‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

जबज : मार्क्सवादको सिर्जनात्मक प्रयोग

सन् १९९० मा सोभियत सङ्घलगायत पूर्वी युरोपका समाजवादी मुलुकहरूका सरकारहरू एकपछि अर्को गर्दै विस्थापित भए । पहिलो विश्वयुद्धपछि सोभियत सङ्घमा र दोस्रो विश्व युद्धपछि पूर्वी युरोप र विश्वका अन्य भू–भागमा स्थापित समाजवादी शासन व्यवस्था ढलेपछि विश्व पुँजीवादले आफूलाई एक्लो विजेता घोषित गर्‍यो । नवउदारवाद र बहुराष्ट्रिय दलाल पुँजीवादलाई पक्षपोषण गर्न अमेरिकाले विश्व पुँजीवादीहरूको नेतृत्व लिन सफल भयो । अन्तर्राष्ट्रिय रूपमा रुसी मोडलको समाजवादले गम्भीर धक्का खाएपछि विश्व कम्युनिष्ट आन्दोलन एक प्रकारले रक्षात्मक अवस्थामा पुग्यो । सोभियतसंघ र पूर्वी युरोपमा समाजवादी व्यवस्थाको पतन भएपछि पश्चिमा पुँजीवादी राष्ट्रहरूले मार्क्सवादको सान्दर्भिकता अन्त्य भएको प्रचार गर्न थाले । करिब एक सय चालीस वर्षदेखि पुँजीवादी शासन प्रणालीसँग कठोर प्रतिस्पर्धामा रहेका समाजवादी विचार बोकेको दाबी गर्ने सरकारहरू ढलेपछि विश्व पुँजीवादीहरू उत्साहित हुनु स्वाभाविक थियो । त्यसैले उनीहरूले पुँजीवादी शासन प्रणाली नै निर्विकल्प भएको प्रचार गर्न थाले । 

खास गरी सोभियत सङ्घ र पूर्वी युरोपमा समाजवादी सरकारहरूको पतनपछि विश्वका कम्युनिष्टहरूका लागि गम्भीर चुनौती खडा भयो । विभिन्न देशहरूमा गरिएको मार्क्सवादी सिद्धान्तको प्रयोगको अनुभवका आधारमा मानव जातिको मुक्ति, प्रगति, सामाजिक शोषणको अन्त्य र उत्पादन शक्तिका विकासका लागि मार्क्सवादको पुनः व्याख्या र पुनः परिभाषित गर्नु जरुरी ठानियो । सोभियतसंघ मोडलको समाजवादले धक्का खाइसकेपछि समकालीन विश्वमा मार्क्सवादको नवीनतम प्रयोगका लागि विचारहरू प्रकट हुन थाले ।  परम्परागत रूपमा जस्ताको तस्तै एउटै मोडलमा सबै देशमा मार्क्सवादको प्रयोग  हुन नसक्ने बरु यसलाई आ–आफ्नो मुलुकको विशिष्ट परिस्थिति अनुरूप सिर्जनात्मक रूपमा प्रयोग गर्नुपर्छ भन्ने विचारको पैदा भयो । 

यही विचारका सर्जक जननेता मदन भण्डारीले नेकपा एमालेको पाँचौँ राष्ट्रिय महाधिवेशनमा मार्क्सवादको सिर्जनात्मक प्रयोगको लागि नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवाद (जबज) प्रस्तुत गरी पारित समेत गराउनुभयो । जबजले मार्क्सवादलाई जड सूत्रका रूपमा नलिई गतिशील एउटा जीवन्त विज्ञानको रूपमा स्वीकारेको छ । परम्परागत रूपमा एकदलीय शासन प्रणालीको कमजोरीले गर्दा समाजवादी शासन प्रणाली असफल भएको र सबै मुलुकमा एकै प्रकारको क्रान्तिको मोडल हुन सक्दैन भन्ने विचारको आलोकमा नेपाली क्रान्तिको मोडलका रूपमा जबज अहिले सिद्धान्तको रूपमा स्थापित भएको छ । यसले पुँजीवादी क्रान्तिको आधारभूत कार्यभार सम्पन्न गर्ने लोकतान्त्रिक औजार र समाजवाद स्थापनाका लागि राजनीतिक आधार तय गरेको छ । 

जबजले बहुलतालाई अङ्गीकार र द्वन्दवादलाई स्वीकारेको छ । यसले द्वन्द्व समाज, व्यक्तिका विचार र प्रकृतिमा समेत हुने शाश्वत पक्षलाई स्विकार्दै बहुलता र द्वन्द्ववादको अन्तरसम्बन्धलाई स्वीकारेको छ । यसले बहुदलीय शासन प्रणाली पुँजीवादीहरूको मात्र हुन नसक्ने र समाजवादीहरू पनि जनताको अभिमतबाट श्रेष्ठता कायम गर्न सक्छन् भन्ने विचारलाई प्रस्तुत गरेको छ । 

नेपालको सन्दर्भमा सामन्तवाद–साम्राज्यवाद विरोधी नयाँ जनवादी क्रान्ति सम्पन्न गरी स्थापित हुने शासन प्रणाली बहुदलीय हुने स्पष्ट पारेको छ । यसले समाजवादी राज्यहरूले पनि प्रारम्भिक अवस्थामा बहुदलीय प्रतिस्पर्धा भएको शासन प्रणाली अपनाउन सक्छन् भन्ने निष्कर्ष निकालेको छ । राज्यसत्ताको सारतत्वलाई वर्गीय र शासन सत्ता रूप पक्ष भएको स्पष्ट छ । जबज सामन्तवाद–साम्राज्यवाद विरोधी व्यवस्था हो । 

वास्तवमा समाजवादमा सङ्क्रमण गर्ने भौतिक परिस्थिति तयारीका लागि जनताको सक्रिय समर्थन र सहभागिता अनिवार्य हुन्छ । मजदुर, सर्वहारा वर्ग मात्र होइन आमजनतालाई नै समाजवादको पक्षमा सङ्गठित नगरी समाजवादको निमार्ण तथा रक्षा र विकास असम्भव छ । त्यसैगरी, जन समर्थनविना बलपूर्वक स्थापना गरेको समाजवाद दिगो नहुने भएकाले व्यापक जनतालाई गोलबन्द गर्ने विधिद्वारा मात्रै समाजवादमा सङ्क्रमण गर्न सकिन्छ भन्ने मान्यता जबजले अघि सारेको छ । संविधानको सर्वोच्चता, बहुलवादी खुला समाज, शक्ति पृथकीकरणको सिद्धान्त, मानव अधिकारको रक्षा, बहुदलीय प्रतिस्पर्धात्मक शासन प्रणाली, आवधिक निर्वाचन , बहुमतको सरकार र अल्पमतको विपक्ष, कानुनको शासन, जनताको जनवादी व्यवस्थाको सुदृढीकरण, विदेशी पुँजी र प्रविधि राष्ट्रहितमा उपयोग, नयाँ समाज निर्माणमा सहयोग गर्नेलाई क्षतिपूर्ति, पञ्चशीलको सिद्धान्तमा आधारित विदेश नीति, प्रतिस्पर्धाद्वारा नेतृत्व प्राप्त तथा जनताको अधिनायकत्व र नेपाली सन्दर्भको नयाँ जनवाद जबजले अङ्गीकार गरेका नवीनतम विशेषता हुन् । 

यसरी साम्राज्यवाद र सामन्तवाद विरोधी सामाजिक न्यायसहितको लोकतान्त्रिक प्रणालीका रूपमा जबजलाई एक नवीन विचारका रूपमा जननेता भण्डारीले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा स्थापित गर्नुभयो । जबज अहिले मार्क्सवादको सिर्जनात्मक प्रयोगको क्रान्तिकारी सिद्धान्तका रूपमा स्वीकार्य भएको छ ।  

वस्तुतः जबजको प्रतिपादन त्यतिबेला भयो, जतिबेला सोभियत सङ्घको विघटनले समाजवादीहरूलाई हतोत्साहित र निराश तुल्याई रहेको थियो । पुँजीवादी चिन्तकहरू जबरजस्त रूपमा समाजवादको इतिहास अन्त्य भएको घोषणा गर्दै थिए । अमेरिकी नवउदारवादका व्याख्यता राजनीति शास्त्री फ्रान्सिस फुकुयामाले त सन् १९९२ लेखेको पुस्तक ‘दि इण्ड अफ हिस्ट्री एण्ड द लास्ट म्यान’ मा समाजवादी प्रणाली असफल भएकोले पुँजीवादी उदार लोकतन्त्र नै अन्तिम सत्य भएको भन्दै थिए  ।  परम्परागत उदार लोकतन्त्रका स्थानमा आर्थिक उदारीकरणको जगबाट विकसित नवउदारवाद सुरु भएको तथा नागरिकको हितका लागि राज्यको भूमिका अझै साँघुरिनु पर्ने र युरो–अमेरिकी कन्जरभेटिभवादको वर्चस्व कायम भएको रूपमा ‘इतिहासको अन्त्य’ भएको भनियो ।  नयाँ चिन्तनका रूपमा प्रसार गर्न खोजिएको ‘इतिहासको अन्त्य’ लाई तुरुन्तै विनिर्माणवादका सर्जक दार्शनिक ज्याक डेरिडाले यसमा कुनै दार्शनिक र व्याख्यात्मक आधार नभएको भनी अस्वीकार  गरे । त्यस्तै, नोम चोम्स्कीले पनि पुँजीवादले प्रकृति र मानव स्रोतको दोहनबाट मानव सभ्यतालाई नै समाप्त पार्ने जाखिम पैदा गरेको बताए । फ्रान्सका मार्क्सवादी अर्थशास्त्री टमस पिकेटीले राज्यको भूमिका घटाउने कुनै आधार नभएको बरु पुँजीवादबाट उत्पन्न अर्थ सामाजिक असमानतको पहिचान गर्दै वर्ग सम्बन्धी नयाँ वितरण सिद्धान्तको पुनर्व्याख्या गरे । 

‘इतिहासको अन्त्य’लाई  नवउदारवादीहरूले जबरजस्त प्राज्ञिक बहस गरिरहेको सन्दर्भमा समाजवादीहरूले सामूहिक रूपमा राजनीतिक तथा वैचारिक जवाफ दिनु पर्ने र समाजवादी आन्दोलनलाई नयाँ शिराबाट अघि बढाउन पर्ने आवश्यकता थियो । यही परिस्थितिबीच भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) को अग्रसरतामा सन् १९९३ मे ५ देखि ७ (वि.स.२०५० साल वैशाख २३– २५) सम्म भारतको कलकत्ता (कोलकाता) मा  ‘समकालीन विश्व परिस्थिति र मार्क्सवादको वैधता’  विषयक विश्वका कम्युनिष्ट पार्टीहरूको अन्तर्राष्ट्रिय सेमिनार भयो ।  साम्यवादी दर्शनका प्रणेता कार्ल मार्क्सको १७५ औँ जन्म जयन्तीका अवसरमा  आयोजित यो सेमिनारमा विश्वका ३० देशका कम्युनिष्ट पार्टीहरूलाई आमन्त्रित गरिएको थियो ।

नेपालबाट नेकपा एमालेका तत्कालीन महासचिव जननेता मदन  भण्डारीले भाग लिनुभएको थियो ।  यो सेमिनारको उद्देश्य सोभियत सङ्घ र पूर्वी युरोपका समाजवादी मुलुकहरूमा कम्युनिष्ट शासन प्रणाली विस्थापित हुनुका कारणहरूको विश्लेषण गरी विश्व कम्युनिष्ट आन्दोलनलाई नयाँ वैचारिक रूपले अघि बढाउनु थियो । उक्त सम्मेलनमा विश्वका कम्युनिष्ट पार्टीहरूलाई मूलतः निम्न चार वटा आधारभूत प्रश्न राख्दै तिनको जवाफ र आफ्नो देशका बारेमा के ठान्छन् भनेर विश्लेषण गर्न आग्रह गरियो ।

१. विश्व पुँजीवादले प्रस्तुत गरेको समाजवादी विचार अन्त्य भएको दाबीलाई समाजवादीपक्षीय दृष्टिकोणबाट कसरी मूल्याङ्कन गर्ने ? 
​​​​​​​२. सोभियत सङ्घसहित समाजवादी व्यवस्था लागू भएका मुलुकमा के कस्ता कमजोरी भए जसले गर्दा उनीहरू नागरिकको कोपभाजनमा परे ?
३. समाजवादको हालसम्मको उपलब्धि के हो ?
४. समाजवादी आन्दोलन अगाडि बढाउन कम्युनिष्ट पार्टीहरूले कस्तो बाटो लिनुपर्छ ?

यसरी कलकत्ता सम्मेलनले खोजेका यी आधारभूत चार प्रश्नको त्यहाँ उपस्थित २४ देशका कम्युनिष्ट पार्टीहरूले आ–आफ्ना दृष्टिकोणहरू प्रस्तुत गरी जवाफ खोज्ने प्रयत्न गरे । सम्मेलनले समाजवादी विचारको सान्दर्भिकता नसकिएको बरु अझै बढेको र यसलाई रणनीतिक दृष्टिकोणबाट अघि बढाउनु पर्नेमा वृहत् सहमति कायम गर्यो । जननेता कमरेड मदनले आफ्नो कार्यपत्र पेस गर्दै विश्व कम्युनिष्ट आन्दोलनका विरोधीहरूलाई गतिले जवाफ दिनुभयो ।  जननेताले कार्यपत्र पेस गर्दै भन्नुभएको छ : ‘सोभियतसंघ र पूर्वी युरोपमा समाजवादी व्यवस्थाको पतनपश्चात् पश्चिमा पुँजीवादी राष्ट्रहरूले मार्क्सवादको सान्दर्भिकताका विरुद्धमा ज्यादै ठुलो राजनीतिक अफवाह फैलाए पनि द्वन्द्वात्मक भौतिकवाद र इतिहासको वैज्ञानिक व्याख्यामा आधारित मार्क्सवादी दर्शन मर्न सक्दैन । पूर्व सोभियतसंघ र पूर्वी युरोपमा स्वतन्त्र गणराज्यहरूको स्थापना भएयता घटेका घटनाहरूले के देखाएका छन् भने मार्क्सवादमा अस्थायी धक्का लाग्दैमा पुँजीवादीहरूले आशा गरेजस्तो पुँजीवादी व्यवस्था समाजवादको विकल्प हुन सक्दैन ।’ 

यसका साथै, कमरेड मदनले नेकपा एमालेको पाँचौँ राष्ट्रिय महाधिवेशन मार्फत नेपालको कम्युनिष्ट आन्दोलनको लोकतान्त्रीकरण गर्दै जनताको बहुदलीय जनवादलाई अघि सारिएको तथ्य अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्नु भयो । ‘जनसूत्रवाद र विसर्जनवादको विरोध गरौँ, मार्क्सवादको सिर्जनात्मक प्रयोग गरौँ’ भन्ने मूल ध्येय सहितको राजनीतिक दस्ताबेजको रूपमा पारित जबजले अन्तर्राष्ट्रिय रूपमा एउटा वैचारिक आधार तय गर्न सफल भएको छ । समाजवादी प्रणालीमा देखिएको विचारको विचलन सम्बन्धी व्याख्या गर्दा मार्क्सवादलाई अझ समृद्ध बनाउनु पर्ने पक्ष सुरुदेखि नै छुटेको र मार्क्सवादीहरूले केवल मार्क्सवादको मात्र होइन , विश्वभरिका जनताको कठोर सङ्घर्षबाट प्राप्त मानवीय उपलब्धिलाई समेत स्विकार्नुपर्छ भन्ने सशक्त विचार कमरेड मदनले यस सम्मेलन मार्फत व्यक्त गर्नुभयो ।

नेपालको राजनीतिक आन्दोलनमा कम्युनिष्टहरूले बहुदलीय शासन व्यवस्था स्थापनाका लागि लामो सङ्घर्ष गरेको उल्लेख गर्दे तिनै सङ्घर्षको अनुभवमा नेकपा एमालेले जनताको बहुदलीय जनवादको कार्यक्रमलाई अङ्गीकार गरिएको बताउनु भयो । यसरी जनताको बहुदलीय जनवाद पुँजीवादी लोकतन्त्रभन्दा फरक र गुणात्मक रूपले उन्नत राजनीतिक व्यवस्थाको रूपमा नेपाली माटो सुहाउँदो  विशिष्ट परिस्थितिमा मार्क्सवादको सिर्जनात्मक प्रयोगका रूपमा साम्राज्यवाद र सामन्तवाद विरोधी जनपक्षीय राजनीतिक प्रणालीका रूपमा अहिले नेपाली कम्युनिष्ट आन्दोलनमा स्थापित भएको छ ।  

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  ८ : ४५ बजे