तीन प्रदेशमा वर्षाको सम्भावना

सम्झनामा मदन भण्डारी

गुल्मी ग्वादी स्कुल पढ्थे । मदन भण्डारीको भाषण साह्रै मन पर्थ्यो । उनका भाषणका केही अंश कण्ठस्थ थिए । उनलाई प्रत्यक्ष देख्ने रहर थियो ।

एक दिन उनी तम्घास आमसभामा आउने थाह पाएँ । घरबाट तम्घास टाढा थियो । म स्कुलमा गयल हुन चाहँन्नथें । उता मदन भण्डारीलाई प्रत्यक्ष हेर्ने अवसर पनि गुमाउन चाहान्नथें । दुवै कुरा मिलाउन बडो गाह्रो थियो । साथी ताराबहादुरसँग सल्लाह मागेँ । उनको सल्लाह अनुसार १० बजे हाजिर हुने बित्तिकै दुवै जना उठेर कक्षा शिक्षकसँग मदन भण्डारीको भाषण सुन्न तम्घास जाने अनुमति माग्यौँ । हामीले तत्काल अनुमति पायौँ पनि । ग्वादी स्कुलबाट बेतोडले दौडेर सिन्दुरे घर पुग्दा १०.४५ भइसकेको थियो । चलाखीपूर्ण ढङ्गले स्कुलबाट तम्घास जान छानिएको कुरा गरेर दुवैको घरबाट अलिअलि पैसा सहित अनुमति प्राप्त गर्न सफल भयौँ ।

हामी निकै छिटो छिटो निर्णय गरिरहेका थियौँ । जेठको महिना पसिनाको धारा सहित टकसार पुग्दा करिब १२ बजेको थियो । टकसारबाट तम्घासकाेलागि बस पाइन्थ्याे तर निकै समय कुर्नु पर्थ्यो । बाटो कच्ची थियो । बडो हताश मनले २ घण्टा गाडी कुरिरह्यौँ । करिब २.१५ तिर छत पनि भरिएको बुटवल देखि तम्घास लेखेको बस ढल्क ढल्क गर्दै आइपुग्यो । म छोटो गाँठीको मान्छे हत्तपत्त छतमा चढ्दै थिएँ खलासीले थर्कायो । ताराबहादुर अलि अग्ला थिए । उनले तम्घास जाने हो भनेर अलि चर्को बोले । खलासीले भन्यो, `बीस रूप्पै लाग्छ नि दुईजनाकाे ।´ ताराबहादुर अझ कड्किए – `के को बीस रूप्मे ? दुई जनाको दश दिने हो विद्यार्थी हो हामी ।´ खलासी बोलेन । हामी खुरुखुरु छतमा गयौँ । २.३० तिर बस ढल्कँदै तम्घास तिर हिँड्यो । हामी रोमाञ्चित भयौँ । गैँडाकोटमा पुगेपछि भाडा तिर्याैं । तम्घास पुग्दा करिब बेलुका ६ बजेको थियो । आमसभा सकिएको थियो । मान्छे बजारभरि र घर फर्किने क्रममा तितर वितर हुँदै थिए । भोक लाग्या छ । मदन भण्डारीलाई देख्न नपाएर अर्को पिडा थपियो । मलाई भण्डारी छापाखानाको माथि तलामा एमालेको कार्यालय छ भन्ने थाह थियो । आमसभा सकिएपछि पक्कै पार्टी कार्यालय गए हानेला भन्ने लख काटेर हामी पार्टी कार्यालयतिर गयौँ ।

पार्टी कार्यालयमा भिड थियो । मान्छे आउँ जाऊ गरिरहेका थिए । हामी पनि कार्यालयमा प्रवेश गर्याैं । कसैले रोकटोक गरेन । भित्र मदन भण्डारी सहित केही नेता कुर्सीमा बसेका थिए । एउटा चिया टेबुल थियो अगाडि । चियाले भरिएका केही थान धर्के सिसाका गिलास राखिएको थियो । एउटा थालमा करिब गोलाकार केही बिस्कुटका टुक्राहरू थिए । कोठाभरि मानिसको भिड थियो । पार्टीका मान्छेले आफ्ना परिचय दिइरहेका थिए । हामीलाई अरू केही गर्नु थिएन बस् मदन भण्डारीलाई हेर्नु थियो ।

कालो भादगाउँले टोपी, चस्मा लगाएका, ठुटे सर्ट र कपडाकै पाइन्ट लगाएका थिए । जुत्ता पनि कपडाकै थिए सायद । झुसिला र बलिष्ठ पाखुरा । करिब पाँच मिनेट अघाउन्जेल मदन भण्डारीलाई हेरेपछि हामी त्यहाँबाट निस्कियौँ । पेटभरि चिया र डोनट खायौँ । बचेको पैसाले अलिकति चिउरा र थोरै चिनी किन्यौँ । अब चिन्ता थियो घर जाने । साँझ पर्दै थियो । बस पाइने सम्भावना थिएन । बाटोमा मानिसहरू हिँडिरहेका थिए । हामी पनि हिँडेरै जाने सुर कस्यौँ ।

बाटामा हिँड्ने मानिस कोही गाैंडाकाेटका, कोही वीर बासका, कोही लुम्राका, कोही कोही त अझ टकसार सम्मका भएको पनि मेसो पायौँ । चिनी मिसाकाे चिउरा चपाउँदै सट कट हान्दै रातभर हिँडिराख्याैं । टकसार भैरव स्थान आउँदा करिब रातको ३ बजेको उङ्दो हो । थकाइले चुर परेका थियौँ । करिब २ घण्टा एउटा गोठको परालमा निदायौँ । आमाले दैलो लिप्दै गर्दा त घरै पुगेका थियौँ । मदन भण्डारीलाई हेरेर अर्को दिन हाजिर हुन स्कुल पुग्न सकेको कुरा साथीहरूलाई सुनाउन पाएको क्षण कम्ता रोमाञ्चकारी थिएन । मदन भण्डारीको आज परेको जन्म दिवसमा उनलाई हार्दिक श्रद्धाञ्जली !

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  १ : ०३ बजे