मनसुन क्रमशः क्षीण हुँदै

डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

७१ औं जन्मजयन्तीमा जननेता मदन भण्डारीको सम्झना

काठमाडौँ । नेकपा (एमाले) का तत्कालीन महासचिव जननेता मदन कुमार भण्डारीको आज ७१ औं जन्मजयन्ती विविध कार्यक्रमसहित मनाइँदै छ । नेकपा(एमाले) र मदन भण्डारी फाउन्डेसनले सातै प्रदेशमा विभिन्न कार्यक्रमको आयोजना गरेका छन् भने पार्टीका जनसंगठनहरूले पनि मदन जयन्तीका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।

यसै अवसरमा प्रेस चौतारी नेपालले ‘जनताको बहुदलीय जनवाद र अभिव्यक्ति स्वतन्त्रता’ विषयक अन्तरसंवाद कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रमलाई महासचिव शंकर पोखरेल, प्रचार विभाग उपप्रमुख विष्णु रिजाललगायतले सम्वोधन गर्नुभएको थियो ।

त्यसैगरी ७१ औं मदन जयन्तीकै अवसरमा प्रेस चौतारी नेपाल रूपन्देहीले पनि ‘जनताको बहुदलीय जनवाद र अभिव्यक्ति स्वतन्त्रता’ विषयक अन्तरसंवाद कार्यक्रम  गरेको थियो । सो कार्यक्रमलाई उपाध्यक्ष विष्णु पौडेलले सम्वोधन गर्नुभएको छ । 

आज विहानै कोटेश्वरस्थित मदन भण्डारी बाटिकामा फाउन्डेसनकी अध्यक्ष उषाकिरण भण्डारीसहित पुगेर मदनको शालिकमा माल्यार्पण गरियो ।

ताप्लेजुङ जिल्लाको ढुङ्गेसाँघुमा २००९ साल असार १४ गते पिता देवीप्रसाद भण्डारी र माता चन्द्रकुमारीका माहिला छोराको रूपमा जन्मिनु भएका भण्डारीको ४१ वर्षको उमेरमै देहान्त भएको थियो ।

उहाँले पार्टी नेतृत्वको हिसावमा पनि जम्माजम्मी चार वर्ष मात्रै नेतृत्व गर्नुभएको थियो । त्यति छोटो समयमा पनि उहाँले नेपालको कम्युनिष्ट आन्दोलनलाई निकै ठूलो ऊर्जा दिनुभएका कारण अहिले पनि उहाँको सबैले स्मरण गर्ने गरेका छन् । 

२०४६ भदौ ९ देखि १४ गतेसम्म सिराहामा आयोजित नेकपा (माले)को चौथो महाधिवेशनबाट भण्डारी महासचिवमा निर्वाचित हुनुभएको थियो भने २०५० जेठ ३ गते उहाँको षड्यन्त्रमूलक ढङ्गले हत्या गरिएको थियो ।  संसदीय वा राजकीय जिम्मेवारीका सन्दर्भमा करिब दुई वर्ष प्रतिनिधिसभा सदस्यका रूपमा काम गर्ने अवसर प्राप्त गर्दा पनि उहाँले नेपालको कम्युनिस्ट आन्दोलनलाई लोकतान्त्रीकरण गर्ने नविन विचारकको छवि बनाउनु भएको थियो ।

उहाँ छोटो समयमा नेपाली राजनीतिमा स्थापित नेताको रूपमा परिचित हुनुहुन्छ । 

उहाँले विश्वका विभिन्न मुलुकमा कम्युनिस्ट शासन ढलिरहेका बेला नब्बेको दशकमा  ‘जनताको बहुदलीय जनवाद’ मार्फत माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्दै एमालेलाई जनतामा स्थापित गराउन भूमिका खेल्नुभएको थियो । 

अहिले पनि जनताको बहुलीय जनवादको चर्चा गर्दै गर्दा आजको बदलिँदो अवस्थामा कम्तीमा पार्टीको लोकतान्त्रीकरण, समाजको लोकतान्त्रीकरण र राज्यको लोकतान्त्रीकरण– यी तीनवटा आयामलाई एक आपसमा अन्तरनिहित गरेर हेर्यौं भने मात्रै जबजको सिङ्गो चित्र पाउन सकिन्छ । त्यो भनेको मदनकै योगदान हो । 

जननेता मदन भण्डारीलाई नेपालमा बामे सर्दै गरेको र प्रमुख शक्तिका रूपमा स्थापित भइनसकेको कम्युनिष्ट आन्दोलनलाई मूलप्रवाहीकरण गरेर प्रमुख शक्तिका रूपमा स्थापित गर्ने दूरद्रष्टाका रूपमा समेत हेरिन्छ ।

समग्रमा, कम्युनिष्ट आन्दोलनको लोकतान्त्रीकरण, समाजको लोकतान्त्रीकरण र राज्यको लोकतान्त्रीकरणका सन्दर्भमा मदन भण्डारीले अघि सारेका अवधारणाहरू आजको सन्दर्भमा हाम्रा मार्गदर्शन हुन् ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ३ : २३ बजे