दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

प्रथम उपत्यका व्यापी पुरुष भलिबल प्रतियोगिताको उपाधि महेन्द्र रत्न क्याम्पसलाई 

​​​​​​​काठमाडौँ ।  राष्ट्रव्यापी खेलकुदअन्तर्गत प्रथम उपत्यका व्यापी पुरुष भलिबल प्रतियोगिताको उपाधि महेन्द्र रत्न क्याम्पसले जितेको छ ।

ताहचलस्थित घरेलु कोर्टमा भएको फाइनलमा खेलमा  रत्नराज्य क्याम्पसलाई २७–२५, २५–२३ र २५–२१ को सोझो सेटमा पराजित गर्दै महेन्द्र रत्न क्याम्पसले उपाधि जितेको हो ।

७१ औँ मदन जयन्तीका अवसरमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत केन्द्रीय भलिबल विभागद्वारा आयोजित प्रतियोगितामा त्रिचन्द्र क्याम्पसलाई २५–१९, २२–२५, २५–१९ र २५–२१ को सेटमा हराउँदै नेपाल कमर्स क्याम्पसले तेस्रो भयो । 

उपाधिसँगै महेन्द्र रत्नले १ लाख नगद पुरस्कार हात पारेको छ । उपविजेता हुने त्रिचन्द्रले ५० हजार र तेस्रो नेपाल कमर्स क्याम्पसले २५ हजार नगद पुरस्कार पाए ।

महेन्द्र रत्नका हेमन्त मल्ल प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भए । सर्भरमा रत्न राज्यका रोहित थापा मगर, स्पाइकरमा रत्न राज्यका प्रदीप गुरुङ, ब्लकरमा कमर्सका सफल विक, सेटरमा कमर्सका सुवास कुँवर तथा लिफ्टरमा रत्नराज्य लवसन क्षेत्री उत्कृष्ट चुनिए । उत्कृष्ट सबैलाई नगद पुरस्कार प्रदान गरिएको थियो ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्व सदस्य–सचिव रमेशकुमार सिलवाल, राखेपका बोर्ड तथा कार्यकारी समितिका सदस्य द्वय एकेन्द्र कुँवर र नन्दा बस्याल, राखेपकी सदस्य चन्द्र बदाना राई, आयोजक विभागकी प्रमुख निलम बज्राचार्यलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो ।

चार दिन सम्म सञ्चालन भएको उक्त प्रतियोगितामा ११ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । 

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  १२ : २५ बजे