मनसुन क्रमशः क्षीण हुँदै

डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

नवनियुक्त मन्त्रीद्वारा पद तथा गोपनीयताको शपथ

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त चार मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । 

राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा नेकपा (एकीकृत समाजवादी)का तर्फबाट नवनियुक्त मन्त्रीहरूले शपथ लिनुभएको हो । 

नयाँ मन्त्रीहरूमा जीवनराम श्रेष्ठ–संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, मेटमणि चौधरी–सहरी विकास मन्त्रालय, भवानीप्रसाद खापुङ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र शेरबहादुर कुँवर– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय हुनुहुन्छ । 

राष्ट्रपति भण्डारीले मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा चार मन्त्री र एक राज्यमन्त्रीको नियुक्ति र कार्य विभाजन तोक्नुभएको थियो । 

मन्त्रीहरूको शपथपछि शीतल निवासमै राष्ट्रपति भण्डारीको उपस्थितिमा प्रधानमन्त्री देउवासमक्ष नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसीले पद तथा गोपनीयताको शपथ लिनुभयो । 

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, मन्त्री गण, संवैधानिक निकायका प्रमुख र पदाधिकारीलगायतको उपस्थिति रहेको थियो । 

 

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  १२ : १७ बजे