काठमाडौं । कम्युनिष्ट विचारक तथा नेकपा (एमाले)का तत्कालीन महासचिव मदन भण्डारीको आज ७१ औँ जन्मजयन्ती हो ।
जननेता मदन भण्डारीको जन्म विसं २००९ असार १४ मा ताप्लेजुङ जिल्लाको ढुंगेसाँगु गाउँमा भएको थियो ।
अर्का वरिष्ठ कम्युनिष्ट नेता पुष्पलालले स्थापना गरेको विद्यार्थी आन्दोलन जनवादी सांस्कृतिक मोर्चाको केन्द्रीय सदस्य बनेर उहाँले २०२९ सालबाट आफ्नो राजनीतिक यात्रा सुरु गर्र्नुभएको थियो । करिब १७ वर्ष भूमिगत र चार वर्ष खुला राजनीतिक जीवनयापन गर्र्नुभएका प्रखर वक्ताको ख्याति कमाउनुभएका जननेता भण्डारीको चितवनको दासढुंगामा २०५० जेठ ३ गते कार दुर्घटनामा परी निधन भएको थियो ।
भण्डारीले राजनीतिक यात्रा सुरु गर्दा देश निरंकुश पञ्चायती शासनमा थियो । निरंकुश राजतन्त्रले जनताको मौलिक अधिकार कुण्ठित गरेको थियो र एक दशकअघि निर्वाचित सरकार विघटन गरेर संविधानले लागू गरेको अभिव्यक्ति तथा भेला हुने स्वतन्त्रतालाई प्रतिबन्धित गरेको थियो ।
निरंकुश शासनमा आम नेपाली जनतामाथि भएको अन्याय देखेर भण्डारीले सबै नागरिकका लागि स्वतन्त्रता र सामाजिक न्याय सुनिश्चित गर्ने समाजवादी राज्य स्थापनाको आकांक्षा बोकेर आफ्नो राजनीतिक यात्रा प्रारम्भ गर्र्नुभयो ।
विंसं। २०४७ मा देशमा प्रजातनत्रे पुनर्स्थापना भएपनि भण्डारीले स्वतन्त्र र निष्पक्ष समाजका लागि संघर्ष जारी नै राख्नुभयो । नेपाली परिवेशमा सुहाउँदो माक्र्सवादको अद्यावधिक र व्यावहारिक संस्करणले मात्रै जनतालाई पछौटेपन र शोषणबाट मुक्त गर्ने देखेर उहाँले त्यतिबेला जनताको बहुदलीय जनवादको (जबज) कार्यक्रम ल्याउनुभयो ।
भण्डारीले विश्वभर कम्युनिष्ट शासनको पतन देख्नुभएको थियो र उहाँ ती शासनमा भएको स्वतन्त्रता र मानवअधिकार हननको विरोधी हुनुहुन्थ्यो । तसर्थ, उहाँले जनताको बहुदलीय जनवादको निर्माण गर्नका लागि माक्र्सवादी समतावादको धारणामा स्वतन्त्रता र प्रजातन्त्रका प्रावधानहरू जवजमा थप्नुभयो।
‘कम्युनिष्ट पार्टीले शासन चलाएका कतिपय देशमा बहुलवाद र खुलापन रहेन र त्यसको परिणाम पनि राम्रो भएन । हामी बहुलवाद र खुला समाजको पक्षमा छौं ।’ जबज दस्तावेजको मुख्य सार यही हो । बहुमतको सरकार र अल्पमतको विपक्ष अर्को महत्त्वपूर्ण बुँदापनि जबजमा छ । त्यसैले शास्त्रीय माक्र्सवादीहरूलाई बहुदलीय संसदीय व्यवस्थाको चौघेरामा ल्याउन सक्ने कुशल कालिगढी मानिनुहुन्छ मदन भण्डारी । भण्डारीले सुरु गर्नुभएको जबज नेपालका लागि मात्र नभै आज विश्व कम्युनिष्ट आन्दोलनकै लागि आशाको पुञ्ज बनिरहेको छ ।
मदन भण्डारीलाई‘जननेता’ भनिन्थ्यो, मुख्यतया उहाँको स्वच्छ छवि र बलियो वाकशक्तिका कारण हजारौं अनुयायीहरूलाई चाँडै आकर्षित गर्यो। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना हुनुमा पनि भण्डारीको त्यही जवज नै मार्गदर्शक सिद्घान्तको रुपमा देखा पर्यो ।
एउटा भूमिगत कम्युनिष्ट आन्दोलनलाई खुल्ला र जनआधारमा आधारित लोकतान्त्रिक आन्दोलनमा परिणत गर्न उहाँको योगदान महत्वपूर्ण छ किनभने त्यस्ता प्रतिकूल परिस्थितिहरूमा पनि यसले नेपालको कम्युनिष्ट आन्दोलनलाई पुनर्जीवित गरेको थियो।
बहुलवाद, शक्ती पृथकीकरण, धर्मनिरपेक्षता, समयसापेक्ष निर्वाचन, प्रेस स्वतन्त्रता, मानवअधिकार, समाजवाद उन्मुख अर्थतन्त्र र राष्ट्रिय सार्वभौमसत्ता जस्ता जनताको बहुदलीय जनवादका आदर्शहरू आज नेपालको संविधान सभाबाट बनेको संविधान २०७२ का प्रमुख विशेषता हुन् । मदन भण्डारीको मृत्युको दुई दशकपछि जारी भएको संविधानले उहाँका ति सिद्धान्तलाई स्विकार गर्नुले नै उहाँको दुरदृष्टि र राजनीतिक परिपक्कताको पुष्टि गर्दछ ।
कुन्दन अर्याल र चुणामणि बेलबासे जस्ता धेरै राजनीतिक विश्लेषकहरूका लागि भण्डारी आफ्नो समयभन्दा धेरै अगाडि थिए। धर्मनिरपेक्षता र समाज कल्याण जस्ता उहाँले उठाएका मुद्दा उहाँको मृत्युको दशकपछि मात्रै नेपाली राजनीतिले अंगालेको छ ।
२०६२÷६३ को जनआन्दोलनको जग मूलतः स्वर्गीय नेता भण्डारीले नेपालको संविधान २०४७ मा गर्र्नुभएको आलोचना र उहाँले प्रतिपादन गर्नुभएको जवजमा आधारित थियो।
उहाँले प्रतिपादन गर्नुभएको जवज र उहाँले गर्नुभएको आलोचनाहरूले समानता, लोकतन्त्र र विधिको शासनमा आधारित बहुलवादी समाजको नेपाली जनताको आकांक्षालाई बोकेका छन्।
त्यसैले अब जनताको बहुदलीय लोकतन्त्रलाई सर्वमान्य सिदान्तका रुपमा सिंगो देशले आत्मसात गर्दै स्वर्गीय नेता भण्डारीले देखाएको बाटोमा हिँडेर समृद्ध र समतामूलक समाज निर्माण गर्ने बेला भएको छ ।
लेखक रेडियो नेपालका पत्रकार हुनुहुन्छ । – सम्पादक
प्रकाशित मिति : १४ असार २०७९, मंगलबार ९ : २६ बजे
प्रतिक्रिया