एसपीपी रद्दबारे अमेरिकालाई पत्र लेखिएको छैन : परराष्ट्र मन्त्रालय

काठमाडौं ।  परराष्ट्र मन्त्रालयले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्विकार गर्र्ने पत्र अमेरिकालाई नपठाइएको जनाएको छ । 

परराष्ट्र मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले एसपीपी रद्द गर्ने मन्त्रिपरिषद्को निर्णयबारे मन्त्रालय जानकार रहे पनि त्यस्को बारेमा अमेरिकालाई पत्र नलेखिएको जानकारी दिनुभयो । उहाँले उत्त विषय अध्ययनकै क्रममा रहेको  बताउनुभयो । 

प्रवक्ता लम्सालले एसपीपीबारे यसअघि भएका निर्णयबारे परराष्ट्र मन्त्रालयको कहिकतै संलग्नता नभएको समेत उहाँले स्पष्ट पार्नुभयो ।  

एसपीपीबारे अमेरिकाको युटा राज्यस्थित नेसनल गार्डसँग समझदारी गरेको विषय सार्वजनिक भएपछि त्यसको चौतर्फी विरोध भएको थियो।

​​​​​​​ब्यापक विरोध भएसँगै  सरकारले असार ६ गते एसपीपी अस्वीकार गर्ने निर्णय गर्दै औपचारिक जानकारी दिन अमेरिकालाई पत्र पठाउने जिम्मा परराष्ट्र मन्त्रालयलाई दिएको थियो।

प्रवक्ता लम्सालले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण अपेक्षित भएको बताउनुभयो । भ्रमणका लागि विभिन्न चरणमा गृहकार्य गर्नुपर्ने भएकाले मिति तय हुन समय लाग्ने उहाँले बताउनुभयो । 
यसैबीच नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा अमेरिका भ्रमण गरी आजै नेपाल फर्किँदै हुनुहुन्छ । 

 

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  २ : ४६ बजे