मनसुन क्रमशः क्षीण हुँदै

डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

‘आमसञ्चार, सामाजिक उत्तरदायित्व र जबजको दृष्टिकोण’ विषयक अन्तरक्रिया

काठमाडौँ । रेडियो श्वेत शार्दूलले  ‘आमसञ्चार, सामाजिक उत्तरदायित्व र जबजको दृष्टिकोण’ विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ । 

मदन भण्डारी मेमोरियल कलेज अनामनगरमा आज जननेता मदन भण्डारीको ७१औँ जन्म जयन्तीको सन्दर्भमा उक्त अन्तरक्रिया कार्यक्रम  गरेको हो । 

कार्यक्रमका प्रमुख प्रस्तोता एवम् त्रिभुवन विश्वविद्यालयका सह प्राध्यापक डा.कुन्दन अर्यालले  मानव सञ्चार, रुसको आमसञ्चार, आजको आमसञ्चार, स्वतन्त्र आमसञ्चार, आमसञ्चार र समाजलगायत विषयमा प्रकाश पार्नुभएको थियो ।

उहाँले वर्ग, आइडोलोजि र आमसञ्चार माध्यमबिचको अन्तरसम्बन्धलाई केलाउन मार्क्सवादी दृष्टिकोणबाट आमसञ्चारको सैद्धान्तिक अध्ययन गर्न जरुरी रहेको बताउनुभयो । 

उहाँले आमसञ्चार र समाजबिचको अन्तरसम्बन्धको विश्लेषणका निम्तिमा मार्क्सका विचार,  मिडियालाई विचार र अभिव्यक्तिको स्वतन्त्रता तथा सांस्कृतिक आयामको विस्तारलाई मार्क्सवादी अवधारणाले समेटेको बताउनुभयो ।   

नेकपा एमालेका स्थायी कमिटी सदस्य डा.बिन्दा पाण्डेले सामाजिक घटनाको मात्र समाचार बनाउन नहुने बताउनुभयो । उहाँले घटनासँगै कानुन र सामाजिक उत्तरदायित्व बहन हुने तरिकाले समाचार बनाउनुपर्नेमा जोड दिनुभयो । जबजले अभिव्यक्ति स्वतन्त्रता र आमसञ्चारलाई बोकेको उहाँको भनाई थियो । 

मदन भण्डारी मेमोरियल कलेजका पूर्व शिक्षक घमराज र्लुइँटेलले जबज र आमसञ्चार परिपूरक रहेको बताउनुहुँदै सामाजिक न्याय, सामाजिक उत्तरदायित्वप्रति पत्रकारहरूको भूमिका महत्त्वपूर्ण रहने बताउनुभयो । 

अन्तरक्रिया कार्यक्रमका संयोजक एवम् मदन भण्डारी फाउण्डेसनका केन्द्रीय सदस्य अमरध्वज लामाले रेडियो श्वेत शार्दूलले हरेक महिना आमसञ्चारका विभिन्न विषयमा प्राज्ञिक बहस आयोजना गर्ने बताउनुभयो ।

कार्यक्रममा सहभागी मुकेश जोशी, दया दूतराज, प्रिन्स मिश्रलगायत बिद्यार्थीहरुले प्रश्न राख्नुभएको थियो । उहाँहरूको प्रश्नको जवाफ सङ्घीय सांसद बिन्दा पाण्डेले र डा।कुन्दन अर्यालले दिनुभएको थियो । 

कार्यक्रममा मदन भण्डारी फाउन्डेसनका सचिवालय सदस्य डेगेन्द्र पाण्डे, घनश्याम कोइरालालगायतको सहभागिता रहेको थियो । 

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  १२ : ०७ बजे