तीन प्रदेशमा वर्षाको सम्भावना

उन्नाइसौँ धान दिवस : मल बिनाको रोपाँई गर्दै किसान

देउखुरी । ‘छुपुमा छुपु हिलोमा धान रोपेर छोडौला,
लगाइ  पानी बनाइ कुलो आएर गोडौला’

यो गीतमा भनेझैँ दाङका किसान छुपुमा छुपु गरेर धान रोप्ने समयमा मलका लागि सरकारी संस्थामा धाउन बाध्य छन् । नेपाली कृषकका लागि असार १५ एउटा मौलिक पर्व नै हो । हिलोलाई छुने, दही चिउरा खाने दिनको छुट्टै महत्व रहेको छ । उन्नाइसौँ धान दिवस मलबिनाको रोपाइँ गरेर दाङका किसानले मनाउँदैछन् ।

कृषि ज्ञान केन्द्र दाङको आयोजनामा लमही–४ मा  रहेको हरितक्रान्ति सहकारी संस्थाको सहयोगमा १९औँ धान दिवस मनाउन थालेको कृषि ज्ञान केन्द्र दाङका प्रमुख बुद्धिराज घिमिरेले जानकारी दिनुभयो । देउखुरीका किसानको खेतमा गएर धान रोपेर दिवस मनाउने तयारी छ । दिवस त मनाउनुप¥यो, बिनामल दिवस मनाउन बाध्य भयौँ”, उहाँले भन्नुभयो ।

नेपाल सरकारले अनुदानमा उपलब्ध गराउने युरिया मलको अभाव भएपछि किसानले मल नछरेरै धान रोपाइँ गर्न थालेका छन् । यसरी खेती गर्दा धान उत्पादन घट्ने हो कि भन्ने चिन्ता किसानलाई परेको छ । राप्ती गाउँपालिका–३ का प्रविन चौधरीले यसपालि मल नछरी धान रोप्नुभएको छ । सरकारले अनुदानमा उपलब्ध गराउने रासायनिक मल युरिया नपाएपछि मलबिनै धान रोप्नुपरेको उहाँले बताउनुभयो । 

“मलका लागि धेरै ठाउँ धाइयो, तर पाइएन । मल नपाए पनि तयार भएको धानको बीउ खेर जान दिन भएन”, उहाँले भन्नुभयो, “यसपालि मलै नछरी धान रोपियो, उब्जनी त के हुने हो”, धानखेती सुरु हुँदा दाङका  किसानले यस वर्ष अनुदानको रासायनिक मल पाउन सकेका छैनन् । 

अधिकांश किसानले मल नपाउँदा रोपाइँ गर्न गाह्रो परेको छ । “मानो रोपेर मुरी फलाउने समय हो, सप्रियो भने त ठिकै छ  । सप्रिएन भने वर्षभरि के खाने भन्ने समस्या पर्ने भयो”, लमही–३ का कमल चौधरीले भन्नुभयो, “पानी पर्न थाल्यो । धानको बीउ रोप्नलाई तयार भइसक्यो, मल छैन । मल नछर्दा उब्जनी हुँदैन”, उहाँले भन्नुभयो । 

दाङका किसानले धानखेतीका लागि चाहिने रासायनिक मलको अभावमा धानखेती गर्दैछन् ।  किसानलाई सरकारले अनुदानमा रासायनिक मल उपलब्ध गराउँदै आएको थियो । यस वर्ष किसानले युरिया मल पाएका छैनन् । डिएपी र पोटास थोरै मात्रामा पाएका छन् ।

जिल्लामा करिब ३९ हजार ५०० हेक्टरमा धान रोपाइँ हुने ज्ञान केन्द्रको भनाइ छ । बुधबारसम्म जिल्लाभर करिब १० प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ भने देउखुरी क्षेत्रमा मात्रै रोपाइँ सुरु भएको कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले बताउनुभयो ।

नेपालमा २०६१ देखि असार १५ लाई धान दिवसका रूपमा मनाउँदै आएको छ । कृषिमा परनिर्भरता बढ्दै गएका कारण उत्पादकत्व बढाउने उद्देश्यले नेपालमा धान दिवस मनाउन थालिएको हो । जिल्लामा अहिले मल मौज्दात छैन । केही मात्रामा मल ल्याएको र त्यो पनि सहकारीमार्फत वितरण गरिएको साल्टट्रेडिङ कर्पाेरेशनका प्रमुख रामबाबु गुप्ताले जानकारी दिनुभयो । सरकारले समयमा मल उपलब्ध नगराउँदा समस्या भएको उहाँले बताउनुभयो ।

कृषि सामग्री कम्पनी लिमिटेडसँग रासायनिक मल नभएको कृषि सामग्री कम्पनी लिमिटेड दाङका प्रमुख टोपाराम गौतमले बताउनुभयो, “युरिया मल २० वा २५ दिनमा आउँछ कि भन्ने लागेको छ ।” यो समयमा जिल्लामा एक हजार ५०० मेट्रिक टन युरिया र एक हजार मेट्रिक टन डिएपी आवश्यक रहेको लिमिटेडले जनाएको छ । 
 

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ११ : १६ बजे