सुर्खेत कारागारमा क्षमताभन्दा बढी कैदी

कर्णाली ।  सुर्खेत जिल्ला कारगारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा समस्या भएको छ । पुरुष ७० र महिला ३० जना अट्ने क्षमता भएको उक्त कारागारमा हाल ३३२ जनालाई राखिएको छ ।  अहिले कारगारमा पुरुष ३३२ र महिला ४३ राखिएको जिल्ला कारागारका सूचना अधिकारी (नायब सुब्बा) भुवन गौतमले राससलाई जानकारी दिनुभयो । 

उहाँका अनुसार पुर्पक्षका लागि थुनामा ६६ पुरुष र आठ महिला छन् । त्यस्तै जबर्जस्ती करणीका १७ र लागुऔषधका १५ जना रहेको सूचना अधिकारी गौतमले बताउनुभयो । “पछिल्लो समयमा बहुविवाह र चोरीका मुद्दा बढ्दै गएका छन्”, उहाँले भन्नुभयो, “अदालतबाट बहुविवाह गरेको कसुरमा जेल सजाय तोकिएका नौ र चोरीका आठ  कैदीबन्दी छन् ।”

कारागारका प्रमुख लक्ष्मी खरेलले क्षमताभन्दा बढी कैदीबन्दी भएकाले  समस्या समाधान गर्न नयाँ भवन बनिरहेको बताउनुभयो । “अब थप क्षमताको तत्काल अर्को भवन निर्माण  चालू आवमै सम्पन्न गर्नेगरी भइरहेको छ”, उहाँले भन्नुभयो, “एउटै ठाउँमा कैदी खचाखच हुँदा संक्रमण बढ्ने खतरा भएपनि त्यसको असर देखिएको छैन ।” 
 

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  ४ : २२ बजे