काठमाडौँ । नेपालमा असार १५ लाई महत्त्वपूर्ण दिनको रूपमा मनाइने गरिन्छ ।
यो दिन परापुर्वकालदेखि नै दही चिउरा खाने र ‘मानो रोपेर मुरी फलाउने दिन’ को रूपमा लिइने गरिन्छ विसं २०६१ मङ्सिर २९ गते मन्त्र स्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि आजको दिनलाई राष्ट्रिय धान दिवसको रूपमा पनि मनाउने गरिएको छ । त्यसै अनुसार प्रत्येक वर्ष विभिन्न नाराका साथ विविध कार्यक्रम गरी राष्ट्रिय धान दिवस मनाइने गरिएको छ ।
राष्ट्रको कुल उत्पादनमा ३८ देखि ४० प्रतिशतसम्म रहेको कृषि क्षेत्रमा असारको रोपाइँले ठुलो योगदान राख्छ । कृषि प्रधान देश नेपालमा प्रमुख खाद्यान्न धान बालीको उत्पादनमा हुने घटबढले अर्थतन्त्रमा समेत त्यसै अनुसार प्रभाव पार्ने भएकाले रोपाइँको ठुलो महत्त्व रहेको छ ।
परापूर्वककालमा असार १५ गतेका दिन रोपाइकै क्रममा त्यस बेलाका तत्कालीन राजा रानीले पनि हिलो कुल्चिएर रोपाई कार्यक्रममा संलग्न भएको र रोपाई सकिएपछि किसानहरूसँगै बसेर दही–चिउरा खाएको किम्बदन्तीसँग पनि असार महिनाको इतिहास जोडिएको पाइन्छ ।
असारको पहिलो सातादेखि मनसुन सुरु भएपछि असार १५ सम्म खेत गरामा लाठे र रोपारहरू असारे गीतको भाकासँगै रोपाइँमा व्यस्त हुन्छन् । असार १५ सम्म लाठे र बाउसेहरूलाई आली जोर्ने र मेलो बनाउन चटारो हुन्छ भने कोरीबाटी चिटिक्क परेर मेलामा झरेका रोपारहरू कोही ब्याडमा बीउ काट्ने, कोही पखाल्ने र कोही मेलो पट्याउने तरखरमा जुटेका हुन्छन् ।
नेपालमा जुन १० अर्थात् जेठको अन्तिम सातादेखि मनसुन सुरु हुन्छ । देशमा कुल धान खेतीको करिब २१ प्रतिशत क्षेत्रफलमा मात्र सिँचाइ सुविधा उपलब्ध भएकाले बाँकी क्षेत्रमा मनसुनकै भर पर्नुपर्ने स्थिति रहेको पाइन्छ । त्यसैले मानो रोपेर मुरीफलाउने यो समयमा कृषकहरू आफ्ना अन्य काम छाडेर भए पनि असारे भेल छोपी धान बाली लगाउनमा व्यस्त हुन्छन् ।
नेपाली संस्कृति अनुसार असार १५ मा दही चिउरा खाने प्रचलन छ । यो दिन अधिकांश नेपालीले सकेसम्म जसरी पनि दही चिउरा खाने गर्दछन् ।
अघिपछि कहिल्यै दही नखानेले पनि यस दिन अनिवार्य आफ्नो परम्परा धान्न भए पनि दही खाने गर्दछन् । यो दिन दही नपाइएला भनेर मानिसहरू अघिल्लै दिनदेखि नै दही खरिद गरी राख्ने गर्दछन् । यस दिन बढी खपत भएपछि बजारमा बेलुका पख दही अभाव हुन्छ ।
पछिल्लो समय नेपालमा विभिन्न निकायमा प्रतिनिधित्व गर्ने प्रतिनिधिहरूले नै गमलामा धान रोपेर असार पन्ध्रको खिल्ली उडाएको पाइन्छ । असार १५ मनाउने तरिकामा धेरै परिवर्तन आएको छ । हिजो दही चिउरा खाएर दिनभरि खेतमा काम गर्दथे भने अहिले केही ठाउँमा होटलको परिकार पस्कने गरिएको छ। २,३ घण्टा रमाइलो गरी जानेहरूको सङ्ख्या बढ्दै गइरहेको छ ।
धान दिवसको अवसरमा विशेष रोपाइँ महोत्सव गरिन्छ । धान नेपालको प्रमुख खाद्यान्न बाली हो ।
असार १५ किसानहरूका लागि जे जति ऐतिहासिक उत्सवको दिन हो । पछिल्लो समय किसान भन्दा पनि गैर किसानहरूले देखावटी रूपमा मनाउने प्रचलन पनि व्याप्त बन्न थालेको छ ।
धान रोपाइँ नगर्ने या नजान्ने तर हिलो खेलेर सामाजिक सञ्जालमा फोटो हाल्नेहरूको होडबाजी देखिन्छ । यसले असली किसानहरूको मनोविज्ञान या योगदानमा कति गम्भीर असर गर्ला ? या काम नगर्ने तर प्रचार गर्ने मोहले कृषि प्रधान देश र समाजलाई अब कहाँ पुर्याउँला रु यो गम्भीर र सोचनीय विषय रहेको छ ।
नेपालीहरू कृषि पेसामा लागिरहँदा पनि देशमा खाद्यान्न अभाव हुन्छ र विदेशबाट आयात गर्नुपर्छ यो आखिर किन भयो रु सरकारले पत्ता लगाउनुपर्छ र किसानका हरेक समस्यालाई हल गर्नुपर्छ अनि मात्र देशमा आर्थिक समृद्धि आउँछ ।
युवा जनशक्ति पलायन, सीमित व्यक्तिका हातमा धेरै जमिन, जग्गाको खण्डीकरण, खेतीयोग्य भूमि घडेरीमा परिणत, आकासे खेतीमा निर्भर, सिँचाइको व्यवस्था नहुनु, उन्नत जातका बीउ बिजन तथा मल खाद तथा अनुदानको राम्रो व्यवस्था नहुँदा धानको उत्पादनमा ह्रास आइरहेको छ ।
यस्तो बेलामा असार १५ मा मात्रै होइन, ३ सय ६५ दिननै किसानहरूको कर्मलाई सम्मान गर्ने, हाम्रो हिलो माटोको माया गरेर समर्पित हुने सोच आउन सक्यो भने मात्र असार १५ भिन्न भिन्न किसिमले मनाउनुको पनि असली अर्थ र सन्देश हुनेछ ।
प्रकाशित मिति : १५ असार २०७९, बुधबार १२ : ३२ बजे
प्रतिक्रिया