टंक पन्थको ‘समय स्फोट’ 

‘आमा शब्द छ मर्ममा अमर यो लौकिक संसारको
आमा नै नभएर समग्र गति यो चल्दैन संसारको
आमा सागर हुन् अनन्त गहिरो पुग्नै त्यहाँ सक्छ को ?
आमा निश्छल सारतत्व जननी स्रष्टा स्वयं सत्य हो ।’
…………………………………………………..
‘ड्याड्डीमा गुरुता म देख्दिन यहाँ बाबासरी ओजन,
मम्मीमा ममता म देख्दिन यहाँ आमा सरी पूजन !’
………………………………………………..
‘हाम्रै यी पसिनाबाट खाडी जग्मग बन्दछ, 
खनेरै गल्छ यो माटो यहाँ के छ असम्भव 
यस्तो विजोग निम्त्याई विदेशै जानु के छ र ? 
मुटुमा छ भने माया फर्क लौ देशमा अब !’

यी कविताका हरफहरू टंक पन्थको कविता संग्रह ‘समय स्फोट’मा संग्रहित छन् । यी दुई टुक्रा मात्र कविताबाट स्पष्ट देखिन्छ— उहाँका साहित्यमा संस्कृतिप्रति र देशप्रति अगाध प्रेम छ । 

टंक पन्थ नेपालीय साहित्यका उज्याला नक्षत्र हुनुहुन्छ । उहाँले छन्द साहित्य क्षेत्रमा पुर्याएको योगदान स्तुत्य छ । सरल व्यवहार स्निग्ध वचन र  शालीन स्वभावका कारण उहाँ सिर्जनकर्मीहरूका बीचमा लोकप्रिय देखिनुहुन्छ । सिर्जना र स्वभाव दुबै अब्बल भएमा कविहरू छिटो सतहमा आउँछन् र गहकिलो पहिचान बनाउँछन् । कवि टंक पन्थमा यस्तो स्वभाव देखिन्छ । यस्तो मृदुता धेरै स्रष्टामा हुँदैन । सरलता, विनम्रता, मृदुता व्यक्तित्व निर्माणमा महत्वपूर्ण विषय हो ।
नेपाली वाङ्मय क्षेत्रमा देखापरेका सशक्त प्रतिभा टंक पन्थ शास्त्रीय छन्दमा पारङ्गत देखिन्छन् । विशेषतः अनुष्टुप छन्दमा उहाँको कलम बेजोड बग्दछ । कवि पन्थलाई शास्त्रीय छन्दमा कलात्मक कविता सिर्जना गर्र्ने र श्रुतिमधुर वाचन गर्ने प्रसिद्ध कविको रूपमा लिने गरिन्छ । उहाँ कविता मात्र हैन, समालोचना विधामा पनि उत्तिकै पोख्त हुनुहुन्छ । उहाँलाई सांस्कृतिक अनुसन्धाता र अन्वेषक अनि मानवशास्त्रीय अध्येताको रूपमा पनि चिन्ने गरिन्छ । उहाँ ज्ञानको गहिराइमा पुग्नुभएको छ ।   

टंक पन्थ छत्रकोट—४ दिगाम, गुल्मीमा स्वर्गीय कुन्तादेवी पन्थको न्यानो कोखमा जन्मिनुभएको हो । उहाँका पिता को नाम रुक्मागत पन्थ हो । गुल्मीमा जन्मे पनि उहाँ दिगाममा धेरै बस्नु भएन । उहाँको कर्मभूमि पाल्पा हो । उहाँ पाल्पाबाटै साहित्यमा उदाउनुभएको हो । पाल्पाको शान्त हावापानीका बीचमा उहाँको सौम्य व्यक्तित्व निर्माण भएको छ । उहाँले नेपाली विषयमा एम.ए., एम.एड गर्नुभएको छ । 

उहाँ विद्यावारिधिको पूर्व तयारीमा हुनुहुन्छ । हाल उहाँ त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा उपप्राध्यापक पदमा कार्यरत हुनुहुन्छ । उहाँका प्रकाशित कृतिहरू ‘विमर्शका स्पर्शहरू’ संयुक्त कविता संग्रह (२०६७) ‘समय स्पर्श’ कविता संग्रह (२०७२) संयुक्त साइनो संग्रह (२०७७) ‘विश्वेश्वरप्रसाद कोइराला कृति प्रवृत्ति’ समालोचना (२०७७), ‘समय स्फोट’ कविता संग्रह (२०७७) ‘समय प्रश्न’ कविता संग्रह (२०७८) हुन् । उहाँको ‘स्वाभिमान’ खण्डकाव्य, ‘रहरमा गजल’, गजल संग्रह, ‘हाइकु संग्रह’ ‘समालोचना संग्रह’ प्रकाशोन्मूख अवस्थामा छन् । 

त्रिभुवन बहुमुखी क्यम्पस पाल्पामा सेवारत उहाँ विपि कोइराला स्मृति प्रतिष्ठान पाल्पाका अध्यक्ष, धवल पुस्तकालय पाल्पाका सचिव, साइनो वाङमय प्रतिष्ठान नेपालका सदस्य, छेस्का साहित्य नेपालका सदस्य र लुम्बिनी वाङमय प्रतिष्ठान लुम्बिनी प्रदेशका सल्लाहकार हुनुहुन्छ । 

उहाँको रूचि कविता लेखन र वाचनमा रहेको देखिन्छ । यहाँ धवल पुस्तकालय पाल्पाबाट प्रकशित ‘समय स्फोट’ कविता सङ्ग्रहको समान्य चिरफार गरिँदैछ । 

नेपाली साहित्यमा छन्द काव्यको आरम्भ कहिलेदेखि भएको हो भन्ने विषयमा अध्ययन गर्दा वि.सं. १८२६को सुवानन्द दासद्वारा लिखित ‘पृथ्वीनारायण’ कवितालाई नेपाली कविताको पहिलो बिन्दु मानिन्छ । उक्त कवितामा लोकछन्दको प्रयोग भएको छ । त्यसपछि १८३९ तिर शक्तिवल्लभ अर्यालको स्वागत छन्दमा लेखिएको ‘तनहुँ भकुण्डो’ कविता नै पहिलो वार्णिक छन्दको कविता हो । यसरी हेर्दा नेपालीमा छन्द कविताको उमेर २४० वर्षको भएको छ । 

नेपाली साहित्यकारहरूले छन्द साहित्यको विकासलाई पाँच चरणमा राखेर अध्ययन गरेका छन् । पहिलो चरण शक्तिबल्लभ अर्यालदेखि भानुभक्त आचार्यसम्मको अवधिलाई लिन सकिन्छ । यो छन्द कविताको प्रवर्तन काल हो । भानुभक्तको आगमन कालदेखि लेखनाथभन्दा अगाडिको समयलाई विकास काल भनिन्छ । लेखनाथदेखि देवकोटाको अवसानसम्मको काललाई उत्कर्ष काल मान्न सकिन्छ । मोहन कोइरालाको आगमनदेखि २०५० सालसम्मको अवधिलाई संक्रमण काल भनिएको छ । २०५० सालदेखि हालसम्मको काललाई पुनर्जागरण काल मानिन्छ । यस पुनर्जगरण कालका प्रखर व्यक्तिहरुमध्ये मोदनाथ प्रश्रित, रामप्रसाद ज्ञवाली, डा. देवी नेपाल, गोविन्दराज विनोदी, रुद्र ज्ञवाली, कविराज पौडेल, टंक पन्थ, ऋषिकेशव भारद्वाज मोदनाथ शास्त्री, अर्जुन शरलगायत धेरै व्यक्तिहरूले छन्द साहित्यमा पुनर्जागरणको शंखघोष गर्नुभएको छ । 

उहाँहरूले छन्दमा लेखेको मात्र नभई मुलुकभर छन्द जागरणमा अभूतपूर्व काम गरेको देखिन्छ । शास्त्रीय छन्दबाट आधुनिक स्वर प्रवाह गर्न सकिँदैन भन्ने मनोभावनालाई चिरेर क्रान्तिकारी स्वर प्रवाह गर्न सकिन्छ भन्ने सन्देश दिएको पाइन्छ । उनीहरू नेपाली साहित्यका हस्ती मानिनुहुन्छ । नव पुस्ताले शास्त्रीय छन्दमा आधुनिक चेतना भरेर क्रान्तिकारी भावनाको मुखर गरेर परिवर्तनमा योगदान दिएका छन् । झण्डै अस्ताएको र मुर्झाएको छन्द साहित्यलाई अगाडि बढाएका छन् । अहिले नेपाली साहित्यमा झण्डै ४ सय वार्णिक छन्दमा कविता लेखिने गरिन्छ । 

‘समय स्फोट’ कविता टंक पन्थको कलात्मक निखारता भएको महत्वपूर्ण कविता हो । कुनै कुनै कविता लेखनाथीय शैलीमा देखिन्छ । कालीगडी शैलीमा धैर्यताका साथ कुँदेर प्रकाशित भएका मनोहर कविताले पाठकलाई आल्हादित तुल्याउँछन् । रस, अलङ्कार र ध्वनियुक्त काव्यका कारणले उहाँलाई सफल कवि मान्न कर लाग्छ । कविता लेख्नु ठूलो कुरा हैन, तर कवितालाई नवरसले परिपाक बनाउने, अलङ्कारयुक्त बनाउने र ध्वन्यात्मक पार्ने काम महत्वपूर्ण हो । उहाँ यस काममा सफल मानिन्छन् ।

२०७२ सालमा ‘समय स्पर्श’ काव्य संग्रह लेखेर चर्चामा आएका कविका २०७७ सालमा आएर पाँच वर्षमा ६७ वटा सुललित कविता प्रकाशन भएका छन् । उहाँले मूलतः यस कृतिमा राष्ट्रिय स्वाधीनता हृदयको अतल गहिराइबाट प्रकट गर्नुभएको छ । समाजमा निष्ठा र समर्पणमा देखिएको खडेरी, अकर्मण्य अवस्था, अधोगति, विसंगत अवस्था, विकृत समाज, स्खलित चरित्र, कुण्ठा, पलायन, निराशा आदिले समाज अगाडि बढ्न नसकेकोमा दुःख व्यक्त गर्नुभएको छ । 
यस कविता संग्रहमा ६७ वटा कविताहरू संग्रहित छन् । यो २०७२ सालदेखि २०७७ सालसम्म लेखिएका सिर्जनाहरूको सँगालो हो । उनको पहिलो कविता ‘आमा’ हो । उहाँले आमा सृष्टि विधानकी प्रतिमूर्ति भन्दै आमाको महिमा लेख्नुभएको छ । उहाँले आमाको विभिन्न बिम्बको माध्यमबाट यशोगान गाएका छन् । आमा बादल हुन्, पर्वत हुन्, पुस्तक हुन्, साधक हुन्, सर्जक हुन् भन्दै आमाप्रति अगाध स्नेह भाव प्रकट गरेका छन् । यस लौकिक संसारमा आमा साक्षात् भगवान भएको वर्णन गर्नुभएको छ । तर, उहाँ रहस्यमा हैन लौकिकतामा विश्वास गर्छन् ।  

कवि टंक पन्थको कविता बोल्छ —

आमा शब्द छ मर्ममा अमर यो लौकिक संसारको 
आमा नै नभएर समग्र गति यो चल्दैन संसारको 
आमा सागर हुन् अनन्त गहिरो पुग्नै त्यहाँ सक्छ को ?
आमा निश्छल सारतत्व जननी स्रष्टा स्वयं सत्य हो । 

उहाँले ‘फर्क लौ देश’ कवितामा हाम्रो मनोहर पूूर्वीय सभ्यता विश्वमै अनुपम छ भन्दै पाश्चात्य सभ्यताको लहरमा लहरिएर पूर्वीय सभ्यता भुल्न लागेको हुनाले समाज विसंगत हुन थालेको बताउनु भएको छ । नेपाली उर्बर माटोले नेपाली युवाहरूलाई खाडीबाट बोलाउँदै छ भन्नुहुन्छ । 

उहाँ लेख्नुहुन्छ—
हाम्रै यी पसिनाबाट खाडी जग्मग बन्दछ, 
खनेरै गल्छ यो माटो यहाँ के छ असम्भव 
यस्तो विजोग निम्त्याई विदेशै जानु केछ र ? 
मुटुमा छ भने माया फर्क लौ देशमा अब !

​​​​​​​‘स्वाधीनता के रह्यो’ भन्ने कवितामा कविले संघीयता र गणतन्त्रको प्राप्ति पछि परिवर्तनको आभास हुन नसकेको बताउनुभएको छ । 

वास्तमा हामी के कारणले संघीयता आयो भन्नेतिर गएका छैनौं । अब हामीले गोर्खाको एकात्मक सत्ताप्रति गौरव गरेर मात्र हुँदैन, गार्खाको पृष्ठभूमिमा टेकेर रोल्पा, गौर र टिकापुरका अलग अलग आवाजप्रति समष्टिमा गौरव गर्न सिक्नुपर्छ । ती समुदायको आवाजको अस्तित्व, ती समुदायको पहिचान र सम्मानमा जानु परेको बाध्यताप्रति कविले नजरअन्दाज गरेको देखिन्छ । जिम्मेवार कविले त्यसो गर्न मिल्दैन । राज्य हाम्रो मात्र हैन, सबै जाति, भाषा, क्षेत्र, संस्कृति, रहनसहन हुनेहरुको साझा भूगोल हो । लामो समयसम्मको द्वन्द्वको व्यवस्थापन गरी सबै समुदाय अटाउने, देखिने र जोडिने नेपाल बनाउन हामी बाध्य भएर संघीयतामा पुगेका हौं । 

‘जय होस् सबकोे’ यहाँ कवितामा कविले नेपालको वर्तमान संक्रमणकालीन अवस्थालाई भन्दा परम्परागत विराशतलाई महत्व दिनुभएको छ । समाज उत्पादन सम्बन्ध फेरिएर उद्योग वाणिज्य प्रधान समाज बन्ने समयमा बसाइसराइको संक्रमण तीव्र देखिन्छ । अहिले स्वयं कवि पनि घर छोडेर सहर पस्न र बस्न विवश भएका छन् । झण्डै साठी प्रतिशत मानिसहरू गाउँबाट सहरतिर सरिसकेका छन् । सहरहरू गुल्जार बनिरहेका छन् । गाउँहरू उजाड बनिरहेका छन् । पाँच सात रोपनी र पाँच सात कट्ठा जमिनमा हट्डी घोटेर काम गर्दा न्यूनतम मासिक बीस हजार घरखर्च जुटाउन सकिदैन । त्यसैले कृषिमा बसेर काम छैन भन्दै धेरै ठूलो जनशक्ति रोजगारको लागि बजारतिर पस्यो । त्यो अरु सर्दैछ । 
कवि लेख्नुहुन्छ—

धर्ती यो बाँझियो हाम्रो अन्न उब्जाउने कता ? 
खेतबारी बँझाएरै भिसा लिई हिँडे उता 
उताकै भूत जागेर लागे लौ सब लस्कर 
पसिना देशमा पोखे नहुने कुन के छ र ? 

‘मान्छे गए खै कता ?’ शीर्षक कवितामा पनि कविले विगतको जस्तो सौम्य, शान्त र उर्बर गाउँको तस्बीर देख्न चाहनुभएको छ । तर बिडम्बना, त्यो अब रहेन, गाउँहरू उजाड छन् । सहर गुल्जार छन् । बसाइसराइको चरण भ्याइएपछि फेरि गाउँमा कृषि क्रान्ति आउँछ । त्यो क्रान्ति आधुनिक कृषि क्रान्तिको रूपमा आउनेछ । यो विकासको चक्र हो । गाउँबाट सहर सहरबाट गाउँको चक्र चल्छ ।
पन्थको कविता बोल्छ—

बस्ती उर्बर पार्न लाख थरिका खाका बनाए पनि
यो संघीय प्रदेशका महकिला प्याला सजाय पनि 
आना मात्र किनेर खुम्चिन भनी झर्दैछ सम्मातिर 
पाखा पर्वत उर्बर जमिन यो बाँझो भयो खातिर । 

कविले ‘पाल्पाली गान बन्दछ’ कवितामा पाल्पाको अलौकिक छटाको विषयमा बताउनु भएको छ । पाल्पाली मुटु र मायाको मौलिकता उजागर गरेका छन् । माडी, अर्गली, जितगढी, रिब्दीकोट, कौडे, हात्तीलेक, रिमिघाको सौन्दर्यपूर्ण प्राकृतिक छटाको बयान गर्नुभएको छ । पाल्पालीहरू कर्मपूज्य छन्, आत्मनिर्भर र स्वभिमान छन्, आशामा बाँच्छन् र लक्ष्यमा बढ्छन्, मनका धनी छन् र र्याल काढ्दैनन् भन्दै पाल्पाली स्वाभिमानको कलात्मक चित्रण गर्नुभएको छ । 
कवि लेख्नुहुन्छ—

जनता कर्ममा पूज्य मोती दाना फलाउँछन्
आत्म निर्भर भई आफ्नो स्वाभिमान उठाउँछन्
आशामा बाँच्दछन् आफ्ना लक्ष्यमा बढ्दछन् अघि
स्वार्थमा र्याल काढ्दैनन् मनका पूज्य छन् धनी । 

‘छोडी जान्न’ कविता कविको कलात्मक उत्कर्षमा पुगेको कविता हो । यो छन्दको सीमामा बाँधिएर, छाँटिएर, चिटिक्क परेर आएको कविता हो । यो काव्य वाटिकामा कवि देशभक्तिभाव प्रकट गर्नुभएको छ । 

धर्तीमै छ सुवास वास रसिलो देख्छन् कलाकारले 
मीठा छन् फलस्वादका सुरसिला लिन्छन् सदाचारले 
यो स्वर्गीय कला अनन्त गर्ने काहाँ छन् बुझौँ
खोज्ने आँट भए खुला हृदयको आलोक बाली डुलौं । 

‘बाबा’ कवितामा कविले बाबाको गीत गाउनुभएको छ । कविहरू प्रायः बाबाको गीत गाउँदैनन् । कविता लेख्दैनन् । आमाको गीत गाउँछन् । यस कृतिमा आमाप्रति भक्तिभाव मात्र देखाइएको छैन, जीवनमा सबैभन्दा बढी जोखिम मोलेर जहान परिवार पाल्ने, शिक्षा दीक्षा दिने र शुरक्षा दिने पिताजीप्रति आदरभाव र स्नेहभाव प्रकट गरिएको छ । बाबालाई ड्याड्डी र आमालाई मम्मी शब्दको प्रयोगप्रति कविको आक्रोश छ । 

ड्याड्डीमा गुरुता म देख्दिन यहाँ बाबासरी ओजन
मम्मीमा ममता म देख्दिन यहाँ आमा सरी पूजन
आस्थाभित्र बहन्छ वीरपनको सञ्चार यो रक्तमा 
बाबाकै अभिमान सान बलमा उत्साह उठ्छन् यहाँ ।  

कवि पन्थ शास्त्रीय छन्दका महत्वपूर्ण व्यक्ति मानिनुहुन्छ । उहाँले शार्दूलविक्रीडित, अनुष्टुप, र भुजङ्गप्रयात छन्दमा मनोहर कविता लेख्नुभएको छ । यी कविताहरू उत्कृष्ट लाग्छन् । कवितामा युगीन चेतना छ । कविताहरु सर्वकालिक हुनुपर्छ । सार्वजनीन हुनुपर्छ । सार्वभौम हुनुपर्छ र कवि दलीय दृष्टिकोणबाट प्रेरित भयो भने त्यसले सार्वजनीनता, सार्वभौमिकता, सार्वकालिकता पकड्न सक्दैन । कवि लेखनाथका धेरै कविताहरू कालजयी हुनाको कारण यही हो । यस कविता संग्रहका केही कविताहरु अभिव्यन्जनाका दृष्टिले उत्कृष्ट छन् । कला र भावका दृष्टिले कालजयी छन् । ९६ पृष्ठमा फैलिएको यो कविता नेपालीय साहित्य भण्डारको महत्वपूर्ण सिर्जना पुञ्ज हो । यसरी काव्यको माध्यमबाट लोकचेतना जागृत गर्ने कविप्रति कृतज्ञ हुनैपर्छ । कवि पन्थको काव्ययात्रा अझ बेस्सरी लम्किरहोस् ।       

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ८ : २० बजे