बैतडीमा ज्येष्ठ नागरिक स्वास्थ्य शिविर

बैतडी । मुख्यमन्त्री ज्येष्ठ नागरिक स्वास्थ्य शिविरबाट बैतडीमा करिब साढे ३ सय ज्येष्ठ नागरिक लाभान्वित भएका छन् ।  पाटन नगरपालिकाकोे सिद्धपुर स्वास्थ्यचौकी र पुर्चौडी नगरपालिकास्थित भूमिराज स्वास्थ्यचौकीमा सम्पन्न भएको शिविरबाट  ३४३ लाभान्वित भएका हुन् ।

सिद्धपुरमा १५३ र भूमिराजमा १९० ज्येष्ठ नागरिकले सेवा लिएका स्वास्थ्य कार्यालय बैतडीमा अनमी कविता भट्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बढीजसो ज्येष्ठ नागरिकमा बाथरोग, लुतो, श्वासप्रश्वासको समस्या देखिएको छ, हामीले निःशुल्क औषधि वितरणका साथै परामर्श पनि दिएका छौँ ।” शिविरमा ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच, परामर्श सेवा र निःशुल्क औषधिसमेत वितरण गरिएको छ । 

दुर्गम क्षेत्रका ज्येष्ठ नागरिकलाई घरपायकमै सेवा दिने उद्देश्यले शिविर सञ्चालन गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो ।  

यसैबीच पुर्चौंडी नगरपालिका–१० मा प्रजनन रुग्णता स्वास्थ्य शिविर सम्पन्न भएको छ । पुर्चौंडी नगरपालिकाको आयोजनामा सम्पन्न भएको शिविरमा ३६२ जनाले सेवा लिएका नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरले जानकारी दिनुभयो ।  

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ११ : १२ बजे