‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

मेरो जीवनमा प्रभाव पार्ने त्रिमूर्ति — मदन भण्डारी, चन्द्रशेखर र नेपाली बाबा !

मेरो जीवनमा धेरै जनाको धेरै प्रभाव परेको होला, तर ती सबै भित्रभित्र भए पनि  भित्रदेखि बाहिरैसम्म प्रभाव पार्ने व्यक्ति थोरै भेट्टाउँछु । मेरो मन मस्तिष्क र जीवनभरि प्रभाव पार्ने व्यक्ति तीन जना हुनुहुन्छ । उहाँहरू तीन जनालाई मैले त्रिमूर्ति भन्ने गरेको छु । मलाई यसरी प्रभाव पार्ने त्रिमूर्ति हुनुहुन्छ— मदन भण्डारी, चन्द्रशेखर र नेपाली बाबा ! यी त्रिमूर्तिमध्ये मेरो सबैभन्दा पहिलो सम्पर्क मदन भण्डारीसँग भएको थियो । 

विद्यार्थी राजनीतिक कालमा झापा आन्दोलनले ममाथि पनि बेस्सरी प्रभाव पर्‍यो । लक्ष्मी निरौलाले विराटनगरका सीताराम पोख्रेलसँग मलाई पुर्‍याउनुभयो र मैले उहाँलाई भेटेपछि मेरो राजनीतिक जीवन त्यहीँबाट सुरु भयो । पार्टीको मुख पत्र वर्ग सङ्घर्ष पढ्दै अन्ततः पार्टी सङ्गठनमा आबद्ध भएँ ।

कुरो २०३३–२०३४ तिरको हो, नेकपा (माले) को–अर्डिनेसन कमिटी नेकपा (माले) गठनपश्चात् २०३६ सालको जनआन्दोलन र जनमत सङ्ग्रहको घोषणाले विद्यार्थी राजनीतिक नेतृत्व पूर्वाञ्चल क्षेत्रीय स्तरमा सम्हाल्न थालिसकेको थिएँ । त्यसबेला पार्टी केन्द्रीय कमिटीको तर्फबाट कमरेड सागर (मदन भण्डारी) ले हामी विद्यार्थी नेता र सङ्गठनलाई पनि हेर्न थाल्नुभयो । यहीँबाट २०३५ सालतिर उहाँसँग राजनीतिक सम्बन्ध गाँसिएर परिचय बढेको हो । मदन भण्डारीमा मिठो बोली, तार्किक शक्ति, दृढता र मन्द मुस्कानले सहजै प्रभाव पार्न सक्ने क्षमता थियो । २०३८ सालपछि विद्यार्थी नेता सीताराम पोख्रेलसँगको मतभेदपछि हामी पनि मदन भण्डारी र पार्टी सङ्गठनबाट टाढिन पुग्यौँ । तर, भित्रभित्रै उहाँको प्रभावबाट टाढा हुन सकेको थिइनँ । भेटघाट र सम्पर्क भने टुटिसकेको थियो । पछि २०४६ को जनआन्दोलनपश्चात् काठमाडौँको टुँडिखेलमा एक्कासि उहाँको भाषण सुन्दा अचम्मै लाग्यो । व्यक्तिगत कुराकानी मात्र सुनेको हामीले त्यसरी भाषण गर्नुहोला भनी सोचेका थिएनौँ । धाराप्रवाह मिठा उक्तिहरूका साथ गरिएको भाषणले उहाँलाई नयाँ मदन भण्डारीका रूपमा  चिन्न  पुगेँ । मेरो मनमा उहाँको प्रभाव झन् बढ्यो, बढिरह्यो । आज उहाँ भौतिक रूपमा नरहँदा पनि प्रभाव घटेको छैन, बरु बढी नै रहेको छ । 

मदन भण्डारीको प्रभाव नेपाली जनता, नेपाली माटो, मूल्यमान्यता, यहाँका असल परम्परा, नेपालमा राजनीतिक आन्दोलनका प्रवृत्तिहरूलाई समेटेर संसारका कम्युनिष्टहरूलाई आश्चर्यचकित पार्ने गरी वहाँले आफ्ना सहयोद्धाहरूसँग मिलेर प्रतिपादन गर्नुभएको मौलिक राजनीतिक सिद्धान्तका कारण हो । त्यसैले मदन भण्डारीले जननेताको सम्मान पाउनुभएको छ । 

यस्तै, अनुभव रह्यो भारतीय नेता चन्द्रशेखरको सम्बोधनमा पनि । चन्द्रशेखर जीसँग सर्वप्रथम १९८७ (२०४३ साल) तिर भेट भएको हो । नेपाली बाबाजीले विन्ध्याचलमा महायज्ञ लगाउनुभएको थियो । पछि दिल्ली र भोड्सीमा पनि उहाँसँग धेरै पटक भेट भएको थियो । बोलीचालीमा सरल, मधुर वाणी भएका चन्द्रशेखरले काठमाडौँस्थित गणेशमानजीको आँगनमा आयोजित सभामा भाषण गरेको सुन्दा अचम्म लागेको र त्यस्तै प्रभाव परेको थियो । उहाँले सारा नेपालीलाई विश्वास दिलाउने गरी बोलेको सुन्दा मैले चिनेको चन्द्रशेखरभन्दा भिन्न लाग्दथ्यो त्यहाँ । मलाई लाग्यो उहाँ नेपाल र नेपालीहरूलाई साँच्चिकै माया गर्नुहुँदो रहेछ । अर्को देशका नेताले, कुनै अर्को देशमा बोलेका आत्मीय भावसहितको कुराले प्रभाव पार्नु स्वाभाविकै हो । 

मेरो सङ्गतमा यी दुई नेतासँगको अनुभवजस्तै छ नेपाली बाबाजीसँगको अनुभव । माथिका दुई व्यक्तित्व आज हामीमाझ हुनुहुन्न । तर, प्रतिभा र क्षमताका धनी दुवै जनाले नेतृत्वको छाप छाडेर गएका छन् । 

नेपाली बाबाजी साधारण पढेलेखेका असाधारण व्यक्तित्व हुनुहुन्छ । साधारण र असाधारणबीचका ठुलो समन्वय छ उहाँको व्यक्तित्वमा, अर्थात् साधारण व्यक्तित्व तर असाधारण सङ्कल्प र क्रियाकलाप । सधैँ नितान्त नूतन रूपमा ऐतिहासिक सङ्कल्प लिएर देखा पर्नुहुन्छ । ती कृत्य हाम्रो मूल्याङ्कनभन्दा माथिका हुन्छन् । त्यसैले आज देखेको बाबा भोलि अर्को सङ्कल्पका साथ अर्को रूपमा ! नेपाल र नेपाली चिनाउने धेरै तरिका हुन सक्दछन् । एउटा आध्यात्मिक नेतृत्वले नेपाल र नेपालीलाई अन्यत्र परिचित गराउने काम आध्यात्मिक नै हुनु स्वाभाविक हो । यस क्रममा उहाँले एउटा ठुलो सङ्कल्प लिएर पूरा गर्नुभयो । त्यो थियो— ११ हजार नेपाली ब्राह्मणहरू सहभागी भएको विश्वशान्ति महायज्ञ । नेपालको पदयात्रा, मुक्तिनाथ–कन्याकुमारी पदयात्रा फेरि कन्याकुमारी–द्वारिका–बद्रीनाथ पदयात्रा । सबै दन्त्य कथाजस्तो लाग्ने तिलस्मी कथाजस्तो तर यथार्थ । फेरि काठमाडौँमा गणेश महायज्ञ र अब विन्ध्यवासिनीको नौतले मन्दिर र विन्ध्यपरिसरको निर्माण कहिल्यै नटुङ्गिने यात्राजस्तो । 

सिद्धान्त—विचार, दृष्टिकोणबाट नेपाल र नेपालीको सर्वोत्तम हितका लागि मदन भण्डारी, छिमेकी सद्भावका लागि चन्द्रशेखर र आध्यात्मिक सङ्कल्पको कार्यान्वयनको माध्यमबाट नेपाल चिनाउने नेपाली बाबा ! यी त्रिमूर्ति । 

अहिले उहाँको नाम र सम्मानमा स्थापित मदन भण्डारी फाउण्डेशनले जननेताको ७१ औँ जन्म जयन्ती सप्ताह मनाइरहेको छ । हाम्रो परम्परामा सप्ताह यज्ञ लगाउने परम्परा पनि छ । विषयवस्तुको भिन्नता भए पनि मदन जयन्ती सप्ताहले हामीलाई सांस्कृतिक परम्पराको सम्झना पनि गराएको छ । 

(लेखक सांस्कृतिक तथा धार्मिक समन्वयका अभियन्ता हुनुहुन्छ ।)

 

 

प्रकाशित मिति : १६ असार २०७९, बिहिबार  १० : ३५ बजे