म्याग्दीमा योगप्रति आकर्षण बढ्दै

गलेश्वर । म्याग्दी सदरमुकाम बेनीको कालीपुलका व्यापारी सुरेन्द्र गौतम बिहान ५ बजे नै उठेर बेनी बजारको मंका खलःको भवनमा योग गर्न आउनुहुन्छ । गौतमजस्तै ३० भन्दा बढी सर्वसाधारण सोही समयमा योग गर्नका लागि योग कक्षामा हाजिर हुन्छन् ।

पछिल्लो समय म्याग्दीमा सर्वसाधारणको योगप्रति आकर्षण बढेको छ । स्वस्थ रहन र तनाव व्यवस्थापनका लागि योगाशन अभ्यासमा आकर्षण बढेको हो । नवीन आनन्द योग केन्द्र म्याग्दीले विहीबारदेखि बेनीबजारस्थित मंका खलःको हलमा नियमित योग कक्षा सञ्चालन गरेको छ । योग सिक्न बेनी बजारका साथै ग्रामीण क्षेत्रबाट सर्वसाधारण आउने गरेका नवीन आनन्द योग केन्द्रका संस्थापक तथा योगगुरु नवीन जुग्जालीले बताउनुभयो ।

व्यस्त जीवनमा साधारण व्यायाम गरेर आफूलाई स्वस्थ राख्न, तनावबाट मुक्त हुन र शारीरिक स्फूर्तिका लागि योगाशन सिक्न योग कक्षामा आएको सर्वसाधारण बताउँछन् । नवीन आनन्द योग केन्द्रले विगत १० वर्षदेखि जिल्लाका विभिन्न गाउँमा योग केन्द्र सञ्चालन गर्दै आएको छ । कोरोना सङ्क्रमणको जोखिमकालमा विभिन्न ठाउँमा योगाशन सञ्चालन गरेको केन्द्रले विगत तीन महिनादेखि सदरमुकाम बेनीमा योग गर्ने स्थानको अभावमा योग कक्षा सञ्चालन गर्न सकेको थिएन । तर अहिले मंका खलः म्याग्दीको नयाँ निर्माण गरिएको भवनमा हल भाडामा लिइ योग कक्षा सञ्चालन गरेको योग प्रशिक्षक जुग्गालीले बताउनुभयो ।

दिनभर घर व्यवहार र व्यवसायको कामले व्यस्त हुने व्यापारी, कार्यालयमा व्यस्त हुने कर्मचारी र गृहिणी योगप्रति निकै आकर्षित भएका योगगुरु जुग्जालीले बताउनुभयो । “म दिनभरी व्यापारको काममा व्यस्त हुन्छु तर बिहानको डेढ घण्टा म नियमित योग गर्छु”, बेनीको कालीपुलस्थित संगम हाडवर्यरका सञ्चालक सुरेन्द्र गौतमले बताउनुभयो । “योग गर्न थालेपछि रक्तचाप व्यवस्थापन भएको छ । मलाई स्वस्थ, फुर्तिलो बनाउन र सकारात्मक सोचको विकास गर्न योग उपयोगी बनेको महसुस गरेको छु ।” गौतमले विगत आठ वर्षदेखि नियमित योगाभ्यास गर्दै आउनुभएको छ ।

बजार क्षेत्रका नागरिक, व्यापारी, पेशाकर्मी बिहानको समयमा एकै ठाउँमा भेला भएर सामूहिक योगाभ्यास गर्ने गरेका छन् । बेनी नगरपालिका–७ की रचना पुनले खाना नपच्ने, रुघा लागिरहने र रक्तचाप बढ्ने समस्या नियमित योग गर्न थालेपछि व्यवस्थापन भएको अनुभव सुनाउनुभयो । “योग अभ्याससँगै स्वास्थ्यलाई हानी नगर्ने खानपान अपनाउन थालेपछि स्वास्थ्यमा सुधार आएको छ”, उहाँले भन्नुभयो । 

 नवीन आनन्द योग केन्द्रका संस्थापक एवं योगगुरु जुग्जालीका अनुसार बेनी, दरवाङ, तिप्ल्याङ, बिम, बाबियाचौर, सिंगा तातोपानी, बेग, लगायतका स्थानमा योगाभ्यास सञ्चालन गरिएको थियो । छोटो अवधिका लागि आयोजना गरिने सामूहिक योगाभ्यासमा सहभागी भएपछि धेरैजसोले घरमै निरन्तरता दिएका छन् । योगाभ्यासमा सहभागीलाई उत्प्रेरणा साथै योग र ध्यानको महत्व बुझाएर आधारभूत ज्ञान र सीप प्रदान गरिने योग प्रशिक्षक जुग्जालीले बताउनुभयो । “गलत खानपान र जीवनशैलीका कारणले शरीर भद्दा, अस्तव्यस्त र अस्वस्थ भएको छ,” उहाँले भन्नुभयो “आसन, प्राणायम र उचित खानपानको माध्यमबाट स्वस्थ रहन योगले सहयोग गर्छ ।”

योगले मानिसको शारीरिक बनावटलगायत मानसिकरूपमा पनि सकारात्मक प्रभाव पार्ने प्रशिक्षक जुग्जालीले बताउनुभयो । जीवनमा स्वस्थ र निरोगी रहन योग विधाको आविष्कार भएको बताइन्छ । व्यस्त जीवनमा हुने तनावबाट मुक्त रहन पछिल्लो समय युवादेखि वृद्धसम्मले यसलाई अपनाएको पाइन्छ । चिकित्सकका अनुसार दैनिक योगले मानिसको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ ।

योगप्रति आकर्षण बढे पनि बजार क्षेत्रमा अभ्यास गर्ने ठाउँको अभाव छ । मन्दिर, विभिन्न सङ्घ संस्था, सरकारी कार्यालय र होटलका सभाहल परिवर्तन गरेर योग सिकाउने गरिएको छ । नियमितरूपमा एकै ठाउँमा योगाभ्यास सञ्चालन गर्ने ठाउँको अभाव छ । सामाजिक विकास मन्त्रालय र मालिका गाउँपालिकाले दरवाङमा योग केन्द्रको भवन बनाएका छन् । बेनीको कालीपुलस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको भवनमा गत वर्ष योग सञ्चालनका लागि सभाहल निर्माण गरिएको छ । योग साधकको सङ्ख्या धेरै भएकाले पूर्वाधारको अभाव भएको नवीन आनन्द योग केन्द्रका सचिव हरिप्रसाद पौडेलले बताउनुभयो ।
 

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ४ : १३ बजे