दाङमा साइकल दुर्घटनामा दुई जनाको मृत्यु

देउखुरी । दाङको घोराहीमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । 

गए राति घोराही उपमहानगरपालिका–७ बेसाईमा सौडियारबाट सर्रातर्फ आउँदै गरेको रा३प २९२२ नम्बरको मोटरसाइकलले दुई साइकललाई ठक्कर दिएको प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो । 

उक्त दुर्घटनामा परी मोटरसाइकल चालक घोराही–१५ का ३५ वर्षीय गङ्गाबहादुर कवर र साइकलयात्री घोराही–७ का १६ वर्षीय रितेश केसीको मृत्यु भएको छ । दुवैको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी मोटरसाइकलमा सवार घोराही–७ का ३८ वर्षीय वसन्त चौधरी र साइकलयात्री सोही ठाउँका १५ वर्षीय विनोद भण्डारी घाइते भएका छन् । घाइते दुवैको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ । भण्डारीको हात र खुट्टामा चोट लागेको छ । चौधरीको मुख, नाक र टाउकोमा चोट रहेको रिजालले बताउनुभयो । रासस 

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ७ : ५५ बजे