सत्ता राजनीतिको शिकार नेपाली जनता

हामी सानोमा स्कुल पढ्दा देशमा पञ्चायती शासन व्यवस्था थियो । पञ्चायती व्यवस्थाकै गुणगान गाउनुपर्ने बाध्यकारी अवस्था थियो । पाठ्यक्रममा पनि ‘पञ्चायत’ नामको एउटा पुस्तक पढ्नुपर्थ्यो।

हामीलाई ‘नेताहरू दलगत स्वार्थमा लागेको र जनअपेक्षा अनुसार काम गर्न नसकेकाले श्री ५ महेन्द्रबाट २०१७ साल पुस १ गते देशको माटो सुहाउँदो पञ्चायती व्यवस्थाको प्रादुर्भाव गरिबक्स्यो’ भन्ने पढाइयो । पुस्तकमा दलीय व्यवस्था असफल हुनुका थुप्रै कारणहरू उल्लेख गरिएका थिए । जे पढाइयो, हामीले त्यही बुझ्यौँ ।

हामी प्रत्येक वर्ष पुस १ गतेका दिन ‘पञ्चायती व्यवस्था– जिन्दाबाद’, ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’ भन्ने नारा घन्काउँदै गाउँ पञ्चायतको कार्यालयमा जान्थ्यौँ । त्यसैगरी पुस १४ गते राजा वीरेन्द्र र कात्तिक २२ गते रानी ऐश्वर्यको जन्मोत्सव हुन्थ्यो । यी जन्मोत्सवहरू कहिले आउलान् र रमाइलो होला भनेर दिन गनेर बस्थ्यौँ ।

जन्मोत्सवमा राजा–रानीका फोटामा माल्यार्पण गरेपछि लामा–लामा भाषण हुन्थे । को–कसले के–के भन्थे हामी बुझ्दैनथ्यौँ, नबुझे पनि सुनेर बसिरहन्थ्यौँ । कतिले के–के पुरस्कार पनि पाउँथे । हामी फगत ताली पड्काउँथ्यौँ । कार्यक्रमपछि थकित, गलित र भोकाएर घर पुग्दा पनि आफ्नै खालको रवाफ हुन्थ्यो ।

समय बित्दै गयो । एकदलीय पञ्चायती व्यवस्थाले जनतालाई प्रजातान्त्रिक अधिकार नदिएको भन्दै हामीलाई विरोधमा उत्रन लगाइयो । त्यति बेला भनिएको थियो– ‘राजाका कारण देशले दुःख पायो ।’ ‘जनताले तिरेको करले दरबारले मोज ग¥यो ।’ होला कि भनेर हामी पञ्चायती व्यवस्था विरुद्धमा आन्दोलनमा उत्रियौँ । 

त्यसो त २००७ सालअघि हाम्रा पुर्खालाई पनि ‘जनताले दुःख पाउनुको एक मात्र कारण राणा शासन हो’ भनिएको थियो । अनपढ पुर्खाहरूले त्यही बुझे । जानी–नजानी राणा शासन फ्याँक्न क्रान्ति गरे । तर २००७ सालको प्रजातन्त्रपछि देश झन् अस्थिर बनेको थियो ।

२०१५ सालको आम निर्वाचनमा देशको इतिहासमै पहिलो पटक नेपाली काङ्ग्रेसको दुई तिहाइको सरकार बनेको थियो । त्यसलाई पाखा लगाएर राजा महेन्द्रले २०१७ सालमा मौलिक व्यवस्थाको नाममा पञ्चायत जन्माएका थिए । पञ्चायत विरोधी आन्दोलनमा हामी पनि डराई–डराई, लुकी–लुकी सहभागी हुन्थ्यौँ ।

उति बेला हामीलाई भनिएको थियो, ‘देशमा राजाका मुठ्ठीभर व्यक्तिको हालीमुहाली चल्यो ।’ ‘एकदलीय पञ्चायती व्यवस्था नै देश विकासको बाधक हो ।’ ‘नागरिकका मौलिक हक र अधिकारमाथि प्रतिबन्ध लगायो ।’ ‘एकदलीय व्यवस्थाले नागरिकलाई दाससरह बनायो ।’ ‘जनताले दुःख पाए ।’ ‘विकास अवरुद्ध भयो’ आदि इत्यादि । नेताहरूले भनेका कुरा सत्य होला भनेर पत्याइयो । पञ्चायत विरोधी आन्दोलनमा सक्रिय भएर लागियो ।

३० वर्षसम्म पञ्चायतले जनतालाई दमन गरेको भनेर जनतालाई आन्दोलित बनाउने काम भयो । ‘निर्दलीय पञ्चायती व्यवस्था मुर्दावाद’ भन्दै जनता सडकमा ओर्ले । २०४६ सालमा त्यसलाई पनि मिल्काइयो । प्रजातन्त्रको पुनर्बहालीले देशमा विकास, सुशासन र समृद्धि आउला भन्ने आशा गरियो । चुनावमा जनताले नेपाली काङ्ग्रेसलाई जिताए । अबचाहिँ केही हुन्छ भनेर बुरुक्क उफ्रियो । तर, परिणाम निराशाबाहेक केही भएन । जनताका दुःखका दिन जस्ताका तस्तै रहे ।

प्रजातन्त्रको पुनर्बहालीको केही वर्षमै केही मान्छेहरू जङ्गल पसे । आमजनताको दीर्घकालीन मुक्ति र मुलुकको आमूल परिवर्तनका लागि हतियार उठाउनुको विकल्प छैन भन्दै ‘जनयुद्ध’ भयो । ठुलै उपलब्धि हुनेछ भनेर एक थरी जनता जमेरै लडे । अब त होला भनियो । त्यो पनि पत्याइयो । हजारौँले ज्यान दिए, हजारौँको ज्यान लिए । मार्ने–मर्ने प्रतिस्पर्धा भयो । तर विनाश र विध्वंसबाहेक अरू खासै उपलब्धि भएन । नेताले जनतालाई सरकारमा जाने भर्‍याङ मात्रै बनाए । 

त्यति बेला जनतालाई धेरै सपना बाँडिएको थियो । ठुलै आशा देखाइएको थियो – ‘नेपाली जनताले अघिल्ला राजनीतिक परिवर्तनहरूमा जे–जे पाउन सकेका थिएनन्, अब त्यो सबै प्राप्त गर्नेछन् ।’ ‘हामी र हाम्रा सन्ततिले सुख, शान्ति र समृद्धि पाइनेछ ।’, ‘मुलुकमा रहेका सबै प्रकारका विभेद अन्त्य हुनेछन्’ ‘मुलुकमा भ्रष्टाचार, अन्याय, अत्याचार सबै अन्त भएर सुख,शान्ति र समृद्धि छाउनेछ’ आदि आदि ।

देशमा गणतन्त्रको नाममा २०६२÷६३ सालमा दोस्रो जनआन्दोलन भयो । लामो सङ्घर्ष, हजारौँको बलिदानी, पटक–पटकका निर्वाचन र ठुलै रस्साकस्सीपछि २०७२ सालमा एक थान संविधान बनाइयो । सिंहदरबारको अधिकार गाउँ गाउँमा पुर्‍याउने भनेर सङ्घीयता लागू गरियो । तीन तहका सरकार बनाएर विकासको मूल फुटाउने भन्दै देशैभरि सयौँ मन्त्री र हजारौँ सांसदहरूको ठुलै फौज निर्माण गरियो । मुलुकभरि मन्त्री नै मन्त्री भए । धेरै नेताले पद,पावर र कुर्सी पाए । तर आम जनतालाई निराशा र गरिबीबाहेक केही सकारात्मक उपलब्धि भएन । 

फेरि कम्युनिष्टहरूलाई चुनावमा जिताए मुलुकमा स्थिरता र समृद्धि आउँछ भनियो । जनता सुखी र समृद्ध हुन्छन् भनियो । देशमा शान्ति छाउँछ भन्ने आशा देखाइयो । त्यही आशामा २०७४ सालमा करिब दुई तिहाइ मत दिएर जनताले कम्युनिष्टहरूलाई सडकबाट सरकारमा विराजमान गराए । तर विडम्बना, पदीय भागबन्डा, कुर्सीको लुछाचुँडी र व्यक्तिगत स्वार्थ नमिलेपछि प्रतिपक्षको जनमतप्राप्त नेपाली काङ्ग्रेसलाई सरकार सुम्पेर कम्युनिस्टहरुले नाना थरी तमासा देखाइरहेका छन् ।

पटक पटक अक्षम भनिएका शेरबहादुर देउवा यतिखेर प्रधानमन्त्री छन् । देउवा र देउवाको पार्टी विरुद्ध दश वर्ष जनयुद्ध गर्ने माओवादी पार्टी पनि सरकारमै सामेल छ । पन्ध्र वर्ष एमालेमा एक छत्र शासन गरेका माधव नेपाल र झलनाथ खनालको पार्टी पनि सरकारमै छ । तर मुलुकमा सरकार छ वा छैन, जनताले अनुभव र अनुभूतिसमेत गर्न पाएका छैनन् ।    

यतिखेर मुलुकमा चरम भ्रष्टाचार छ । अर्थतन्त्र डामाडोल भएको छ । महँगी र अभावले सीमा नाघेको छ ।  तमाम खाले बेथिति, विसङ्गति र अनियमितता बढेका बढ्यै छन्  । मुलुकभरि दुःख छ, पीडा र अभाव छ ।  रोग छ, शोक छ । जनता अत्यन्तै निराश र सहाराविहीन भएका छन् ।

सरकारमा बसेकाहरूका सोच र गतिविधिमा जनताले भोगेको सास्ती र पीडाप्रति कुनै सहानुभूति देखिँदैन । बरु उद्दण्डता, नातावाद र कृपावाद झन् बढेको छ । सत्ताका लागि लुछाचुँडी अझ बढी छ ।  मानवीय संवेदना र संवेदनशीलता समेत नभएका यी नेताहरू कसरी चुनिएछन् कुन्नि ? पश्चात्ताप र दुःखको विषय यही छ ।

हिजो ‘जनताले समयमा मल पाएनन्, बजार पाएनन्, मूल्य पाएनन्’ भनियो । ‘सुरक्षा पाएनन्, औषधि पाएनन्, शिक्षा पाएनन् ’ भनियो ।  रोजगारी पाएनन् र एउटा नागरिक हुनुको सम्मान समेत पाएनन् ’ भनियो । ‘आन्दोलन र सङ्घर्ष गरे सबै पाइन्छ’ भन्ने आशा देखाइयो । हरेक पटक जनताले नै त्याग गरे, जनताले नै बलिदानी दिए  । फलस्वरूप नेताले पद र कुर्सी पाए तर आज देश र जनताले के पाए ? खै जनताको त्यत्रो सङ्घर्ष र बलिदानीको मूल्य ? आम जनताले राणा, पञ्चायत, राजतन्त्र, प्रजातन्त्र–लोकतन्त्र र गणतन्त्रका नाममा के प्राप्त गरे ? जनतालाई बाँडिएका सपना कहिले पूरा हुन्छन् ? आज यी तमाम प्रश्नहरू उठेका उठ्यै छन् ।

नेपाली जनतालाई उहिले राणाहरूले दुःख दिए । पञ्चायतले पिल्सिरह्यो । राजावादीले लुटिरहे ।  बहुदलवादीहरूले सताइरहे अनि आज गणतन्त्रवादीहरूले ठगिरहेका छन् । जनतालाई दुःख दिने, सताउने, लुट्ने, ठग्ने र ढाँट्ने शृङ्खला विगतदेखि हालसम्म निरन्तर जारी छ । 

नेपाली जनताका पटक–पटकका सङ्घर्षहरूले थुप्रै व्यवस्था बदलिए, थुप्रै व्यक्ति बदलिए तर शासकको मूल प्रवृत्ति भने बदलिन सकेन । जनताले जुन प्रवृत्तिका विरुद्धमा पटक–पटक सङ्घर्ष गरेका थिए, बलिदानी दिएका थिए, आज तिनै प्रवृत्तिहरू भेष बदलेर अनेक नाममा नेपाली जनतालाई पुनः लुटिरहेका छन्, ठगिरहेका छन् । 

जनताको ठुलो बलिदानीबाट प्राप्त बहुदलीय प्रजातन्त्रदेखि गणतन्त्रसम्म आलोपालो सत्तामा पुगेकाहरूले जनतालाई एकपछि  अर्को नाममा लुटिरहेका छन् ।  यो ठगिने, लुटिने र सिकार हुने क्रमको अन्त कहिले हुन्छ ? जनताका आकाङ्क्षा र सपनाहरू पूरा गर्न नेपाली जनताले फेरि अर्कै खालको सङ्घर्ष गर्नुपर्ने त हैन ? अब भने स्थायी उपचार र समाधान खोज्नै पर्छ ।

(लेखक रुपन्देहीका शैक्षिक अगुवा हुनुहुन्छ ।)

 

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ११ : ४९ बजे