‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

नभेटेको मदन भण्डारी

कक्षा आठमा पढ्दै थिएँ । गृहकार्य सकाएर खाना खाएर सुत्ने तयारी गर्दै थियौँ, रेडियो नेपालमा बजेको समाचारले हाम्रो परिवारमा एक प्रकारको बिस्मातका आवाजहरू उठेका थिए । रेडिया नेपालमा नेकपा (एमाले) तत्कालीन का महासचिव र सङ्गठन विभाग प्रमुख जीवराज आश्रित चढेको जीप दासढुंगामा दुर्घटनामा परी नारायणी नदीमा बेपत्ता भएको समाचार बजेको थियो ।

मदन भण्डारीलाई आफैले प्रत्यक्ष भेट्ने अवसर त पाएको थिइन, तर घरमा दैनिक आउने दुई वटा साप्ताहिक पत्रिकाहरूले मदन भण्डारीलाई चिनाउने काम गरेको थियो । हामीकहाँ आउने साप्ताहिक पत्रिका एउटा एमाले समर्थक र अर्को काँग्रेस समर्थक हुने गर्थ्यो । एमाले समर्थक पत्रिकाले मदन भण्डारीलाई पूर्ण रूपमा मेरो मानसपटलमा राख्ने काम गरे पनि काँग्रेस समर्थक पत्रिकाले कहिल्यै पनि उक्त छविको विरुद्धमा समाचार प्रवाह गरेको मैले पढ्न पाएको थिइन । एक पटक कुनै एउटा पत्रिकाले भने मदन भण्डारीले चढ्ने गाडीको बारेमा नकारात्मक समाचार बनाएको सम्मmना छ, तर त्यसलाई मैले खासै बुझ्न सकेको थिइनँ । त्यस अर्थमा मेरो तत्कालीन बाल मानसिकताले बुझेको नेता मदन भण्डारी काँग्रेस र कम्युनिष्ट दुवैले मानेका नेता रहेछन् भन्ने थियो र अहिले पनि छ ।

मदन भण्डारीका चर्चा हामी बस्ने घरमा करिब १ दर्जन डेरावाल परिवार साँझ भेला हुँदा सधैँ एक पटक प्रसङ्ग आउने व्यक्तित्व हुनुहुन्थ्यो । अझ कालीमाटी क्षेत्रको राजनीतिक छलफल र भेटघाट केन्द्र जीवन दाइको होटलमा (जीवन मानन्धर, कालीमाटीका वामपन्थी नेता) हुने गर्मागर्मी राजनीतिक बहस र चर्चा सुनिरहँदा मदन भण्डारीको प्रसङ्ग प्रायः सुनिने नाम हो । स्कुलमा कालीमाटी बस्ने साथीहरूले भन्थे ‘मदन भण्डारी पनि त्यहाँ देखिन्छन् ।’ यही कुरा विश्वस्त भएर मैले धेरै पटक त्यहाँ भेटिनुहुन्छ भन्ने आशा गरेको थिएँ, तर भेट्न वा प्रत्यक्ष देख्न भने पाइनँ । साथीहरूको कुरामा कति सत्यता थियो थाहा छैन, किन भने स्कुले किशोर वयस्क बढाइचढाइ गफ गर्ने हुन्छ । 

चाबहिल भाषण अर्को नौलो र उद्वेलित पार्ने भाषणको रूपमा हामीले सुन्न पायौँ । किन भने हाम्रो गाउँमा रेडियो केही घरमा भए पनि क्यासेट प्लेयर निकै कम घरमा उपलब्ध थियो । मेरो विचारमा सिङ्गो गाउँमा २ वा ३ वटा थियो, त्यसमध्ये एउटा हाम्रो घरमा । त्यसैले, निर्वाचनताका घर जाने क्रममा बुवाले चाबहिल भाषणको ४ वटा क्यासेट किन्नुभएको थियो । सायद तीन वटा उहाँले स्थानीय युवा नेताहरूलाई दिनुभयो होला । घरमा भएको एउटा क्यासेट र क्यासेट प्लेयर बोकेर गाउँमा हुने स–साना भेलामा चाबहिल भाषण सुनाउने एउटा जिम्मेवारी मेरो थियो । जति पटक सुन्दा पनि दिक्क नलाग्ने हरेक भेलामा उक्त भाषण सुनाइरहँदा गाउँले गरिब, दलित, युवा, महिलाहरूको अनुहारमा देखिने चमक र उत्साह अचम्मको थियो । एउटा व्यक्तिको भाषणले सामाजिक संरचनामा थलिएको मानिसमा भरिएको ऊर्जा र उत्साहले मलाई चकित बनाउँथ्यो । यो मदन भण्डारीलाई एक पटक भेट्न पाए भन्ने लाग्थ्यो । सानो उमेरको भएका कारण गाउँ टोल बाहिरको र्‍याली र आमसभामा घरका वयस्कहरू सबै गए पनि हामी ‘केटाकेटी’लाई जान बन्देज थियो, संरक्षणको दृष्टिकोणले । 

निर्वाचनकै समयमा काठमाडौँबाट चितवन साझा यातायातमा जाँदै गर्दाको प्रसङ्ग छ । साझा यातायातमा सिट र मुडा समेत थपेर मानिसहरू यात्रामा थिए । त्यतिखेरको निर्वाचन अत्यन्तै उत्साहपूर्ण र पर्व थियो, जनताको विश्वास नयाँ व्यवस्था र नयाँ नेतृत्वमा अत्यन्तै धेरै थियो । हामी (म आमा, बहिनी र मामा) सँगै सोही बसमा यात्रारत थियौँ । सोही बसमा काँग्रेसको चितवनको वाग्ले थरका स्थानीय महिला नेता पनि हुनुहुँदो रहेछ । मलेखु पार गरेपछि उहाँले बसका यात्रुहरूलाई प्रभावित पार्न राजनीतिक प्रसङ्गहरू छलफल गर्न थाल्नुभयो । संयोग हो वा माहौल थियो, बसका अधिकांश यात्रुहरू वहाँको काँग्रेस समर्थन तर्कका विरुद्ध तर्क गर्न थाल्नुभयो, बाल उत्सुकता वा आँटका कारण होला, मैलै पनि उहाँसँगको बहसमा भाग लिएँ । आमाले त नबोल भन्दै हुनुहुन्थ्यो, तर उनले बहसकै क्रममा मदन भण्डारीको तुच्छ आलोचना गर्न पुगिन्, उनले भनिन्, ‘अस्तिसम्म दुलोमा लुकेको मुसोजस्तो नेताले देश हाँक्न सक्दैन ।’ (काँग्रेसहरू त्यतिखेर एमालेलाई लगाउने आरोप भनेको दुलोबाट निस्केर नेता भन्न पाइँदैन भन्थे) । मैले त प्रतिवाद गरिहालेँ, ‘भैँसीहरूभन्दा मुसाहरू धेरै चलाख र स्मार्ट हुन्छन्’ भनेर (यद्यपि, त्यो मेरो पनि छुद्र अभिव्यक्ति नै थियो), तिनले मलाई ‘सानो मान्छे भएर त्यसो भन्ने हो ?’ भनेर के भन्न भ्याएकी थिइन्, सिङ्गो बसका यात्रुहरू उनी विरुद्ध जाइलागे । मलाई अर्को अचम्म लाग्यो, मदन भण्डारी र उहाँको पार्टीको पक्षमा मानिसहरू कसरी विश्वस्त भएका छन् भनेर । 

निर्वाचनको परिणाम उत्साहजनक आयो, आफ्नो छिमेकी चिने जानेको आफूलाई माया गर्ने जे पी अङ्कल (जागृत प्रसाद भेटवाल)ले पनि भारी मतले चुनाव जित्नुभयो । मैले नभेटेको, तर चिनेको मदन भण्डारीले त झन् काँग्रेसका कृष्णप्रसाद भट्टराईलाई पनि हराएर चुनाव जित्नुभयो । मैले अपेक्षा गरेँ, अब काठमाडौँ फर्किने बेलामा पनि अस्तिको काँग्रेस नेता महिला हाम्रै गाडीमा चढ्नुभयो भने भन्नेछु ‘देख्नुभयो त अन्टी, मुसाहरू कति स्मार्ट हुँदा रहेछन् ? तर, हामी फर्किएको गाडीमा उहाँ भेटिनुभएन, त्यसपछि मैले उहाँलाई फेरि भेटेको छैन वा चिन्न सकेको छैन । 

मदन भण्डारीको हत्या रहस्यमय थियो । हाम्रो स्कुलमा किशोर भइसकेका हामीहरूमाm यो रहस्यको विश्लेषण गर्ने जेम्स बन्ड शैली व्याप्त थियो । केही साथीहरू खाजाको समयमा निकै दिनसम्म चर्चा गरिरहन्थ्यौँ, दास ढुङ्गामा बाटोमा भुस राखेको थियो, तेल खन्याइएको थियो, होइन मदन भण्डारीलाई बीच बाटोमा नै बेस्सरी पिटेर बेहोस बनाइएको थियो, होइन अगाडि चिया खाने ठाउँमा अमर लामाले चियामा बेहोसीको औषधि राखेर दिएको थियो, मदन भण्डारी फेरि पनि बिउँझेर भाग्न सक्छन् आदि भनेर सिट बेल्टले बाँधेको थियो (सिट बेल्न लाउनु अनिवार्य संस्कृति थिएन त्यसताका), अमेरिकनहरूले अमर लामालाई पैसा दिएर हत्या गर्न लगाएका रहेछन्, कुनै एक जना काँग्रेसका नेताका घरमा गाडी दुर्घटनाको खबर आएपछि खसी काटेर भोज गरिएको थियो । यी सबै चर्चा झन्डै एक महिनासम्म हामी बीच विश्लेषणात्मक रूपमा चलिरह्यो । यसको मूल कारण थियो, हामी सबै किशोरहरूमाझ मदन भण्डारीको व्यक्तित्व, योगदान, क्षमताका कारण बनेको छवि र प्रभाव । मलाई लाग्छ, हामीमध्ये धेरै अझैँ पनि एमाले समर्थक छौँ र भोट हाल्छौँ । सायद त्यही छविको प्रभावले अहिले पनि एमालेभित्र केही असन्तुष्टि हुँदाहुँदै पनि मदन भण्डारी र मनमोहन अधिकारीको पार्टी भनेर नै हामी अधिकांश निरन्तर छौँ । 

मदन भण्डारीको हत्यापछि उपनिर्वाचन भयो । उपनिर्वाचनमा विद्यादेवी भण्डारी उम्मेदवार हुनुभयो र जित्नुभयो । चाबहिल तिरको निर्वाचन भएकोले हामी कालीमाटीतिर बस्ने बालबालिकाहरू त्यति प्रभावित त भएनौँ, तर निर्वाचनमा लाग्ने प्रचारमा लाग्नेहरूले दिनकै निर्वाचनका समाचारहरू साँझmको भेटघाटमा चर्चा गर्थे । निर्वाचन जितिसकेपछि प्रकाश दाइ (जे पी भेटवालको छोरा प्रकाश भेटवाल) उहाँले हामीकहाँ चिया खाँदै गर्दा सुनाउनुभयो, विद्या भण्डारीलाई रातो अबिर छेप्न खोजेका थिए, हामीले जोगायौँ । उहाँको भनाइ विरोधीहरू अझ काँग्रेसीहरूले विद्या भण्डारीको पवित्रतालाई लाञ्छित गर्नका लागि रातो रङ्ग छेप्ने प्रयत्न गरेका थिए भन्नेतर्फ केन्द्रित थियो । यस प्रसङ्गबाट काठमाडौँका काँग्रेसहरूप्रति म जस्ता किशोरहरूमाझ थप घृणा उत्पन्न भयो । काँग्रेसहरू निर्लज्ज र असभ्य छन् भन्ने छाप बस्यो । 

मदन भण्डारीपछि एमालेको महासचिव माधव नेपाल बन्नुभयो । संयोगवश २०५२ मा एसएलसी पास भएकाहरूलाई वडा कार्यालयले प्रशंसा र अक्सफोर्ड डिक्सनरी वितरण गर्ने कार्यक्रम तत्कालीन १३ वडाका वडाध्यक्ष जीवन दाइले राख्नुभएको थियो (जीवन मानन्धर) । प्रमुख अतिथि एमालेका महासचिव माधव नेपाल हुने भन्ने थाहा थियो । युवा भएका कारण वडामा हुने गतिविधिहरू थाहा नहुने कुरै भएन । राजनीतिमा धेरै सक्रिय नभए पनि एमालेप्रति पारिवारिक रूपमै झुकाव भएको, मदन भण्डारीको पद सम्हाल्ने मान्छे नै प्रमुख अतिथि भन्ने थाहा पाएपछि, मदन भण्डारीलाई प्रत्यक्ष देख भेट गर्न नपाएको मनले त्यसै तहका मान्छेलाई त भेट्न पाएनछ भन्ने ठानेँ र आफ्नो नाम पनि वडामा टिपाएँ । सम्मान गर्ने दिन माधव नेपाल आउनुभयो, हामीले प्रशंसा पत्र र डिक्सनरी हात थाप्यौँ, वहाँको भाषण सुन्न बस्यौँ । तर मदन भण्डारीको त्यस्तो चोटिलो भाषण क्यासेटमा सुन्दा त गाउँले अनुहारमा चमक देखेको हामीलाई माधव नेपालको भाषण हाम्रो गाउँको मिठु पण्डितले सराद्धे गरेको जस्तै लाग्यो, आकर्षण त थिएन नै नयाँ कुरा पनि थिएन, जोसिलो पनि थिएन र मार्गदर्शक पनि थिएन । त्यसै दिन मैले बुझेँ मदन भण्डारीलाई गुमाएर एमालेले र देशले साँच्चै परिपूर्ति हुनै नसक्ने क्षति भोगेको रहेछ । 

एक पटक माधव नेपालबाट पनि मदन भण्डारीले जस्तै राजालाई चुनौती दिने भाषण सुनियो । हामी त्यो सुनेर हाँस्यौँ, यतिखेर म आफै पनि सानोतिनो अभियान चलाउन सक्ने नेतृत्व लिने अवस्थामा पुगिसकेको थिएँ । मदन भण्डारीले भनेका ‘महाराज आँखा नचम्काई बक्सियोस्, हात नलम्काई बक्सियोस्, श्रीपेचलाई सिंहासनमा राखेर चुनावमा प्रतिस्पर्धा गर्न आउनुहोस् भन्ने लल्कारमा ईमान्दारी थियो, सङ्घर्षले खारिएको अडान थियो, जनसमर्थनको बल थियो, विचार र दृष्टिकोणले उज्यालिएको सोच थियो, त्यो भाषण मात्र थिएन, दृष्टिकोण थियो, निष्कर्ष थियो । तर, करिब १६ वर्ष अघि माधव नेपालले राजालाई चुनाव लड्न आऊ भन्दा छलछाम, टालाटुली, जनता झुक्क्याउन खोजेको जस्तो वा आफ्नो विगतलाई चोख्याउन खोजेको जस्तो देखिन्थ्यो । त्यसैले हामी हाँस्यौँ ।  

आफूले नभेटेको मदन भण्डारीका भाषण, समाचार, अन्तर्वार्ता, रचना, व्यक्तित्व र चर्चाले आफैलाई मार्गदर्शन गरिरहेको अहिले पनि धेरै प्रसङ्गहरूमा पाउने गर्छु । नभेटेको मदन भण्डारीबाट पाएको प्रेरणा भनेको दृष्टिकोण स्पष्टता, सूचना र तथ्यहरूमा पर्याप्तता, जनपक्षीयता, प्रतिस्पर्धाका निम्ति तयार, सही अडानमा नडगमगाउने, गतिशील परिवर्तनको स्वीकार्यता नै हो । आजका युवालाई हामीले नदेखेको, नभेटेको मदन भण्डारी कसरी देखाउन, भेटाउन र प्रेरित गर्न सक्छौँ ? सोच्ने समय आएको छ ।    

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  १० : ३५ बजे