिरोधी क्षमता कमजोर बनाइएको थियो भने, सङ्क्रमणलाई ग्ल्यामराइज गर्ने कामको नेतृत्व गरेका थिए माधव नेपाल, घनश्याम भुषाल र भीम रावलहरूले । तसर्थ, यो अन्तर्घातको सङ्क्रमण अन्तरसंघर्षको सही व्यवस्थापन र जनताको बहुदलीय जनवादको सैद्धान्तिक आधार बलियो नबन्दाको अस्थायी परिणाम मात्र हो । यसलाई व्यक्तिगत इगो र प्रतिष्ठासँग जोडेर बदला र कारबाही भन्दा पनि एमालेको स्थापित सङ्गठन व्यवस्थापन र सिद्धान्तका आधारमा व्यवस्थापन गर्न जरुरी छ । केही व्यक्तिहरू जो एमालेभित्र प्रचण्डको बीजारोपणका खेताला छन्, तिनलाई भने कारबाही गरी बेलैमा छेउ लगाउनु नै उपयुक्त हुनेछ ।
 
४. स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरमा बालेन शाह र धरानमा हर्क साम्पाङ्गको विजयबाट एकाएक स्वतन्त्र उम्मेदवारको लहर चलेको छ । रबि लामिछानेले त स्वतन्त्र नामको पार्टी नै दर्ता गरिसकेका छन् । काठमाडौँमा स्वतन्त्र भनिएकाहरूको सङ्गठित भेला हुने क्रम चलिरहेको छ । राजनीतिका वैतनिक विश्लेषकहरूमध्ये केहीले स्वतन्त्रको आगमन मूलधारका राजनीतिक दलहरूप्रतिको जनवितृष्णाको उपजको रूपमा लिएका छन् । कतिपय एमाले जनमा पनि स्वतन्त्रहरूको प्रभाव र प्रचारले चिन्ता जन्माइदिएको छ । यसको मूल कारण युवा पङ्क्तिको सबैभन्दा ठुलो पङ्क्ति एमालेसँग रहेकोमा, स्वतन्त्र उम्मेदवारहरूले तिनै युवाहरूको मत आकर्षण गरिरहेको यथार्थता हो । तर, यस सम्बन्धमा एमालेजन स्वतन्त्रको मार्क्सवादी वस्तुगत विश्लेषण गर्ने र सोही अनुसार योजना बनाउने भन्दा पनि स्वतन्त्र हाउगुजीप्रति प्रतिक्रियात्मक हुने अभ्यास बढाइरहेका छन्, यो प्रतिक्रिया या त आत्मसमर्पणमा देखिएको छ या त उनीहरूप्रति आक्रामक अराजक प्रचार प्रसारमा । स्वतन्त्र उम्मेदवारी दलीय व्यवस्थाको विकल्प हुन सक्दैन । स्वतन्त्र उम्मेदवारीले राजनीतिक जबाफदेहितालाई सुनिश्चित गर्दैन । स्वतन्त्र उम्मेदवारी बहुदलीय, विचारधारात्मक बहुलताको सिद्धान्त विपरीत छ । स्वतन्त्र उम्मेदवारीले राजनीतिक अराजकता प्रवर्द्धन गर्दछ भन्ने मान्यतालाई तथ्यगत र वस्तुगत ढङ्गले स्थापित गर्न जरुरी छ । आफ्नो राजनीतिक पङ्क्तिमा राजनीतिक रूपमा सचेत, अनुभवी, जिम्मेवार र इमानदार युवा पङ्क्तिलाई अघि बढाउने सवालमा सबै तहका एमाले नेतृत्वले पहलकदमी देखाएमा प्रतिक्रियाको उपज आधारभूमिविहीन स्वतन्त्र उम्मेदवारको चर्चा र सम्भावना सेलाएर जान्छ । लोकतान्त्रिक बहुदलीय व्यवस्था संरक्षण र संवर्द्धनका लागि यो जरुरी छ । 

५. गठबन्धनका कारण, सत्ता शक्तिका कारण एमालेले स्थानीय तहमा सिट सङ्ख्या गुमाउनु परेको सत्य हो । तर एमालेले विजय हासिल गर्न अर्को गठबन्धनको विकल्प खोज्नु सही उपाय भने होइन । निर्वाचन प्रतिस्पर्धाका दलका कार्यकर्ताहरूले बुझ्नुपर्ने सत्य के हो भने जनमत स्थायी हुन्छ, सत्ता वा सिट अस्थायी हुन्छ । जनमतको निर्माण, विस्तार र संरक्षण विचारको प्रवाह र सङ्गठनको सही परिचालनबाट हुन्छ । गठबन्धनका कार्यशैली आफ्नो जनमतलाई क्षयीकरण गर्ने तरिका हो, सङ्गठन प्रणालीलाई दलीय प्रतिस्पर्धाबाट बाहिर राख्ने तरिका हो । भारतमा काँग्रेस आई आज पछाडि पर्नुको मुख्य कारण निरन्तर गठबन्धनको भर पर्नु हो, भाजपा अघि बढ्नुको कारण सङ्गठन परिचालन सही ढङ्गले गर्नु हो । नेपालमा पनि राप्रपाले पछिल्लो समय आफ्नो प्रभाव विस्तार गर्नु उसको हिन्दुवादी विचार हो । माओवादी निरन्तर कमजोर हुँदै जानु सधैँ गठबन्धनमा भर पर्ने प्रचण्ड पथ हो । एमालेले शक्ति हासिल गरेको समय र सन्दर्भ हेर्ने हो भने २०५१ को मध्यावधि निर्वाचन, २०६९ को निर्वाचन, २०७४ को निर्वाचन यी तीनै पटकको निर्वाचनमा एमाले सत्ताभन्दा बाहिर थियो । यस अवधिमा सहायक कारण केही हुन सक्ला तर एमालेको विजयका पछाडि मूल कारण यसको विचार प्रवाह र सङ्गठन परिचालन नै थियो । तसर्थ सत्ता गठबन्धनलाई एमालेजनले जति बढी महत्त्वका साथ हेर्छन् त्यति नै यसले आकार ग्रहण गर्दछ र भय पैदा गर्दछ । जति यस गठबन्धनलाई बेवास्ता गर्दै आफ्नो विचार प्रवाह र सङ्गठन परिचालनमा ध्यान दिन्छन्, त्यति नै गठबन्धन कमजोर हुँदै जान्छ । सत्तामा जोसुकै होस्, एमालेले बाहिर बसेर नै आफ्नो शक्ति जनमतसहित स्थापित गर्न सक्छ । 

६. प्रचण्डले रोपेका बीउ हुन् कि अत्तालिएको मन हो, एमालेभित्र वाम एकता नामको बहसको पोथ्रा पलाउन थालेको देखिन्छ । एमाले भित्रकै केही नेता कार्यकर्ता एमाले, माओवादी र झलनाथ मिल्नुपर्दछ भनी आत्तिएको मनको निष्कर्ष पोखिरहेको पाइन्छ । जनताको बहुदलीय जनवादका अनुयायीहरूले सिद्धान्तविहीन, रूपान्तरण लक्ष्यविहीन, केवल सत्ता प्राप्तिको आकाङ्क्षाबाट प्रेरित गठबन्धन र वाम एकताको कुरा गर्नु उपयुक्त होइन । मदन भण्डारीले २०४६ को जनआन्दोलनका लागि प्रस्ताव गर्नुभएको वाममोर्चा कम्युनिष्ट शक्तिहरूलाई साझा लक्ष्य प्रजातन्त्र प्राप्तिका लागि एक ठाउँमा उभ्याउनु थियो, चुनाव जित्नु थिएन । काँग्रेससँगको सहकार्य बहुदलीय व्यवस्थाका लागि र निरङ्कुश पञ्चायत व्यवस्था अन्त्यका लागि पञ्चायत विरोधी राजनीतिक शक्तिहरू बीचको कार्यगत एकताका लागि थियो, सत्ता साझेदारीका लागि थिएन । त्यसैले २०४७ को संविधानमा २७ बुँदे आलोचनात्मक समर्थन एमालेले दिएको थियो र संसद्मा सशक्त प्रतिपक्षको भूमिका खेलेको थियो । वाम एकताको राप सत्ता प्राप्तिका सपनाबाट निर्देशित हो भने हामीले नेकपाको अभ्यासबाट पाठ सिकिसकेका छौँ, वाम एकता चुनाव जित्नका लागि हो भने प्रचण्ड र माधव नेपालको एकल शक्ति मापन गर्न सकिएकै छैन । प्रस्तावित वाम एकताको सैद्धान्तिक वैचारिक आधार स्पष्ट देखिँदैन भने वाम एकताको हल्लाले पुनव्यस्थित  हुँदै गरेको एमाले सङ्गठन र नेतृत्वलाई पुन दिशान्तर गर्ने स्पष्ट छ । कुनै अवस्थामा पनि एमालेजन यसतर्फ जान उपयुक्त देखिँदैन । 

तसर्थ, एमालेजनले मूलधारका समाचार वा सामाजिक सञ्जालका वा वैतनिक राजनीतिक विश्लेषकको विचारबाट आफूलाई स्वतन्त्र राखी आफ्नो सङ्गठनको पुनर्ताजगी गर्न, वैचारिक प्रशिक्षण र प्रवाह गर्न, जनजीविकासँग आफूलाई जोड्न र जनताका सामु कमजोर, डराएको, त्रसित दलको कार्यकर्ता होइन दृढ, उत्थानशील, स्पष्ट र सचेत एवं जिम्मेवार युवा ऊर्जा सहितको दल र नेताको रूपमा प्रस्तुत हुन र क्रियाशील हुन जरुरी छ । मिडियाले छरेका भ्रमबाट विचलित नभई आफ्नो सङ्गठन, आफ्नो जनमत निर्माण गर्न क्रियाशील हुन जरुरी छ । वाम एकता, स्वतन्त्रको भय, निर्वाचन परिणामको दोषारोपणबाट विचलित नभई स्थानीय तहको निर्वाचनको वस्तुपरक विश्लेषण र सकारात्मकताबाट प्रेरित हुँदै आफ्नै विचारको, दलको जगमा उभिएर राष्ट्रिय शक्तिको पहिचान बढाउँदै राष्ट्रिय नेतृत्व गर्न जरुरी छ ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ८ : ४९ बजे