वर्षाले किसान खुसी, रोपाइँको चटारो

बैतडी । केही दिनदेखि भइरहेको वर्षाले बैतडीका किसान खुसी भएका छन् । वर्षा भएपछि रोपाइँ गर्न पाइएको र वर्षे बालीलाई पनि राहत पुगेपछि यहाँका किसान खुसी भएका हुन् । वर्षा नभएर रोपाइँ गर्न नसकिनाका साथै  मकै–भटमासलगायत वर्षे बाली सुक्ने अवस्थामा पुगेका बेलामा बल्ल किसानले राहत महशुस गरेका हुन् ।

 रोपाइँका लागि वर्षाले निकै राहत मिलेको दोगडाकेदार ३ श्रीकोटका किसान मानसिंह विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “यसअघि वर्षा नहुँदा रोपाइँ गर्न सकिएको थिएन, रोपाइँ पनि गरियो, वर्षे बालीलाई पनि राहत भएको छ ।” यसअघि असार पहिलो सातासम्म वर्षा नहुँदा यहाँ किसान चिन्तित भएका थिए । 

वर्षा भएसँगै यहाँका किसानलाई अहिले रोपाइँ गर्न चटारो छ ।  हालसम्म जिल्लामा ७५ प्रतिशतभन्दा बढी रोपाइँ भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । सिँचाइको सुविधा भएको ठाउँमा रोपाइँ सम्पन्न भएको र आकाशे पानीले रोपाइँ हुने क्षेत्रमा पनि धमाधम भइरहेको उक्त केन्द्रका कृषि प्रशारण अधिकृत नरेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो । जेठ १५ गतेदेखि असार मसान्तसम्म रोपाइँका लागि उत्तम समय मानिन्छ । बैतडीमा जेठको अन्तिम सातादेखि नै रोपाइँ गर्न सुरु गरिएकोमा असार मसान्तसम्म सकिने जनाइएको छ ।

जिल्लाको सुर्नया नदी किनार, चौलानी नदी किनार, पुर्चौडीको हाट, पाटन, पञ्चेश्वरलगायत बेँसी क्षेत्रमा रोपाइँ भए पनि अन्य क्षेत्रमा रोपाइँ हुन बाँकीे छ । पाटन नगरपालिकाको पाटन फाँट, सलेना, डिलाशैनी गाउँपालिका, सिगास गाउँपालिकाका विभिन्न क्षेत्र, दशरथचन्द नगरपालिकाको सेरालाई धान खेतीको पकेट क्षेत्र मानिएको छ । जिल्लामा नौ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ ।
 

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ११ : ५६ बजे