‘नेशनल डे कन्सर्ट’ सम्पन्न

मदन भण्डारीको मृत्युको पीडा आजसम्म पनि हाम्रो हृदयबाट हटाउन सकिरहेका छैनौँ : गोपाल शाक्य

काठमाडौँ । असार १४ गते देशभर विभिन्न कार्यक्रम गरेर मदन जयन्ती मनाइँदै छ । वि सं २००९ असार १४ गते ताप्लेजुङको ढुङ्गे साँधुमा जन्मनुभएका मदन भण्डारी जननेताका रूपले चिनिनुहुन्छ । विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेका बेला नेपाली कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरणका लागि जनताको बहुदलीय जनवाद जबज को सिद्धान्त प्रतिपादन गर्नुभएका उहाँ जनताको लोकप्रिय हुनुहुन्छ । 

जननेता भण्डारीले दार्शनिक सैद्धान्तिक राजनीतिक र साहित्यिक क्षेत्रमा सघन रूपमा विचार प्रवाह गर्नुभएको थियो । उहाँको यी नै विचार र अनुशासनका कारण नेपाली राजनीति र नेपाली समाजले उहाँलाई बिर्सन सकेको छैन । नेपाली समाज र नेपाली राजनीतिलाई उहाँले गर्नुभएको मार्ग निर्देशनका विषयमा आधारित रहेर २०३४ सालदेखि जननेता भण्डारीसँगै गणतन्त्र स्थापनाका लागि नख्खु जेलमा जीवन गुजारेर १४ वर्ष भूमिगत रहनुभएका तुल्सीलाल स्मृति प्रतिष्ठानका अध्यक्ष गोपाल शाक्य ज्युसँग चक्रपथकर्मी विशाल आचार्यले गर्नुभएको अन्तर्वार्ताको सम्पादित अंश ः 

मदन भण्डारीसँग लामो समय सँगै रहेर काम गर्नुभयो । तपाईँको नजरमा मदन भण्डारी कस्तो नेता हो ? 
​​​​​​​मदन भण्डारी मेरो सहयोद्धा कमरेड हुनुहुन्थ्यो । कम्युनिष्ट नेताहरू मध्ये एकदमै असल इमानदार, अनुशासित र अध्ययनशील नेता हुनुहुन्थ्यो । उहाँ विचारको संवाहक, विचार निर्माण गर्न सक्ने, तर्कशील र राम्रो संगठक पनि हुनुहुन्थ्यो । उहाँसँग तार्किक शक्ति पनि बडो दह्रो थियो । हामी विचार आदान प्रदान गर्थ्यौ ।  कामको अनुभव आदान प्रदान गर्थ्यो । उहाँ कोशी सगरमाथाको जिम्मेवारी लिएर काम गर्नुहुन्थ्यो । म लुम्बिनीको जिम्मेवारी लिएर काम गर्थे । हामी टाढा टाढा रहे पनि विचार आदान प्रदान गर्‍यो । त्यति बेला म पनि भूमिगत थिए । उहाँ पनि भूमिगत हुनुहुन्थ्यो । मदन कमरेड र मैले १४ वर्ष सँगसँगै भूमिगत जीवन बितायौँ । 

मदन भण्डारीको मार्गदर्शनमा नेपाली समाज नेपाली राजनीति कसरी हिँड्नुपर्छ ?
उहाँको मार्गदर्शनमा नै हाम्रो पार्टी अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीको नारालाई अघि सार्नुभएको हो । यो हाम्रो राष्ट्रको नारा हो । राष्ट्र निर्माणको नारा हो । हामी नेपाली जनताको साझा नारा हो । हामी समृद्ध हुनुपर्दछ । हामी सुखी हुनुपर्दछ । त्यसको निम्ति हामीले आन्दोलन सङ्घर्ष गरिरहेका छौँ । जति पनि काम गरेका छौँ जबजको उद्देश्यको काम गरिरहेका छौँ । हामी भन्छौँ जनवादी समाजवाद, बहुदलीय जनवाद यो सबै समृद्ध नेपाल, सुखी नेपालीका लागि हो ।

मदन भण्डारीको पनि अन्तर्विरोधी शत्रुहरू त पक्कै पनि थिए,उनीहरूलाई मदन भण्डारीले कसरी हल गर्नुहुन्थ्यो ?  
मदन भण्डारी तार्किक हुनुहुन्थ्यो । उहाँ अन्तर्विरोधी कस्तो खालको हो । आफूभन्दा कति कमजोर  छ। कति बलियो छ । त्यो जाँच गर्नुहुन्थ्यो । सत्यसँग मदन भण्डारी कहिल्यै पनि झुक्नुहुँदैनथ्यो । डट्नुहुन्थ्यो । तर आफ्नो शक्ति सन्तुलनलाई हेर्नुहुन्थ्यो । उहाँले मित्रतापूर्वक कुशलतापूर्वक अन्तर्विरोधीको हल गर्नुहुन्थ्यो । अन्तर्विरोधलाई बढ्न नदिएर बरु आत्मालोचना गरेर जानुहुन्थ्यो । 

मदन भण्डारीको अभाव वर्तमान राजनीतिमा कत्तिको खट्किएको छ ? 
उहाँको अभाव नेपाली समाजले कालान्तरसम्म पनि खट्किएको महसुस गर्ने छन् । हाम्रो पार्टीलाई पनि उहाँको अभाव खट्किरहेको छ । मदन भण्डारीको मृत्युको पीडा आजसम्म पनि हामीले हाम्रो हृदयबाट हटाउन सकिरहेका छैनौँ । तर दुख मानेर मात्र बसेर त भएन । हामीले उहाँले अघि सारेका विचारलाई लिएर हिँडिरहेका छौँ । उहाँको विचारलाई खाली नेकपा एमालेले मात्र अघि बढाइरहेको छैन नेपाली जनताले पनि अघि बढाइरहेका छन् । जसको नेतृत्व नेकपा एमालेले गरेको छ ।

मदन भण्डारीसँगको सहयात्रामा कुनै अविस्मरणीय क्षण रह्यो ?
बागबजारमा तत्कालीन मालेको कार्यालय थियो । त्यति बेला मदन भण्डारी पार्टीको महासचिव हुनुहुन्थ्यो । म केन्द्रीय कमिटीमा थिए । म वाग्मतीको इन्चार्ज थिए । एक दिन मलाई पार्टी कार्यालयमा मदन भण्डारीले बोलाएर भन्नुभयो कमरेड तपाईँ अब धौलागिरि जान पर्ने भो । मैले पनि ठिकै छ नि त पार्टीको निर्देशन मान्छु भनेर मैले भनी । उहाँले कहिल्यै पनि गला मिलाऊ भनेर भन्नुहुन्न थियो । त्यो दिन मलाई उहाँले अब बिदा हुन लागियो भनेर ल आज गलै मिलाऊ कमरेड भन्नुभयो । त्यो मलाई अझ सम्झना छ । त्यो हाम्रो अन्तिम भेट थियो । त्यसपछि हाम्रो भेट भएन ।

अन्त्यमा मदन भण्डारीका बारेमा केही भन्नु छ ?
मदन भण्डारीले अघि सार्नुभएको नेपालको कम्युनिष्ट आन्दोलन, देशभक्त आन्दोलन, लोकतान्त्रिक आन्दोलन, समाजवादी आन्दोलन हामीले पनि चलाइरहेका छौँ । यो निरन्तर चलिरहन्छ । त्यसलाई मार्गदर्शन: गर्ने जननेता मदन भण्डारीलाई नेपाली समाजले अभाव खट्किएको महसुस गरिरहन्छन् ।

 

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  ८ : ३७ बजे