‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

पोखराको ल्याण्डफिल विवाद : भरतपोखरीमा सार्न नदिने स्थानीयको अडान

पोखरा । पोखरा महानगरपालिकाले ३३ नम्बर वडाको भरतपोखरीमा ल्याण्डफिल साइट सार्ने निर्णय गरेको छ । 

आगामी वर्ष भौतिक पूर्वाधार निर्माण र अन्य कामका लागि १० करोड रुपैयाँ विनियोजन भएको छ । हाल पोखरा १४ मा रहेको ल्याण्डफिलको सम्झौताको समयावधि सकिएको छ । 

२०६१ सालमा १५ वर्षका लागि निर्माण भएको उक्त ल्याण्डफिल साइट १८ वर्ष पूरा भइसकेको छ । त्यसमाथि निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्नुअघि ल्याण्डफिल साइट सार्नै पर्ने सर्त छ ।

अघिल्लो जनप्रतिनिधिको अन्तिम कार्यपालिका बैठकले ३३ नम्बर वडाको भरतपोखरीमा ल्याण्डफिल सार्ने निर्णय गरेको थियो । त्यसअघि पोखरा १६ र २० को सीमानामा सार्ने निर्णय भएकोमा स्थानीले निरन्तर अवरोध गरेपछि उक्त निर्णयबाट महानगर पछि हटेको हो । तर अहिले प्रस्ताव गरिएको ठाउँमा पनि ल्याण्डफिल सार्न नदिने निर्णय स्थानीयले गरेका छन् । 

भरतपोखरीका सर्वदलीय नेता तथा स्थानीय अगुवाहरूले निर्णयको विरोध गर्दै प्रस्ताव फिर्ता लिन भनेका छन् । विभिन्न राजनीतिक दल र स्थानीयबीच वडामा भएको सर्वदलीय भेला आयोजना गरिएको हो । भेलाले स्थानीय नागरिकसँग समन्वय नगरी महानगरले एकलौटी निर्णय लाद्न खोजेको भन्दै दबाबलाई अटेर गरे सङ्घर्ष थाल्ने निर्णय गरेको छ । 

जसपा नेता किरण थापाले कोही पनि ल्याण्डफिल सार्न दिने पक्षमा नभएको भन्दै महानगरले आफ्नो निर्णय सच्याउनुपर्ने बताउनुभयो ।

“पोखरा महानगरपालिकाद्वारा समग्र महानगरपालिकाको फोहोर व्यवस्थापन गर्ने हाम्रो वडा नम्बर ३३ को टिमुरफाँटा भन्ने ठाउँमा महानगरले प्रस्ताव गरेकोले हामी पोखरा ३३ का क्रियाशील राजनैतिक दलको गम्भीर ध्यानाकर्षण भएको छ”, भेलाको निर्णय पुस्तिकामा लेखिएको छ, “वडा स्तरमा कुनै सल्लाह र छलफल पनि नभई महानगरबाट हाम्रो जायज मागलाई सम्बोधन नहुने देखिएमा क्रमबद्ध तरिकाले जनस्तरबाट नै सङ्घर्षको सुरुवात गरी उक्त कार्य रोक्ने समेत निर्णय गरिन्छ ।” उनीहरूले मेयर धनराज आचार्यलाई संयुक्त ज्ञापन पत्र बुझाउने बताएका छन् ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  ७ : ४५ बजे