जननेता मदन भण्डारीको ७१औँ जयन्तीको अवसरमा नेपालको वामपन्थी आन्दोलनमा उहाँको योगदानको वस्तुनिष्ठ समीक्षा र विश्लेषण आवश्यक भएको छ । जननेता मदन भण्डारीले नेपालको वामपन्थी आन्दोलनप्रति जनताको आकर्षण बढाउने र आन्दोलनको दीर्घकालीन हितमा लोकतान्त्रीकरण गर्न योगदान गरेर हामीलाई सामाजिक न्यायसहितको लोकतन्त्रको पक्षमा क्रियाशील भइरहने प्रेरणा दिनुभएको छ । आज नयाँ पुस्ताले त्यो प्रेरणा खोजेका छन् । समयले त्यो प्रेरणा दिने मदन भण्डारीको निरन्तरता खोजेको छ ।
अहिले बहुदलभित्र निर्दल खोज्नेहरू औपचारिक तथा अनौपचारिक रूपमा सङ्गठित भएर लोकतान्त्रिक गणतन्त्रको खिलाफमा राजनीतिक माहौल तयार गर्न क्रियाशील भइरहेका छन् । जनमनोविज्ञान भ्रमित पार्न खोजिँदै छ । राजनीतिक तथा सामाजिक विश्लेषकहरूले बहुदलभित्र निर्दलको अभ्यासलाई लोकतन्त्रको स्वाभाविक प्रक्रियाका रूपमा व्याख्या गरेर एकातिर राजनैतिक तथा संवैधानिक व्यवस्थाका विरोधीहरूको मनोबल बढाउँदै छन् भने अर्कातिर नयाँ पुस्ताको मनोविज्ञान भ्रमित पारेर दलीय व्यवस्थालाई कमजोर बनाउन खोजिरहेका छन्। त्यति मात्र होइन, नयाँ पुस्तालाई वामपन्थी आन्दोलनमा जोडिन नदिने रणनीति अपनाई रहेका छन् । जननेता मदन भण्डारीको जयन्तीको अवसरमा हामीले आमजनतालाई खास गरी नयाँ पुस्तालाई त्यस्ता भ्रमहरूबाट मुक्त गराउन जनताको बहुदलीय जनवादमार्फत उनीहरूलाई वामपन्थी आन्दोलनसँग जोड्ने राजनीति गर्नुपर्ने भएको छ । समयले हामीबाट त्यस्तो राजनीति गर्न सक्ने बौद्धिक, वैचारिक र व्यावहारिक राजनीतिक नेतृत्व खोजेको छ ।
चितवनको दासढुंगामा मदन–आश्रितको षड्यन्त्रपूर्ण हत्यापछिको लामो समय नेकपा एमालेमा जबज विरोधीहरू मुख्य नेतृत्वमा क्रियाशील हुँदा नेपालको वामपन्थी आन्दोलनप्रति पछिल्लो पुस्ताले प्रश्न उठाउने अवसर पायो । त्यस यताका पछिल्ला वर्षहरूमा पनि अपेक्षित रूपमा जबज पक्षले स्वाभाविक नेतृत्व गर्न पाएन । जसले गर्दा जनादेशबाट बनेको वामपन्थीहरूको बहुमतको सरकार परमादेशबाट विस्थापित गरेर दक्षिणपन्थीको नेतृत्वमा सरकार बनाउने काम भयो। त्यो कामको नेतृत्व जबज विरोधीहरूले गरेको कुरा राजनीतिक घटनाहरूले पुष्टि गरेको छ । नेकपा हुँदै नेकपा एमालेमा विभाजनको मुख्य लक्ष्य पनि नेपालको वामपन्थी आन्दोलन कमजोर बनाएर नेपालमा दक्षिणपन्थीहरूको राजनीति बलियो बनाउँदै बाह्य हस्तक्षेप गर्नलाई सहज वातावरण बनाउनु थियो। जसको नेतृत्व माधव, झलनाथ र प्रचण्ड अर्थात् माझण्डहरूले गरिरहेका छन् । वामपन्थी आन्दोलनप्रति माझण्डहरूको गद्दारीका कारणले एकातिर वामपन्थीप्रति जनविश्वास कमजोर बन्यो भने अर्कातिर अस्वाभाविक रूपमा व्यवस्था विरोधीहरू सक्रिय बन्ने सहज वातावरण तयार हुँदै छ ।
समकालीन वामपन्थी नेतृत्वमध्ये केपी ओली नै बढी राष्ट्रवादी भएको र जबजको पक्षमा उभिएका नेताका रूपमा देखिनुभएको छ । त्यसैले त माझण्डहरूले दक्षिणपन्थीहरूको रणनीतिअनुसार नेपालको राष्ट्रवादी तथा वामपन्थी आन्दोलन कमजोर बनाउन केपी ओलीलाई राज्य सत्ता र पार्टी सत्ताको नेतृत्वबाट हटाउने कामको अगुवाइ गरेका थिए । केपी ओलीलाई राज्य सत्ताबाट हटाउन माझण्डहरू सफल भए तापनि जबजबाट दीक्षित कार्यकर्ताहरूको अडान र जागरूकताले पार्टी सत्ताबाट पनि हटाउने उनीहरूको रणनीति सफल हुन सकेन । त्यसैले यतिखेर जननेता मदन भण्डारीको ७१ औँ जयन्तीको अवसरमा जबजबाट नेता तथा कार्यकर्ताहरूलाई प्रशिक्षित गर्दै नयाँ पुस्तालाई पनि जबजबाट प्रशिक्षित गरेर उनीहरूलाई वामपन्थी आन्दोलनसँग नजिकिने वातावरण बनाउनुपर्छ ।
जबजलाई बुझ्नुभन्दा पहिला हामीले जननेता मदन भण्डारीका केही महत्त्वपूर्ण भनाइहरूलाई बुझ्नुपर्ने हुन्छ ।
- सिद्धान्तका लागि जीवन होइन, जीवनका लागि सिद्धान्त हुनुपर्छ ।
- समाजको चासो र व्यवहारको विषय नबनाई समाजवाद आउन र कायम हुन सक्दैन ।
- बहुदलीय प्रणाली समाजको राजनीतिक जीवनको एउटा लोकप्रिय पद्धति तथा सरकार बनाउने बहुप्रचलित तरिका हो । यो पुँजीवादीहरूको मात्र निजी सम्पत्ति कुनै पनि हिसाबले होइन ।
- अनुशासनविनाको स्वतन्त्रता स्वेच्छाचारी हुन्छ र स्वतन्त्रताविनाको अनुशासन निरङ्कुशता हुन्छ ।
- क्रान्ति यथास्थितिको मात्रात्मक विकल्प होइन, त्यो गुणात्मक विकल्प हो ।
- पूर्वाग्रह र प्रतिशोध प्रजातान्त्रिक अथवा लोकतान्त्रिक गुण वा चरित्र होइन ।
माथिका भनाइहरूले हामीलाई वामपन्थी अतिवाद र दक्षिणपन्थी अवसरवादहरूबाट मुक्त हुँदै नेपालको वामपन्थी आन्दोलनलाई अझ प्रगतिशील र लोकतान्त्रिक बनाउन जबजको अनिवार्यता र आवश्यकता बुझाउन खोजेको छ । तर हामीले न जबजलाई ठिक ढङ्गले बुझ्न र व्यवहारमा लागू गर्न सक्यौँ न त पछिल्लो पुस्तालाई जबजको अन्तर्वस्तु बुझाएर वामपन्थी आन्दोलनमा जोडिन प्रेरित गर्न सक्यौँ । जसले गर्दा आज नयाँ पुस्तालाई भ्रमित बनाएर समाजको प्रगतिशील र लोकतान्त्रिक रूपान्तरणको विपक्षमा क्रियाशील भइरहेका समूह तथा पार्टीहरूले उपयोग गर्ने सम्भावना बढेको छ । त्यसैले वामपन्थी आन्दोलन बुझाउन र चिनाउन अनि यसमा पछिल्लो पुस्तालाई जोड्न प्रेरित गर्न हामीले कमजोरी र विगतका गल्तीप्रति आत्माआलोचित हुँदै समाजको चासो र जनअपेक्षालाई सम्बोधन गर्ने भरपर्दो आधार दिन सक्नुपर्छ । वामपन्थी दलहरू मुख्य त नेकपा एमाले त्यो विश्वासिलो आधारसहित जनतामा जानुपर्छ ।
२०७४ को निर्वाचनबाट प्राप्त जनादेश खण्डित के कसरी भयो ? खण्डित गर्न कसले के कस्तो भूमिका निभाए ? पार्टीको नेतृत्व परिवर्तन महाधिवेशनबाट त सरकारको नेतृत्व परिवर्तन संसदीय अभ्यासबाट नगरेर २०७७ वैशाखदेखि २०७८ असार सम्मको माझण्डहरूले खेलेका वामपन्थी विरोधी गतिविधिहरू र त्यो गतिविधिहरूलाई असफल बनाउन मुख्य नेतृत्वले खेलेको भूमिका र त्यसमा भएका कमजोरीहरू जनतालाई जनताले बुझ्ने भाषा भन्नुपर्छ, किन भने जबजले जनादेशबाट श्रेष्ठता हासिल गर्दै जनताको जीवन र देशको अवस्थामा गुणात्मक परिवर्तन ल्याउनुपर्छ भन्ने विश्वास गरेको छ । त्यो विश्वास विविध कारणले खण्डित गर्न खोजिँदै छ । त्यसैले मदन जयन्तीको अवसरलाई सदुपयोग गरेर पार्टीलाई वैचारिक, व्यावहारिक र राजनीतिक रूपमा नयाँ पुस्तासँग नजिक बनाउनुपर्छ ।
मदन जयन्तीको यस अवसरमा मुख्य नेतृत्वदेखि लिएर कार्यकर्ताहरू सबभन्दा पहिला जबजका बारेमा वैचारिक रूपमा सुस्पष्ट हुनुपर्छ । यसका लागि पार्टीको स्कुल विभाग केन्द्रदेखि पालिकाहरूको वडासम्म सक्रिय बन्नुपर्छ । नियमित प्रशिक्षण अनि योग्यता र क्षमताअनुसार नेता तथा कार्यकर्ताहरूलाई जिम्मेवारी दिनुपर्छ न कि गुटगत प्रभाव र दबाबमा । पछिल्लो पुस्तालाई आफ्नो विचारअनुसारको व्यवहारहरूबाट पार्टी प्रतिको आकर्षण बढाउनुपर्छ, अनि मात्रै हिजो जननेता मदन भण्डारीले गरेको त्याग र योगदानबाट आज देशले प्रत्यक्ष लाभ प्राप्त गर्न सक्छ । पछिल्लो समय राजनीतिमा बढ्दो डन र धनवादले जनताको बहुदलीय जनवादलाई छाँयामा पार्न खोजेको हो कि भन्ने जुन सन्देह पैदा भएको छ, त्यो सन्देह हटाउन केन्द्रदेखि स्थानीय तहसम्म पार्टी सुदृढीकरणको अभियान चलाउनुपर्छ ।
फेरि जबज विरोधीहरूले यसका बारेमा गरेका नकारात्मक टिप्पणी अनि हामीमा देखिएको वैचारिक विचलनले नेपालको वामपन्थी आन्दोलनमाथि प्रश्न उठाउन सजिलो भएको छ भन्ने तथ्यलाई स्वीकार गर्दै पार्टीले कार्यक्रमहरू बनाउँदा, नेता तथा कार्यकर्ताहरूलाई जिम्मेवारी दिँदा विधि पद्धतिअनुसार चल्ने बानीको विकास मुख्य नेतृत्वले गर्नुपर्छ । जनतामा देखिएको वितृष्णा र असन्तुष्टिका कारणहरू पहिल्याएर त्यस्ता वितृष्णा र असन्तुष्टिहरूसँगै जनअपेक्षाको सम्बोधन गर्ने नीति अख्तियार गर्नुपर्छ । अन्यथा हामीले वामपन्थी आन्दोलनमा जननेता भण्डारीको कुरा गरिरहने अनि वामपन्थी आन्दोलन हिजोभन्दा आज अझ विभाजित र कमजोर भइरहने वातावरण बन्न सक्छ ।
अन्तमा ‘वर्तमान युगको विकसित माक्र्सवाद औद्योगिक सर्वहाराहरूको मात्र होइन, किसानहरूको सामाजिक मुक्ति र राष्ट्रिय स्वाधीनताको मार्गदर्शक सिद्धान्त पनि हो’ भन्ने जननेता मदन भण्डारीको भनाइलाई आत्मसात् गर्दै एमालेले जबजलाई वैचारिक, राजनीतिक तथा व्यावहारिक रूपमा कार्यान्वयनमा लैजानुपर्छ । यसो गर्न सक्दा मात्र जननेताको स्मरण सार्थक हुन सक्दछ ।
प्रकाशित मिति : १३ असार २०७९, सोमबार ८ : ५३ बजे
प्रतिक्रिया