सङ्घीय निजामती सेवा ऐन जारी गर्न ट्रेड युनियनको माग

काठमाडौं । राष्ट्रियस्तरका पाँच ट्रेड युनियनले सङ्घीय संसद्को चालु अधिवेशनबाट यथाशीघ्र सङ्घीय निजामती सेवा ऐन जारी गर्न नेपाल सरकारसमझ माग गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राष्ट्रियस्तरका पाँच ट्रेड युनियनले आज संयुक्त ज्ञापनलाई बुझाउँदै समयमा पेश भएका यसै सरोकारवालाका सुझावसमेतलाई समेटी संसद्बाट सो सेवा ऐन जारी गर्न माग गरेका हुन् । सरोकारवाला पक्षको सहमतिमा निजामती प्रशासनलाई सङ्घीय शासनअनुरुपको ढाँचामा व्यवस्थित गरी सेवा प्रवाहलाई चुस्त दुरुस्त, प्रभावकारी, पारदर्शी एवं नागरिकमैत्री गराउने कार्यमा सहयोग पुग्ने गरी ऐन जारी गर्न सुझावसमेतलाई समेट्न उनीहरुको आग्रह छ ।

सार्वजनिक सेवा प्रवाहको प्रमुख माध्यमका रूपमा रहेको देशको निजामती सेवालाई व्यवस्थापन गर्ने विषय सरकारको प्राथमिकतामा नपर्नु गम्भीर चिन्ताको विषय भएको उल्लेख गर्दै ट्रेड युनियनले यस विषयमा सरकार र सरोकारवाला निकायलाई ध्यानाकर्षण गराउँदै आएको जनाएका छन् ।

समग्र कर्मचारीको साझा हित र निजामती प्रशासनका मार्गदर्शनको रुपमा रहेको ऐन निर्माणको प्रक्रियामा सरोकारवाला पक्षको अर्थपूर्ण सहभागिता अपरिहार्य रहने यस्ता विषयमा सम्बन्धित पक्षसँग सघन छलफलको आवश्यकता रहेको ज्ञापनपत्रमा जनाइएको छ ।

देश सङ्घीय राज्य व्यवस्थामा गएको लामो समयसम्म पनि सङ्घीय शासन प्रणालीको कार्यान्वयनको लागि सङ्घ, प्रदेश तथा स्थानीय तहको कर्मचारी प्रशासन व्यवस्थापन एवं मार्ग दर्शन गर्ने छाता कानुनको रूपमा रहेको निजामती सेवा जारी नहुँदा मुलुकको सार्वजनिक प्रशासन अन्योल र अस्थिरताको भूमरीमा परेको ट्रेड युनियनको माग छ ।

निजामती कर्मचारी युनियन, नेपाल निजामती कर्मचारी सङ्गठन, राष्ट्रिय कर्मचारी सङ्गठन, एकीकृत सरकारी कर्मचारी सङ्गठन र नेपाल मधेस निजामती कर्मचारी मञ्चले आज प्रधानमन्त्री देउवालाई संयुक्त ज्ञापनपत्र बुझाएका हुन् । 
 

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ६ : ३१ बजे