‘नेशनल डे कन्सर्ट’ सम्पन्न

कमरेड पुष्पलालको त्याग र समर्पित सङ्घर्षशील जीवनबाट प्रेरणा लिँदै अघि बढौँ ! 

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलालको आज ९९ औँ जन्म जयन्ती हो । कमरेड पुष्पलाल जन्म वि.सं. १९८१ असार १५ गते रामेछापको भँगेरीमा भएको हो । उहाँका बुवाको  नाम भक्तलाल र आमाको नाम तुलसीकुमारी हो । उहाँ भक्तलाल र तुलसीकुमारीका माहिला छोरा हुनुहुन्थ्यो । 

कमरेड पुष्पलालको परिवार नै आन्दोलनकारी थियो । कुनै पनि प्रकारका अन्याय अत्याचारका विरुद्धमा न्याय र समानताका निम्ति सङ्गठित हुने र संघर्ष गर्ने गुण उहाँलाई घरदेखि नै पाउनुभएको थियो । उहाँका बुवा भक्तलाल न्यून वैतनिक (कम तलब पाउने)सरकारी कर्मचारी हुनुहुन्थ्यो । भक्तलाल २००९ सालमा भएको न्यून वैतनिक कर्मचारीहरूको आन्दोलन हाँक्ने कमिटीको अध्यक्ष हुनुहुन्थ्यो । सहिद गङ्गालाल उहाँका सहोदर दाजु हुनुहुन्थ्यो । 

वि.सं. १९९७ सालमा गङ्गालाल श्रेष्ठलाई तत्कालीन राणा शाहीले गोली हानेर मारेको थियो ।  यसरी मारिनुभन्दा एक दिनअघि उहाँलाई राखिएको भद्रगोल जेलमा सपरिवार भेट्न जाँदा गङ्गालालले पुष्पलाललाई भनेको ‘माइला, मैले प्रजातन्त्रका निमित्त बालेको दियोलाई तैँले प्रज्वलित पार्नेछस्’ भन्नुभएको कुरा इतिहासमा प्रसिद्ध छ । दाजु गङ्गालालको यही वाक्य नै पुष्पलाललाई राजनीतिक क्रान्तिमा लाग्ने ठुलो प्रेरणा स्रोत बन्यो । 

पुष्पलालले वि.सं. १९९८ सालमा आफ्नै अगुवाइमा नेपाल प्रजातान्त्रिक सङ्घ गठन गर्नुभएको थियो । त्यस सङ्घमा प्रेमबहादुर कंसकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र राजाराम रहनुभएको थियो । प्राप्त उल्लेखअनुसार सङ्घमा त्यस सङ्घमा सङ्गठित सबै सदस्यहरूले आ–आफ्नो रगतले प्रतिज्ञा पत्रमा सहीछाप गर्नुपर्ने नियम थियो । यो सङ्घ राणा शासनका विरुद्धमा स्थापना गरिएको राजनीतिक सङ्गठन भए पनि यसले विद्यालयहरू शिक्षा तथा विभिन्न सीपमूलक तालिम समेत दिने गर्दथ्यो ।  

भारतमा पनि राणा विरोधी क्रियाकलाप बढाउने वि.सं. १९९७ सालदेखि बन्दी जीवन बिताइरहेका नेपाल प्रजा परिषद्का नेताहरूसँगको गोप्य सम्पर्कको माध्यमबाट टङ्कप्रसाद आचार्य र अन्य नेताहरूको नेलसहितको फोटो सन् पटना (भारत) बाट प्रकाशित हुने पत्रिकामा प्रकाशित गर्न मद्दत गर्नुभएको थियो । 

वि.स. २००४ सालमा नेपाली राष्ट्रिय काँग्रेसले नागरिक अधिकारका लागि गरेको आन्दोलनको नेतृत्व पुष्पलाल श्रेष्ठ, शम्भुराम श्रेष्ठ, स्नेहलता श्रेष्ठ, साहना प्रधान आदिले गर्नुभएको कुरा पढ्न पाइन्छ । यस आन्दोलनपछि राणा प्रधानमन्त्री पद्म शमशेरले केही सुधारका पक्षमा आउनु परेको थियो । 

नेपाली काँग्रेस र अन्य राजनीतिक पार्टीहरूले राणा शासनको अन्त्यको नारा अघि सारेको भए पनि त्यसपछिको जनतालाई अधिकार सम्पन्न र राष्ट्रलाई समृद्ध र स्वाभिमानी बनाउने सन्दर्भमा कुनै दृष्टिकोण राखेको नदेखेपछि २००६ सालमा उहाँले कलकत्ता (हाल कोलकाता)मा नेपाल कम्युनिष्ट पार्टी स्थापनाको नेतृत्व गर्नुभयो । उहाँ नेपाल कम्युनिष्ट पार्टीको महासचिव हुनुभयो । 

पुष्पलालले नेपालमा कम्युनिष्ट सिद्धान्त तथा विचारधाराको प्रचार–प्रसार गर्न ‘कम्युनिष्ट पार्टीको घोषणापत्र’ नेपालीमा अनुवाद गर्नुभयो । सम्भवतः यो नै नेपाली भाषाको पहिलो प्रत्यक्ष कम्युनिष्ट साहित्य थियो । 

उहाँले २०१६ सालमा सोभियत सङ्घमा सम्पन्न कम्युनिष्ट अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिनु भएको थियो र त्यसै वर्ष चीनको पनि भ्रमण गर्नुभएको थियो । वि.स. २०१७ साल पौष १ गते राजाबाट चालिएको कदमपछि भूमिगत र निर्वासित जीवन बिताउन बाध्य हुनुभयो । तर, कठोर भूमिगत जीवनका बीचमा पनि पुष्पलालले कम्युनिष्ट आन्दोलनको विकास र विस्तारका लागि गहकिलो भूमिका निर्वाह गरिरहनु भयो । उहाँले त्यस्तो कठिन अवस्थामा पनि कम्युनिष्ट नेता कार्यकर्ताहरूको भेला गराई तेस्रो महाधिवेशन गर्नुभयो ।

नेपाली कम्युनिष्ट आन्दोलनमा आएका गुट फुट र अन्योलका बाबजुद कमरेड पुष्पालाल कम्युनिष्ट आन्दोलनको रक्षा र विकासमा लागिरहनुभयो । २०१७ सालको तत्कालीन राजा महेन्द्रको निरङ्कुश कदमपछि काँग्रेस र कम्युनिष्ट मिलेर सहकार्य गर्ने प्रस्ताव गर्नुभएको थियो । तर, त्यति बेला काँग्रेसले त्यो कुरा सुन्नसम्म पनि चाहेन । पछि, जननेता मदन भण्डारी कम्युनिष्ट पार्टीको नेतृत्वमा आएपछि मात्र पुष्पलालले अघि सार्नुभएको संयुक्त जनआन्दोलनको सपना सकार भयो । फलतः २०४६ सालको आन्दोलन सफल भयो र २०१७ सालमा राजाद्वारा अपहरित संसदीय व्यवस्था पुनः स्थापना भयो । आजको सङ्घीय लोकतान्त्रिक गणतन्त्रका प्राप्तिमा २०४६ सालको उपलब्धिको ठुलो महत्त्व रहेको छ । 

नेपाली काँग्रेस र कम्युनिष्टहरू मिलेर संयुक्त संघर्ष गरेमा मात्र नेपालबाट निरङ्कुश पञ्चायती समाप्त हुन सक्छ भन्ने भविष्यवाणी गर्ने नेता पुष्पलालको २०३५ साल साउन ७ गते भारतको नयाँ दिल्लीस्थित अल इन्डिया मेडिकल इन्स्टीच्युटमा उपचारका क्रममा निधन भयो । कमरेड पुष्पलालले आफ्नै भविष्यवाणीको संयुक्त जनआन्दोलनको परिणाम देख्न त पाउनुभएन, तर त्यो प्रेरणाबाट नै त्यो आन्दोलनको सफलताको मुख्य सूत्र हो भन्ने कुरा घाम जत्तिकै छर्लङ्ग छ । 

नेपाली जनताका महान् नेता, दूरदर्शी नेता, नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलालका अन्य अनेकौँ कालजयी मार्गदर्शनहरू छन् । उहाँ भौतिक रूपमा नरहनुभएको भए तापनि उहाँका विचारहरू हामीबीच छन् र तिनीहरूले हामीलाई सदा मार्गदर्शन गरिरहनेछन् । साथै, उहाँको त्यागी र समर्पित जीवनबाट अनेकौँ शिक्षा लिनुपर्ने त छँदैछ । आज उहाँको जन्म जयन्तीको अवसरमा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली !

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  १२ : ०५ बजे