तीन प्रदेशमा वर्षाको सम्भावना

विपद् जोखिम न्यूनीकरणका लागि स्थानीय तहमा तालिम

सिन्धुपाल्चोक । विपदबाट जोगिनको लागि सशस्त्र प्रहरी बल, नेपाल नं‍. १६ गण हेडम्वाटर सिन्धुपाल्चोकले स्थानीय तहहरूका लागि तालिम प्रदान गरेको छ ।

मेलम्चीमा आइतबारदेखि दुई दिनसम्म सञ्चालन भएको तालिममा विपद् प्रतिकार्यमा गरिनुपर्ने योजनाको बारे प्रशिक्षण दिइएको थियो । तालिममा जनप्रतिनिधि, महिला र स्वयंसेवक गरी २८ जनाको सहभागिता रहेको थियो । तालिममा प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले विपद् प्रतिकार्यमा सबै एक भएर लाग्नुपर्ने बताउनुभयो । विपद् आउनै नदिने र आइहाले सबै मिलेर प्रतिकार्य गर्नुपर्नेमा उहाँको  जोड थियो ।

बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको व्यवस्थापन तथा जिल्ला बिपद् व्यवस्थापन समिति सिन्धुपाल्चोकको संयोजनमा तालिमको आयोजना गरिएको थियो । स्थानीय विपद् व्यवस्थापन समिति र नेपाल स्काउट बागमती प्रदेश तालिमको स्थानीय संयोजक रहेका थिए ।

विपद् व्यवस्थापन र न्यूनीकरणमा मेलम्ची नगरपालिका क्षेत्रमा यो तालिम प्रभावकारी रहेको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले बताउनुभयो  । ‘नेपाल आर्मीले गरेको डेमो र सशस्त्र प्रहरीले दिएको यस्तो तालिम एकदमै प्रभावकारी छ’, तामाङले भन्नुभयो  । विपद् व्यवस्थापनको  सामग्री खरिदका लागि नगरपालिकाले प्रत्येक वडामा  ५० हजार बजेट पठाएको तामाङले जानकारी दिनुभयो । नगरमा पनि आवश्यक सामान तयारी हालतमा राखिएको उहाँले बताउनुभयो । अबको ३ महिना तयारी अवस्थामा रही जनधनको रक्षा गर्न सबै एक भएर लाग्नुपर्नेमा उहाँको जोड थियो । 

दुई दिने तालिममा सहभागीलाई नगर प्रमुख आइतमान तामाङ, प्रमुख जिल्ला अधिकारी, नगर उपप्रमुख उमा प्रधानले प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  १ : १५ बजे