तीन प्रदेशमा वर्षाको सम्भावना

खेत बेचेको पैसा लिएर दलाल फरार, परदेश जान खोजेका ३१ युवाको बिचल्ली

​​​​​​​काठमाडौँ । गाउँमा खेती किसान गरेर जेनतेन जीविकोपार्जन गरिरहेका थिए मुकेश शाह । गाउँको खेती किसानको भरले ६ जनाको परिवार धान्न धौ धौ भएपछि घर सल्लाह गरेर उनी विदेश जाने निर्णयमा पुगे । गाउँको चिने जानेको अशोक कुमार चौधरीले विदेश लैजाने गरेको उनलाई थाहा थियो । उनी सोझै चौधरी कहाँ आफूलाई विदेश लैजान भन्दै पुगे ।

चौधरीले पनि आफूलाई पासपोर्ट र चाहिने डकुमेन्ट दिन भने । उनले चौधरीले भने अनुरूप कागजपत्र तयार पारे र बुझाए । चौधरीले विदेश जानलाई साढे २ लाख रुपैयाँ लाग्छ र सो रकम आफूलाई दिन भने । उनी पैसाको जोगाड गर्नतर्फ लागे । तर,कहीँबाट पैसा जुटेन, उनलाई कसैले पत्याएनन्  । पैसाको जोहो गर्न उनले जग्गा बेच्ने निधो  गरे । उनले ५ लाखमा आफ्नो धान खाने खेत नै बेचे । गाउँको दाइ हो भन्दै विश्वास गरेर साढे २ लाख चौधरीलाई बुझाए र तीन लाख बैङ्कमा जम्मा गरे । पैसा बुझाएको एक महिना भएपछि उनको हातमा टिकट पर्‍यो । उनी अब यत्ति भएपछि विदेश उड्नेमा ठुक्क भए । उनी विदेश उड्ने अघिल्लो दिन घरबाट खादा माला र टिका लगाएर बिदाइ भए । उनी काठमाडौँ आए । विदेश उठ्ने बेला उनलाई टिकट नक्कली भएको खबर आयो । उनी छाँगाबाट खसे जस्तै भए र मुर्छा परे । 

   ठगिको रकमसहित फरार रहेका चौधरी 

सुन बेचेर विदेश जाने पैसाको चाजोँपाजोँ मिलाएका रञ्जितको पनि पीडा उस्तै छ । श्रीमतीको भएको गहना बेचेर विदेश जाने हुटहुटीमा लागेका रञ्जितको विदेश उड्ने सपना सपनामै रह्यो । दुख सुख गाउँमै बसेका उनी टिकट नक्कली रहेको र अशोक कुमार दुवै भागेको खबर पाउनासाथ निकै भक्कानिए । दुवै हात पुर्पुरोमा राखेर उनी धेरै बेर भावुक बने । ‘अब म घर कुन मुखले जाऊ श्रीमतीले के भन्छे ?’,उनले भक्कानिँदै भने । 

यस्तो पीडा मुकेश र रञ्जितको मात्र होइन मुकेश र रञ्जित जस्तै ३१ जना युवाले अशोक कुमार चौधरीलाई साढे २,२ लाख बुझाएका रहेछन् । दुवै लैजान्छु भन्दै ३१ जना युवाबाट ७० लाख रुपैयाँ असुलेर चौधरी दुवै भागे । चौधरी दुवै जान लागेको खबर थाहा हुने बित्तिकै पीडितहरू एयरपोर्ट पुगे । एयरपोर्टका कर्मचारीहरूलाई हार गुहार गरे । चौधरीलाई रोकिदिन आग्रह गरे । तर,एयरपोर्टका कर्मचारीले पीडितहरूलाई वास्ता गरेनन् । पीडितहरू निराश हुँदै प्रहरी वृत्त गौशाला आए । प्रहरीले पनि आफूहरूको केही नचल्ने भनेपछि उनीहरू थप दिक्दार बने । उनीहरू लगत्तै श्रम रोजगार कार्यालय पुगे । त्यहाँबाट पनि केही नहुने भएपछि पीडितहरू थप चिन्तित बनेका छन् । चौधरीले आफूहरूको पासपोर्ट लगायत अन्य कागजातहरू पनि आफूसँगै लगेको पीडितहरू बताउँछन् । 

प्रहरी प्रशासन बन्यो रमिते 
प्रहरी प्रशासनले चाहेको भए चौधरीलाई पक्राउ गर्न सक्ने पीडितहरू बताउँछन् । प्रहरी प्रशासनलाई सोध्दा चौधरी वेटिङरुममा रहको तर आफूहरूले केही गर्न नसक्ने भन्दै प्रहरी प्रशासन पन्छिएको पीडितहरूको दुखेसो छ । यसरी चौधरीको टिकट क्यान्सिल गर्न हार गुहार गर्दा पनि प्रहरी प्रशासनले केही गर्न नसक्नुले प्रहरी नै मिलेको पीडितहरूको आरोप छ । चौधरी वेटिङ  रुममा र पीडितहरू बाहिर हार गुहार गर्दा पनि प्रहरी प्रशासन भने रमिते बनेर हेरिरह्यो । चौधरीले दिन दुगुना रात चौगुना ठगिरहे पनि प्रहरी प्रशासन,श्रम विभाग,एयरपोर्टका कर्मचारीहरू निरीह रहनाले पीडितहरू थप आक्रोशित बनेका छन् ।

प्रकाशित मिति : १६ असार २०७९, बिहिबार  ६ : ०१ बजे