तीन प्रदेशमा वर्षाको सम्भावना

साधारण सभा नगरेको भन्दै उपभोक्ताले जब खानेपानी समितिका अध्यक्षको कार्यकक्ष घेरे..

महोत्तरी । बर्दिवास नगरपालिकाको खानेपानी उपभोक्ता समितिले लामो समयसम्म साधारणसभा नगरेको भन्दै उपभोक्ताहरूले ध्यानाकर्षण गराएका छन् । मंगलबार कार्यालयमै पुगेर स्थानीय उपभोक्ताले अविलम्ब साधारणसभा गरेर खानेपानी उपभोक्ता समितिको नयाँ नेतृत्व चयन गर्नुपर्ने माग गरेका हुन् ।

उपभोक्ता समितिले विधानअनुसार काम नगरेको, आयव्यय सार्वजनिक नगरेको र कार्यअवधि सकिँदा पनि मार्गप्रशस्त नगरेको जस्ता आरोप लागेका छन् । विधानानुसार तीन वर्षमा कार्यकाल सकिनुपर्ने भए पनि सात वर्ष बितिसक्दा नयाँ नेतृत्व चयन हुन सकेको छैन । 

‘म्याद नाघेको समितिले कुनै पनि निर्णय र चेकमा हस्ताक्षर गर्न नपाइने विधानमा ब्यवस्था छ, तर उहाँहरूले निर्वाध रूपमा हस्ताक्षर गरेर आर्थिक कारोबार भएको देखिन्छ,’ स्थानीय देवनारायण महतोले भन्नुभयो । 

तर खानेपानी उपभोक्ता समितिबाट कुनै पनि प्रकारको अनियमितता नभएको समितिका अध्यक्ष भोला खड्काको दाबी छ । 

‘नियतवश हामिले सार्वजनिक गर्न कन्जुस्याइँ गरेका हैनौ अघिल्ला समितिले गरेको ट्रेन्डअनुसार चल्दा यो अवस्था सिर्जना भएको हो,’ अध्यक्ष खड्काले भन्नुभयो।

तर उपभोक्ताहरूले खानेपानीभित्रको पारदर्शिता यथाशीघ्र सार्वजनिक गर्नुपर्ने अडान लिएका छन् । खानेपानी कार्यालयस्थित अध्यक्ष खड्काको कार्यकक्षम पुगेका उपभोक्ताहरूले साउनभित्र साधारणसभा सकेर भदौमा निर्वाचन गर्नुपर्ने माग राखेका छन् ।

खड्काले उपभोक्ताहरूको मागप्रति आफू संवेदनशील भएको र साउनभित्र सम्पूर्ण काम सक्ने बताउनुभयो । अझै पनि विधि विधानविपरीत खानेपानी उपभोक्ता समितिले मनोमानी गरे खबरदारीका कार्यक्रम नै गर्ने समाजसेवी शकर फुयाँलले चेतावनी दिनुभयो । 

खड्का निर्वाचित वडाध्यक्ष पनि हुनुहुन्छ । जनताको प्रत्यक्ष नभई नहुने खानेपानी जस्तो विषयमा कसैले पनि हेलचेक्र्याइँ गर्न नहुने अर्का  उपभोक्ता निरज अधिकारीको तर्क छ ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  २ : ३३ बजे