तीन प्रदेशमा वर्षाको सम्भावना

ठेकेदारले पेस्की लिए,तर अस्पताल भवन निर्माण गरेनन्

डडेल्धुरा । डडेल्धुराका दुई स्थानीय तह आलिताल र अजयमेरु गाउँपालिकामा ठेक्का सम्झौता भएको एक वर्ष भइसक्दासमेत अस्पताल निर्माण कार्य द्रुत ढंगले अघि बढ्न सकेको छैन ।

अजयमेरुको भद्रपुर र आलितालको गोदाम बजारमा संघीय सरकारको बजेटबाट १० शय्याको अस्पताल भवन निर्माणका लागि राजेन्द्र निर्माण सेवासँग सम्झौता भएको थियो। राजेन्द्र निर्माण सेवा नेपाली कांग्रेस डडेल्धुराका सभापति तथा परशुराम नगरपालिकाका पूर्वमेयर भीमबहादुर साउदको निर्माण कम्पनी हो। 

अस्पतालको भवन निर्माणका लागि गाउँपालिकाले राजेन्द्र निर्माण सेवासँग दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरेको एक वर्ष पूरा भइसकेको भए पनि बल्ल ७ प्रतिशत काम सम्पन्न भएको अजयमेरु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगाराम सापकोटाले जानकारी दिनुभयो।

निर्माण कम्पनीले सात करोड ४४ लाख पाँच हजार तीन सय सन्तानव्ये रुपैयाँ १५ पैसा भ्याट र पिएसबाहेकको लागतमा अजयमेरुसँग निर्माणको सम्झौता गरेको छ। निर्माण कम्पनीले पहिलो मोविलाइजेसन पेस्कीसमेत भुक्तानी लिइसकेको छ।

पटक पटक निर्माण कम्पनीलाई कार्यप्रगति ढिलो गरेको भन्दै चाँडो काम सक्न पत्राचार गरिरहेका भए पनि अटेरी गरेको प्रशासकीय अधिकृत सापकोटाको भनाइ छ।

आलितालले राजेन्द्र निर्माण सेवासँग सात करोड ३९ लाख ९७ हजार ५ सय रुपैयाँमा सम्झौता गरेको छ। उक्त निर्माण कम्पनीले ३९.५ प्रतिशत घटिघटाउ रकममा ठेक्का परेको थियो। निर्माण कम्पनीका तर्फबाट जयबहादुर ऐरले पालिकासँग सम्झौता गर्नुभएको थियो । 

दुई वर्षमा काम सक्ने गरी ठेक्का सम्झौता भएको थियो। गत वर्ष असार २३ गते ठेक्का सम्झौता भएको कम्पनीले एक वर्ष पुग्नै लाग्दा पनि निर्माण कम्पनीबाट ५ प्रतिशत मात्रै काम भएको आलिताल गाउँपालिकाका इन्जिनियर आकाश जोशीले जानकारी दिनुभयो।

राजेन्द्र निर्माण सेवाका इन्जिनियर रोशन भट्टले ठेक्का परेको एक वर्ष भए पनि सरकारसँग कागजी प्रक्रियामा भएको ढिलासुस्तीका कारण निर्माणको काम ढिलो भएको दाबी गर्नुभयो। उहाँका अनुसार अहिले दुवै स्थानीय तहमा अस्पताल भवन निर्माणको काम चालू छ। तर, निर्माण कम्पनीले असार मसान्तमा भुक्तानी लिन देखावटी कार्य गरेको आरोप स्थानीयको छ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ११ : ५८ बजे